जोरपाटी महिला बिकास समुह भयो प्रथम
नारायण कुमार राई/धनकुटा,२३ मंसिर । छथर जोरपाटी गाउँपालिका धनकुटाले महिला समुहहरु बीच आयोजना गरेको बतृत्वकला प्रतियोगितामा वडा नं.२ को जोरपाटी महिला बिकास समुह प्रथम भएको छ । लैगिक हिं’सा सम्बन्धि १६ दिने अभियानको अबसरमा आयोजित प्रतियोगताका ९ समुहलाई पछि पारेर समुहकी टिका भट्टराईले जोरपाटीलाई प्रथम स्थान दिलाउनु भएको हो ।
‘घरैबाट शुरु गरौ,महिला हिं सा अन्त्य गरौं’ भन्ने बिषयमा ५ महिला तथा एकल महिला समुह र ४ स्वास्थ्य चौकी अन्तरगतका महिला स्वयंसेवीका समुह बीच प्रतियोगिता गराईएको थियो । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना गरिएको प्रतियोगितामा वडा नं.२ को एकल महिला समुहकी बिमला आलेले आफ्नो समुहलाई दोस्रो स्थान दिलाउनु भएको छ ।
त्यस्तै प्रतियोगितामा वडा नं.५ को प्रगतिशिल महिला समुहकी नर्वदा काफ्ले तेस्रो र वडा नं. ६ परेवादिन स्वास्थ्य चौकी अन्तर्गतको महिला स्वयंसेवक समुहकी रिता भट्टराई सान्तत्वना हुनुभएको छ । बिजयी प्रथम,द्घितिय,तृतीय र सान्तत्वनालाई क्रमशः नगद ५ हजार,४ हजार,३ हजार र २ हजारका दरले पुरस्कृत गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।
यहाँहरुलाई कार्यक्रम अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ,कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले पुरस्कार प्रदान गर्नुभएको थियो । उपस्थित महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले अभियानको शुभकामना दिनुभएको थियो ।
लिम्बूले छथर जोरपाटी गाउँपालिकामा महिला हिंसाको अन्त्य गरी समृद्ध समाजको निर्माण गर्न नेपाली धर्म तथा संस्कृतिमा भएका महिला हिंसाहरु हटाएर अघि बढ्न सबैलाई सुझाव दिनुभयो । कार्यक्रममा गाउँपालिकाका महिला समुहका सदस्यहरु,पालिकाका सदस्यहरु,वडा अध्यक्षहरु,महिला कर्मचारीहरु,सुरक्षा निकायका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।


