उपत्यकासहित देशभरको तापक्रम घट्दै
काठमाडौँ, २४ कात्तिक । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उहाँले भन्नुभयो । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।
हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
यो पनि पढ्नुहोस्..जिम्न्याष्टिक टोलीलाई प्रमाणपत्र
काठमाडौँ, २४ कात्तिक ।नेपाल जिम्न्याष्टिक सङ्घले पाँचौँ बङ्गबन्धु सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आज सहभागिताको प्रमाणपत्र प्रदान गरेको छ ।नेपाल जिम्न्याष्टिक सङ्घका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई आज यहाँ आयोजित एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गर्नुभयो । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन सङ्घले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताउनुभयो ।
अक्टोबर २६ देखि ३१ तारिखसम्म भएको उक्त प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिङ्की झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धरले प्रतिस्पर्धा गरेका थिए ।त्यस्तै जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपीन दोङले खेलेका थिए । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान बज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन् । नेपाल जिम्न्याष्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले पदक नै नजिते पनि खेलाडीको प्रदर्शन उत्साहजनक रहेको बताउनुभयो ।


