राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ

काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीलत निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो । तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनजणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताउनुभयो । उहाँका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो । तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरिने छ । यसरी आजबाट देशभर राष्ट्रिय जनगणना– २०७८ सुरु भएको छ ।

यो पनि पढ्नुहोस् . . केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणनालाई परिणामुखी र तथ्यमूलक बनाउन सबैको भूमिका आवश्यक रहेको बताएका छन्। विभागसँगको सहकार्यमा मिडिया एक्सन नेपालले जनगणनामा सञ्चारमाध्यमको भूमिकासम्बन्धी गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।केन्द्रीय तथ्यांक विभागले जनगणनाको कार्यक्रमअन्तर्गत कात्तिक २५ बाट गणना कार्य सुरु गर्दैछ। जनगणनाले हरेक क्षेत्रमा महत्व राख्ने भएकाले मिडिया एक्सन नेपालले सातवटै प्रदेशसहित काठमाडौंमा सचेतनामूलक कार्यशाला गत सोमबार सम्पन्न गरेको थियो।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक श्रेष्ठले १० वर्षपछि पहिलो पटक जनगणना हुन लागेको बताए। मुलुक संघियतामा गएपछि पहिलोपटक हुनलागेको जनगणनाको विशेष अर्थ हुने र संघीयतापछि संकलन गर्न लागिएको तथ्यांकले मुलुकको विकासमा महत्वपूर्ण भूमिका रहने समेत चर्चा गरेका थिए।श्रेष्ठले विवरण संकलनका लागि गणकहरू जाँदा सहरका वासिन्दा विशेष गरी शिक्षित र सम्भ्रान्तहरुले विवरण दिन आनाकानी गर्ने र अपुरो विवरण दिने जस्ता समस्याहरू रहेको बताए । ग्रामिण भेगमा भने ठिक उल्टो रहेको भन्दै दुर्गम गाउँहरूमा कर्मचारीलाई पुग्न मुश्किल भए पनि पुगेपछि विवरण संकलन गर्न भने सजिलो हुने उनले बताए ।

जनगणनाले देश विकासमा रणनीति निर्माण गर्न र राजनीतिक रुपमा महत्वपुर्ण हुने बताए । निर्वाचन क्षेत्र घोषणा, स्रोत परिचालन, समावेशिता सुनिश्चितता गराउनेलगायतमा गणनाले महत्वपूर्ण अर्थ राख्ने उनले चर्चा गरे । महानिर्देशक श्रेष्ठले जनगणनाको तथ्यांक गोप्य रहने र असहयोग गर्नेलाई तथ्यांक ऐनको व्यवस्थाअनुसार कारबाही हुने समेत जानकारी दिए ।सहरमा गोपनीयता भंग हुने डरले पेशागत, व्यवसायगत र बैंकिङ विवरण दिन नमान्ने जस्ता समस्य हुने गरेकोमा विभागले व्यक्तिगत गोपनीयताको पूर्ण प्रत्याभूति दिएको श्रेष्ठले बताए । व्यक्तिगत विवरण जनगणनाका लागी मात्रै प्रयोग गर्नुपर्ने र त्यसबाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न नमिल्ने कानूनी व्यवस्था रहेको उनले जानकारी गराएका थिए । त्यसैले सबै नागरिकलाई निर्धक्क भएर विवरण दिन उनले कार्यक्रममार्फत आग्रहसमेत गरेका थिए ।

यदि व्यक्तिगत विवरण कहि कतै दुरुपयोग भएमा दोषीलाई कानुन बमोजिक कारवाही हुने समेत उनले विश्वास दिलाएका थिए । यसमा सबैको साथ सहयोगको आवश्यक रहेको र सञ्चारमाध्यमले गणनालाई अनुगमनका रूपमा हेरिदिनु अनुरोध गरेका थिए ।विभागका निर्देशक ढुण्डीराज निरौलाका अनुसार जनगणनामा पहिलोपटक मातृ मृत्युदरलगायतका विषयलाई गणनामा समेटिएको बताए । विभागले सञ्चारमाध्यमबाट विषेश सहयोगको अपेक्षा राख्दै, गल्ती गर्दा औल्याउन आग्रह गर्दै उनले जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटाइएको बताउ ।

उनले भने, ‘बेरोजगार व्यक्तिहरुलाई लक्षित गर्दै विभागले जनगणनाका लागि ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिलालाई सहभागी गराएको छ ।’त्यस्तै, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणनाको कार्यलाई सार्थक बनाउन सञ्चारमाध्यम सन्तुलित ढंगले सुझाव दिने र आलोचनात्मक रूपमा प्रस्तुत हुनुपर्ने बताए । संस्थाद्वारा सात प्रदेश र उपत्यकामा गरी करिब २ सय पत्रकारलाई जनगणनामा सञ्चारमाध्यम संवेदनशीलताबारे कार्यशाला गोष्ठिमा सहभागी गराइएको समेत उनले जानकारी गराए।आयोजकसमेत रहेका अध्यक्ष पन्तले भने, ‘जनगणनाले देशको आर्थिक विकास तथा राजनीतिक योजना र भावी योजनाको विषयमा धारणा तय गर्ने भएकाले जनगणनामा सबैको सहभागिता अनिवार्य रहेको छ ।’

त्यसैगरी, कार्यक्रममा वरिष्ठ पत्रकार नम्रता शर्माले विवरण संकलन गर्दा लैंगिक तथा समावेशीकरणको संवेनशीलतालाई ध्यान दिनुपर्ने बताइन । साथै, विभिन्न सामाग्रीहरू लेख्दा संवेनशीलतालाई ख्याल गर्नु पर्नेमा उनले जोड दिइन् ।त्यस्तै, वरिष्ठ पत्रकार ध्रुबहरी अधिकारीले व्यक्तिगत गोपनीयताको संरक्षण र अर्कोतिर राष्ट्रिय जनगणनाका प्रचारप्रसार पनि गर्नुपर्ने भएकाले निकै संवेदनशील हुनुपर्ने बताए । व्यक्तिगत गोपनीयतालाई प्रत्याभूति दिदै विवरण संकलन र प्रचारप्रसारमा समेत लाग्नु पर्ने उनले बताए।कार्यक्रममा युएनएफपिएकी अफिसर इन्चार्ज डा.हसिना बेगमलगायत अन्य विज्ञहरुको सहभागिता रहेको थियो । केन्द्रीय तथ्यांक विभाग, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र युके एडले आयोजना गरेको कार्यक्रमको समन्वय मिडिया एक्सन नेपालले गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।