आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा

बनियानी, २५ कात्तिक। राष्ट्रिय जनगणना–२०७८ का लागि आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरकारी आवासबाट आज जगणनाको शुभारम्भ गरिएपछि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका हुन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख एवं जिल्ला जनगणना समन्वय समिति झापाका संयोजक श्रवणकुमार तिम्सिनाले यथार्थ विवरण सङ्कलनमा सबै पक्षले सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गणक र सुपरीवेक्षक परिचालन भएपछि अनुगमन पनि हुन्छ, यस पटकको जनगणना पृथक भएकाले त्यसबारे सबैले बुझ्नु र सहयोग गर्न आवश्यक छ ।”

जिल्लामा जनगणनाका लागि एक हजार ४५२ गणक र सुपरिवेक्षण परिचालन गरिएको छ । जनगणनाका लागि झापामा दुई कार्यालय (बिरीङ नदी पश्चिम दमक र बिरीङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ । जनगणना कार्यालय भद्रपुरका प्रमुख चुणामणि लुइँटेलले दमक कार्यालय अन्तर्गत ११४ सुपरीवेक्षक र ५०५ गणक गरी ६१९ जना परिचालन गरिएको जानकारी दिनुभयो । त्यस्तै, भद्रपुर कार्यालय अन्तर्गत १५१ सुपरीवेक्षक र ६८२ जना गणक परिचालित भएका छन् । अक्सर बसोबासको आधारमा जनणगना गरिने भएकाले केही समस्या आउन सक्ने बताउँदै उहाँले भन्नुभयो, “घर भाडामा बस्नेको संख्या छुट्ने चिन्ता छ ।” तर, गणकलाई राम्ररी तालीम दिएकाले त्यस्तो समस्या नहुने विश्वास लिइएको उहाँको भनाइ छ ।

यस वर्षको जनगणनामा मातृ मृत्यु अध्ययनसमेत गर्न लागिएको उहाँले बताउनुभयो । “परिवारमा १५ देखि ५९ वर्ष उमेर समूहका महिलाको मृत्यु भएको तथ्याङ्क लिइनेछ”, उहाँले भन्नुभयो, “परिवारको सहमतिमा मृत्युको कारण के हो ? भन्नेबारेमा स्वास्थ्यकर्मीसहितको टोलीले जानकारी लिनेछ ।”यस पटकको जनगणनामा ५५ वटा प्रश्न रहेको जनगणना कार्यालय दमकका प्रमुख प्रेमकुमार घिमिरेले बताउनुभयो । “व्यक्तिगत, पारिवारिक र समुदायिक प्रश्नावली रहेका छन्”, उहाँले भन्नुभयो, “तथ्याङ्क सङ्कलनमा यसले ठूलो क्षेत्र समेटेको छ ।”जनगणना सफल बनाउन झापामा प्रजिअदेखि वडाध्यक्षसम्मको सहभागिता हुनेगरी चारवटा समिति गठन गरिएको छ । यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।