चुलाचुलीले जित्यो बालाचतुर्दशी फुटबलको उपाधी
नारायण कुमार राई, धनकुटा । बालाचतुर्दशीको अवसरमा छथर जोरपाटी गाउँपालिकाको चुलाचुलीमा आयोजित पालिका स्तरीय फुटबल प्रतियोगिताको उपाधी आयोजक चुलाचुली यूवा कल्वले जितेको छ ।
आज भएको फाईनल खेलमा आयोजक चुलाचुलीले सिंधुवा बजारको सिंहदेवी कल्वलाई पेनाल्टी सुटआउटमा २ का बिरुद्ध ४ गोलले हराउँदै उपाधी जितेको हो । खेलको निर्धारित समयमा २–२ गोलको बराबरी टुंगिएपछि थप गरिएको ३ मिनेट समयमा पनि कुनै गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टी प्रहारका क्रममा सिंहदेवी कल्वका उमेश चौधरीले हानेको गोल चुलाचुलीका गोल रक्षक मनिष चौधरीले रोकेका थिए । त्यसपछि सिंदेवीकै अर्का खेलाडी हेमन्त तामाङ्गले बल आउट हानेपछि चुलाचुली बिजयी भएको थियो ।
खेलको जीत संगै चुलाचुलीले ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाण–पत्र पाएको छ । त्यस्तै उप–बिजेता सिंहदेवीले नगद २५ हजार संगै ट्रफी,मेडल र प्रमाण–पत्र पाएको छ ।
खेल अवधिका हाई स्कोलर चुलाचुलीका सरोज रिजाल,बेष्ट डिफेन्डरमा सिंहदेवीका दिवश भुजेल,बेष्ट किपरमा चुलाचुलीका मनिश चौधरी र उत्कृष्ट खेलाडीमा चुलाचुलीका समिर लिम्बू घोषणा भएका छन् ।
बिजयी टोली तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू,एमाले छथर जोरपाटी गाउँ कमिटीका अध्यक्ष ईन्द्र सारु मगर आयोजक कल्वका अध्यक्ष पदम श्रेष्ठ लगाएतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
छथर जोरपाटी गाउँपालिकाको आर्थिक सहयोगमा १४ गतेबाट सम्पन्न उक्त प्रतियोगितामा पालिकाका १० कल्वहरुको सहभागिता रहेको थियो । चुलाचुली बजारमा रहेको अहिमानेश्वर शिवालयमा हरेक बर्षको बालाचतुर्दशीमा दिवाङ्गत पितृहरुको सम्झनामा सतबीउ छर्ने गरिन्छ । सो अबसरमा उक्त स्थानमा मेला तथा फुटबल खेलको आयोजना गरिंदै आएको छ ।


