ओलीको दक्षिणपन्थी गठबन्धनलाई धुलो चटाउँछौं – माधव नेपाल

ललितपुर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन् । अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको बताए ।

नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए । परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन् ।

नेकपा एमालेको १०औं महाधिवेशनको सन्दर्भमा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले कम्युनिस्ट आन्दोलनको लिकबाट बाहिरिएको बताउँदै ओलीले विभिन्न शक्तिहरूको डिजाइनमा कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको बताए । अध्यक्ष नेपालले भने, ‘चितवनमा ओलीको प्रशंसा कसकसले गरे त्यसैबाट ओलीको कस्तो गठबन्धन छ प्रस्टै भएको छ । राजतन्त्र पक्षधर र देशलाई विखण्डन गर्ने एवं संविधान च्यात्नेहरूले ओलीको प्रशंसा गरेकोले अहिलेको द्वन्द्व परिवर्तन पक्षधर र परिवर्तन विरोधी शक्तिबीचको भएको बताए ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले ओली र एमाले कम्युनिस्ट नभएको बताएका छन् । खतिवडाले उनीहरू आफैं सिद्धान्त विचार र निष्ठा सकिएकाले नाम र चुनाव चिन्ह मात्रै भजाएर जनता लोभ्याउँदै हिँडेको बताए । भाडाका मान्छेको ताँती लाएर ओलीको पूजा गरेर कम्युनिस्ट आन्दोलन नजोगिने बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइन्चार्ज अमृत तिमल्सिनाले कम्युनिस्ट पार्टी बुझेर एमालेमा लागेकाहरू भीडको पछि लागेर राजनीतिक आत्महत्या गर्नुभन्दा कम्युनिस्ट आन्दोलन जोगाउन एकीकृत समाजवादीमा आकर्षित भएको बताए । विगतमा एमालेको नेतृत्व गरेका सबै नेताहरू एमालेमै रहे पनि गलत विचार र व्यवहारका कारण एमालेमा नेता गए पनि कार्यकर्ता र जनता सही विचार छान्ने अवस्थामा रहेको बताए ।
दक्षिणपन्थी विसर्जनवाद र कम्युनिस्ट आन्दोलनको विचलनका विरुद्ध विद्रोह गर्दै एकीकृत समाजवादीमा रहेकाहरू भुसले छोपिएका हिरा भएको बताउँदै एकीकृत समाजवादीले कम्युनिस्ट आन्दोलनमा लागेको ग्रहण हटाएर समृद्धि र समाजवादको लक्ष्य हासिल गर्ने बताइन् ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य तथा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले एमालेले धम्की र प्रलोभन देखाएर जनप्रतिनिधिलाई अलमल्याएको बताउँदै निर्वाचनबाट कम्युनिस्ट र गैर कम्युनिस्टलाई जनताले छुट्याउने बताए । स्वच्छ र पारदर्शी भई देश विकास र जनताको सेवामा जुटेका जनप्रतिनिधिहरू एकीकृत समाजवादीमा रहेको र प्राविधिक हिसाबले एमालेमा खुलेकाहरू पनि समाजवादीमा आउने क्रम बढेको थापाले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।