महासचिव ईश्वर पोखरेल-दश बुँदे कार्यान्वयनमा समस्या छैन

चितवन, २५ कात्तिक ।नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बँुदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताउनुभयो । “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ”, उहाँले भन्नुभयो, “कहीकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।” महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताउनुभयो । वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “सल्लाह हुन बाँकी नै छ ।”

नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, सह–संयोजक सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, शङ्कर पोखरेल, योगेश भट्टराई र प्रदीप ज्ञावली आउनुभएको छ । यसैगरी विदेश विभाग प्रमुख राजन भट्टराई, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पनि आज चितवन आउनुभएको हो ।

उहाँहरुले महाधिवेशनको उद्घाटन सत्र हुने भनिएको नारायणी नदी किनारको स्थलगत रुपमा अवलोकन गरी आवश्यक जानकारी लिनुभएको छ। बन्द सत्र गर्न लागिएको सौराहाको बाघमारा चौरसहितका अन्य क्षेत्रको पनि आज अवलोकन गरी छलफल गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उद्घाटन सत्रमा देशैभरबाट नेता कार्यकर्ता ल्याउने पार्टीको योजना छ । बन्द सत्रमा दुई हजारको हाराहारी सदस्य रहनेछन् । नेकपा एमालेको आगामी मङ्सिर १० देखि १२ गते सम्म महाधिवेशन हुँदैछ ।

यो पनि पढ्नुहोस्..पर्यटकलाई आकर्षित गर्दै ‘छन्त्याल’ होमस्टे
गलेश्वर, २५ कात्तिक । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पुग्ने आन्तरिक पर्यटक यहाँ सञ्चालित छन्त्याल होमस्टेको खानपान र आतिथ्य सत्कारबाट प्रभावित हुने गरेका छन् । प्राकृतिक सुन्दरता, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा पुग्ने पर्यटकको खानेबस्ने सुविधाका लागि स्थानीयवासीले होमस्टे सुरु गरेपछि यहाँ पुग्नेलाई सजिलो भएको छ ।

अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको हो । गुर्जाका ६ वटा घरमा ५० जना क्षमताको होमस्टे सञ्चालन गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । पाहुनाका लागि छुट्टै कोठाको व्यवस्था गरेका गुर्जावासीले फूलमालाले स्वागत गर्नुका साथै छन्त्याल संस्कृति पस्कनेछन् । होमस्टेमा च्याउ, टुसा, स्थानीय कुखुरा, खसी, फाँपरको रोटी, ढिँडोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ । छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामीण जीवनशैली, जैविक विविधता, वन्यजन्तु तथा पृष्ठभूमिमा देखिने हिमालको सुन्दरता गुर्जा गाउँको आकर्षण हो । गुर्जाबाट देखिने गुर्जा, चुरेन, पुथा र गुर्जा पश्चिम हिमालको मनमोहक दृश्यले पर्यटकलाई थप लोभ्याउछ ।

लुलाङदेखि जङ्गल र भिरको बाटो आठ घण्टाको पैदलयात्रापछि पुगिने गुर्जादेखि ढोरपाटन शिकार आरक्षको रुघाचौर जोड्ने सिकारी पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको दश लाख अनुदानमा निर्माण गरिएको पदमार्गको प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षित गर्ने योजना छ । पैदल यात्रामात्र नभएर घोडचढी सुविधा पनि यहाँ उपलब्ध छन् । ढोरपाटन शिकार आरक्षको घुस्तुङ र वार्षे ब्लक यही गुर्जामा पर्दछ । गुर्जामा यार्सागुम्बा, निरमसी, पाँचआँैलेलगायत जडीबुटी पाइन्छन् । कस्तुरी, मृग, रतुवा, झारल, घोरललगायत वन्यजन्तु यहाँ अवलोकन गर्न पाइन्छ । पर्यटक आउन थालेपछि स्थानीयवासीले गाउँलाई सफा र सुन्दर बनाएको स्थानीयवासी प्रेम छन्त्यालले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेपछि उत्साहित बनाएको यशोदा होमस्टेकी सञ्चालिका भीममाया छन्त्यालले बताउनुभयो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट ११ घण्टाको पैदलयात्रापछि गुर्जा गाउँ पुग्न सकिन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।