नागढुङ्गा सुरुङमार्ग निर्माण २३ प्रतिशत सकियो

सञ्चिता घिमिरे,काठमाडौँ, ३० कात्तिक । नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२ मिटर सुरुङ खनिएको छ । जम्मा ४२ महिनामा सम्पन्न गर्ने गरी सुरु भएको आयोजना एकडेढ महिनादेखि सुस्तगतिमा अघि बढेको छ । दसैँ, तिहार छठलगायतका चाडपर्वका कारण निर्माणको कामले अहिले कम गति लिएको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । गत साता निर्माणस्थलमा नै एक जना कामदारको मृत्यु भएकाले पनि निर्माण एक साता अवरुद्ध थियो । अहिले चाडपर्व पनि सकिएको र कामदारसँग सहमति भएकाले निर्माणले गति लिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले पुनः पहिलेकै गतिमा काम गर्दैछ ।”

पहिले तोकिएको कार्ययोजनाभन्दा अहिले एक महिना ढिला भएको छ । गत वर्षमा कोभिडका कारण काममा बाधा पुगेकाले केही ढिलाइ भएको हो । निर्माण कम्पनीले तोकिएकै समयमा सकिने प्रतिबद्धता जनाएको प्रमुख शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “४२ महिनाबाट एक दुई महिना नै थप्नुपर्ने भए पनि अहिलेको काम हेर्दा त्योभन्दा बढी नलाग्ने देखिन्छ ।”निर्माण कम्पनीले अहिले मुख्य सुरुङ निर्माणसँगै ‘फ्लाई ओभर, ‘अण्डर पास’, पहुँच सडक, खानेपानीलगायतका संरचनाको निर्माण अघि बढाइरहेको छ । विगतका वर्षमा जग्गा प्राप्ति गर्न केही समस्या देखिएको भए पनि अहिले समाधानको चरणमा रहेको उहाँले बताउनुभयो ।

अरु संरचनामा ‘फ्लाई ओभर’को निर्माण सुरु भइसकेको छ । जग्गा प्राप्ति गरिसकेको ठाउँमा सुरु गरिएको र जग्गा प्राप्त गर्न बाँकी ठाउँमा प्राप्त भएपछि काम गरिने प्रमुख शाक्यले बताउनुभयो । सुरुङ खनिसकेर ‘ब्रेक थ्रु’ गर्ने र खनिसकेको ठाउँमा स्तरोन्नति सँगसँगै हुनेछ । अरु सबै निर्माण सकिएपछि मात्रै सिस्नेरी खोलामा सर्भिस सेन्टर निर्माण हुने आयोजनाले जनाएको छ ।उहाँले भन्नुभयो, “सुरुङभित्र सबै काम सँगसँगै अघि बढाइए पनि सुरुङभित्र सिसी क्यामरा, बत्ती हाल्नेलगायतका काम पछि हुन्छ ।” अहिले निर्माणस्थलमा चार टोली सुरुङ खन्नमा लागेको छ । बाहिर निर्माण गर्ने र भित्र निर्माण गर्ने सहायक कम्पनी छुट्टाछुट्टै भएको र तीनको एकअर्काको काममा कुनै सम्बन्ध नभएको प्रमुख शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“निर्माणस्थल हेर्नका लागि इञ्जिनीयर छुट्टाछुट्टै नै हुनुहुन्छ ।” आयोजनाले एउटा ‘अण्डर पास’ सकिएको र एउटा सुरु गर्न लागिएको जनाएको छ । धादिङमा ‘अण्डर पास’ सकियो भने काठमाडौँको ‘ओभर पास’ को निर्माण सम्पन्न भएको छ । अहिलेसम्म केही पुल निर्माण सकिएको छ । सिस्नेरी खोलालाई डाइभर्सन भइसकेको छ । स्थानीयवासीलाई पानीको अभाव नहोस् भनेर ट्याङ्की बनाइसकिएको र छिट्टै पाइपलाइन निर्माण गरिनेछ । निर्माण कम्पनीले अहिलेसम्म एक हजार ८१२ मिटर खनेको छ । काठमाडौँ जिल्लातर्फ मुख्य सुरुङमा २८३ मिटर र धादिङतर्फ मुख्य सुरुङतर्फ २८० मिटर गरी मुख्य सुरुङमा ५६३ मिटर खनिएको छ । निकासतर्फ काठमाडौँतर्फ ६६१ मिटर र धादिङतर्फ ४१८ मिटर गरी जम्मा एक हजार ७९ मिटर खनेको छ । धादिङतर्फको ‘बोर्किङ अडिट’ मा १२६ मिटर, क्रस प्यासेजमा ४३ मिटर खनिएको आयोजनाले जनाएको छ । प्राविधिक दृष्टिकोणबाट पाँच सय मिटरभन्दा बढी लम्बाइको सुरुङमार्गलाई आधुनिक मानिन्छ ।

यस्ता सुरुङमार्गमा हावाका लागि भेण्टिलेटर र प्रकाशको व्यवस्था मिलाइन्छ । नेपालमा पाँच सय मिटरभन्दा बढी लम्बाइको यो नै पहिलो सुरुङ मार्ग हो ।
जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्गको निर्माण अवधि ४२ महिना रहेको छ । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरुपमा हुने जाम हट्ने विभागले जनाएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् ।

एउटा गाडी बिग्रँदा पनि दुईवटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशको द्वार बन्नेछ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यही निर्माणका क्रममा प्रयोग हुनेछ । कमजोर ढुङ्गा माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायतका कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबँेशी नगरपालिकामा नै हस्तान्तरण हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।