सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

काठमाडौँ, २३ कात्तिक ।सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ । बैंक सञ्चालक समितिको सोमबारको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

त्यस्तै प्राइम बैंकले आफना शेयरधनीलाई १६.६३ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशेयर उक्त परिमाणमा लाभांश दिने प्रस्ताव गरेको छ । बैंकका कम्पनी सचिव राजकुमार कार्कीका अनुसार प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतका दरले लाभांश शेयर उपलब्ध गराइने छ भने ०.६३ प्रतिशत भने कर प्रयोजनका लागि उपलब्ध गराइनेछ । प्रस्तावित लाभांश नेपाल राष्ट बैंकबाट स्वीकृत र बैंकको साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ । बैंकको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनी सचिव कार्कीको भनाइ छ ।

यो पनि पढ्नुहोस्..अलैँचीको भाउ पाएपछि किसान मक्ख
– रामबहादुर थापा,बागलुङ, २३ कात्तिक । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए ।अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाउनुभयो । त्यसपछि विमल पौडेलले रु तीन लाख । विमल पौडेल समूहको अध्यक्षसमेत हुनुहुन्छ । अलैँचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको हो ।

अघिल्लो वर्ष प्रतिकिलो अलैँचीलाई जम्मा रु ६०० मा बेचेका किसानले यो वर्ष रु एक हजार १५० सम्म मूल्य पाएका हुन् । झण्डै दोब्बरले भाउ बढेपछि अलैँची किसान मक्ख छन् । बजारमा अलैँचीको माग बढेका कारण मूल्य बढेको किसान बताउँछन् ।“गत वर्ष कम मूल्यमा अलैँची बेच्नुपर्दा किसान निराश हुनुपरेको थियो, अहिले भनेझैँ मूल्य पाएपछि किसान खुसी छन्”, समूहका अध्यक्ष पौडेलले भन्नुभयो । उहाँले गुणस्तरीय उत्पादन दिन सके अलैँचीको बजार राम्रो रहेको बताउनुभयो ।

समूहले २०० रोपनी जग्गामा विगत छ वर्षदेखि अलैँचीको व्यावसायिक खेती गर्दै आएको छ । अलैँची बेचेर वार्षिक आउने आम्दानीलाई किसानले आफ्नो उत्पादन अनुसार बाँडेर लिन्छन् । समूहमा नरहेका किसानबाट पनि अलैँची सङ्कलन गरेर बजारसम्म पु¥याउन समूहले सहजीकरण गर्दै आएको छ ।बरेङमै सबैभन्दा धेरै क्षेत्रफलमा अलैँची खेती गरेको उक्त समूहमा १९ जना किसान आबद्ध छन् । बसाइँसराइले गाउँका जग्गा बाँझो पल्टन थालेपछि गाउँले मिलेर अलैँची खेतीको योजना बनाएका थिए । समूहलाई अलैँची सुकाउने उपकरण खरिद, बगान विस्तारलगायतमा कृषि ज्ञान केन्द्र र गाउँपालिकाले अनुदान सहयोग दिएको छ ।

अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार आचार्यले यो वर्ष उत्पादनमा ह्रास आएकाले अलैँचीको बजार मूल्य बढेको बताउनुभयो । अलैँची निर्यात हुने प्रमुख देश भारतका व्यापारीले पनि बढी मूल्य तिरेरै भए पनि नेपालको अलैँची खरिद गर्न तयार भएको उहाँको भनाइ छ ।“खडेरी, सिँदुरे रोग आदि कारणले यो वर्ष देशभर अलैँचीको उत्पादनमा गिरावट आयो, जसले गर्दा बजार माग बढी छ, किसानले राम्रै मूल्य पाउनुभएको छ”, आचार्यले भन्नुभयो । उहाँले जैमिनी नगरपालिका–१० राङखानीको २० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको छ । त्यहाँ अलैँचीको नर्सरी पनि छ ।

राङखानीको आचार्य जैविक नमूना कृषि फार्मले गाउँभरिका किसानबाट अलैँची खरिद गरेर बजारीकरण गर्दै आएको छ । यो वर्ष ५० क्विन्टल अलैँची काठमाडौँ पु¥याएको फार्मका सञ्चालकसमेत रहनुभएका आचार्यले बताउनुभयो । काठमाडौँ हुँदै अलैँची भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढेको र निर्यात पनि सहज भएका कारण नेपाली अलैँचीले मूल्य पाएको बताउनुभयो । “भारतमा यो वर्ष अलैँची उत्पादन घटेको हुनाले पनि हाम्रो अलैँचीको माग बढेको हो”, उहाँले भन्नुभयो, “गत वर्ष किसानले अलैँची बेच्न व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था थियो, अहिले व्यापारीहरु किसान खोज्दै हिँडेका छन् ।”उहाँले अलैँचीका ठूला व्यापारीले एक वर्ष मूल्य बढाउने र अर्को वर्ष फेरि घटाउने प्रवृत्ति बजारमा देखा पर्ने गरेको उल्लेख गर्नुभयो । “राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

यो वर्ष माग र मूल्य बढेकाले अलैँची किसानलाई व्यावसायिकरूपमा फाइदा पुगेको प्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार जिल्लामा अहिले एक हजार २०० हेक्टरमा अलैँची खेती भइरहेको छ । पछिल्लो पाँच/छ वर्षयता अलैँची खेती विस्तार भइरहेको हो । राम्रो कमाइ हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित छन् ।सरकारी अनुदान सहायताले पनि किसानलाई अलैँची खेतीमा लाग्न प्रोत्साहित गरिरहेको छ । बर्सेनि साउन अन्तिमदेखि असोजसम्मै किसानलाई अलैँची टिप्ने चटारो पर्छ । अलैँची खेतीमा लाग्ने मेहनत र श्रमअनुसार सधैँ राम्रो मूल्य पाउने वातावरण बन्नुपर्ने किसानको माग छ । बजारको उचित व्यवस्थापनमा राज्य संयन्त्रले चासो नदिएको उनीहरुको गुनासो छ ।

रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैँची खेतीमा खर्च हुन्छ । बजारको अनिश्चिततासँगै लगानीअनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट किसान पलायन हुने स्थिति छ । केन्द्रका अनुसार यहाँ अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ पकेट र दुई ब्लक क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउँछन् । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ब्लक छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालित छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।