एभोकाडोको राजधानी धनकुटामा २ दिने महोत्सव हुने
नारायण कुमार राई/धनकुटा २३, कार्तिक । धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । आयोजक धनकुटा एभोकाडो कृषक समुहले मगलबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ ।

धनकुटा नगरपालिकाको सह–आयोजनामा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ५० वटा स्टलहरु रहने आयोजकले जानकारी दिएको छ ।
धनकुटा बजारको परिचय मोड स्थित एभोकाडो स्तम्भ भएको स्थनमा हुने उक्त महोत्सवको पहिलो दिन किसान तथा ब्यपारीहरुका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।
दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाहरु बीच एभोकाडोको प्रबद्र्धनका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक संस्था तथा समुहका अध्यक्ष खेमराज थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले यो बर्ष एभोकाडो प्रबद्र्धन कार्यक्रमका लागि १ करोड बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।
एभोकाडो प्रबद्र्धनको कार्यक्रम अब कृषकहरुले लिनुपर्ने बताउँदै उहाँले नगरपालिकाले खेती सम्बन्धी आउने समस्याका लागि बिज्ञहरुको छुट्टै परामर्श केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापाले महोत्सव सफलताको शुभकामना दिनुभएको थियो ।
उहाँहरुले एभोकाडो खेती धनकुटा नगरपालिकाले गरेको सबैभन्दा उपलब्धी मुलक कार्यक्रम भएको बताउनुभएको थियो ।
२०७५ सालमा कृषि अभियान्ता जीवनकुरमार राईको बिषेश पहलमा धनकुटा नगरपालिकाले नगरलाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।
प्रति के.जी.५० रुपैंयामा बिक्री हुंदै गरेको एभोकाडो राजधानी घोषणा पछि उक्त मूल्य बढेर ४५० सम्म पुगेको थियो । हाल धनकुटामा प्रति के.जी. रु १५० देखी २५० सम्म मूल्य रहेको एभोकाडो सकिने समयमा ४८० सम्म पुग्ने गरेको छ ।


