बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एकलाख ७५ हजार सहयोग
काठमाडौँ, २१ कात्तिक । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका अवसरमा देउसी भैलो खेली सहयोग रकम जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिनुभयो । गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ र वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गाना, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष श्रीप्रसाद चापागाईंलगायत स्थानीय तहका जनप्रतिनिधिको पनि देउसी भैलोमा सहभागिता थियो ।
सडकमा छोडिएका १०० भन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन् । संरक्षणस्थलमा गाईको सङ्ख्या थपघट भइरहने गरेको छ । कोरोना महामारीका कारण विसं २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो । यहाँ २०७७ जेठ २ गतेदेखि गाईबाच्छा संरक्षण गर्न थालिएकोे अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो ।
देउसी, भैलौ, जन्मदिनलगायत दाताले दिने सहयोगबाट १०० भन्दा बढी गाईबाच्छाको संरक्षण हुँदै आएको छ । अभियानमा केही अभियानकर्मीले स्वयंसेवीका रुमपा सहयोग गर्र्दै आएको पनि जनाइएको छ ।
यो पनि पढ्नुहोस्..मिथिलामा छठपर्वको तयारी
धनुषा, २१ गते कात्तिक । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ । छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् । यो समय माटो तथा बाँसका सामग्री खरिद समेत गरिन्छ ।
अहिले छठपर्व मनाउनेहरू पोखरीको डिल र नदीतटको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेको छ । स्थानीय एफएम रेडियोले अहिले छठका गीत बजाउन सुरु गरेका छन् ।
जनकपुरको गङ्गा सागर, धनुष सागर, अग्निकुण्ड, अङ्गराजसर, दशरथ तलाउलगायतका पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गर्न थालिएको छ । युवा क्लब र संस्थाको अग्रसरतामा जनकपुरका विभिन्न पोखरी तथा सरोवरलाई सिङ्गार्न जुटेका छन् ।
छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामीण क्षेत्रमा अधिकांश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । विशेषगरी, भाकल गरेकाले यो पर्व मनाउँछन् । यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ । सोमबारदेखि सुरु भएको पर्वअन्तर्गत बुधबार साँझ अस्ताउँदो सूर्यलाई र बिहीबार उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।


