काल बनेर बगिरहेछ तुँखाको याखा गाउँ
नारायण कुमार राई,धनकुटा । चुरे पहाडको फेदीमा रहेको तुँखाको याखा गाउँ सुख्खा पहिले चिराचिरा परेर बिस्तारै बगिरहेको छ । पहिरोले जमिन चडेकंदा गाउँलेहरु निन्द्रामा नै झसङ्ग भएर उठ्ने गरेका छन् । गाउँमा अहिले १ फुट देखि १ मिटर सम्मका सयौ मिटर लामो जमिन फाटेका धर्सोहरु देखिन थालेका छन् । पहिरोले पुराना,बनाउँदै गरेका घरहरुका आँगन सिकुवाहरु चिराचिरा परेर फाट्न थालेका छन् ।

पोलमा टाँगिएका बिजुलीका तारहरु झुल्न थालेका छन् । बाटो,बारिका डिलहरु भासिएर त्यहाँ लगाएका सुन्तला,अलैचीबारीहरु तलतिर सर्न थालेका छन् । खेतीपातिका लागि जोत्दै गरेका खेतबारिहरु आधा काम गरेर मान्छेहरुले त्यसै छाडेका छन् । हिउँदको समयमा अचानक मुल फुटेर नजिकै बग्ने खोल्सामा सफा पानीको ठाउँमा लेदो सहितको सेतो धमिलो पानी बग्न थालेको छ । जसका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित वडा नं.५ मा रहेको तुँखा गाउँका ७० भन्दा बढी घरपरिवार त्रासमा बाँचिरहेका छन् ।
मोरङ्ग र धनकुटाको सिमानामा अबस्थित भेडेटार राजारीनी चुरे खण्डको डाँडाबजारबाट २ किमि दक्षिण पूर्वमा रहेको धनकुटाको यो गाउँ गएको असोज ६ गतेको बर्षा पछि सामान्य चर्किएको थियो ।२०७४ सालबाट हिउँदको समयमा अचानक ठाउँठाउँमा सेतो लेदो सहितको पानीको फुटेको देख्दै आएकाले असोजमा परेको मुसलधारे पानीले पनि केहि जमिनहरु चर्कंदा गाउँलेहरुले यसलाई सामान्य रुपमा लिए ।

तर ३÷४ दिन यता भने अचानक ठूलो आवाज सहित जताततै जमिन चिरा पर्न थालेपछि तुंखा गाउँमा त्रासको वाताबरण सिर्जना भएको तँुखा गाउँका गंगा प्रसाद याखाले जानकारी दिए ।‘राती अचानक कडक ठ्याकको आवाज आयो’–उनले भने ‘एकछिन त के भएको हो थाहा भएन तर पछि राम्ररी घुमेर हेरेको घरको आँगनमा चिरा परेको रहेछ । घर,आागन र खेतबारीहरु चिरापर्न थाले पछि गाउँलेहरु रातभरी राम्ररी सुत्न नसकिरहेको उनले जानकारी दिए ।
२०७४ सालबाट हिउँदका समयमा पटक–पटक गाउँमा हरेक बर्ष धमिलो सेतो पानीको मुहान निस्किएर सामान्य जमिन फाटे पनि यो पटक भने बस्ने अबस्था नभएको उक्त गाउँका अर्का पिंडित बिष्णु प्रसाद याखाले जानकारी दिए ।‘घर आँगन चिरा परेपछि कतिपय गाउँलेहरु आफन्त र घर भाडा लिएर बस्न थालेका छन्’–उनले भने । याखा जातिको बाहुलियता रहेको यस गाउँमा अहिले खेतीपति लाउन जीवनयापन गर्न गाउँलेहरुमा अन्यौलता छाएको उनले बताए ।
उक्त गाउँ बाहेक आफूहरुको अन्यत्र कतै जमिन नभएकाले पहिरोले बग्दै गरेको जमिन र घरमा बाध्यताले बस्न परेको तुंखा लाले टोलकी ५९ बषिया धनकुमारी याखाले गुनासो गरे ।‘दिउँसै कतिबेला बगाउने हो थाहा छैन’–उनले भनिन्,‘कति बस्नु राती जागो ? निन्द्रा लागेछि मर्न डरै हुन्न रैछ ।’

आफूहरु संग स्रोत साधनको कमि भएकाले गाउँमा जाखिम हुंदा पनि आफूहरुले स्थान्तरणका लागि केहि गर्न नसकेको वडा अध्यक्ष पलकबहादुर बस्नेत बताउँछन् । यहाँका मानिसहरुको बसाई सराई जाने ठाउँ नभएको र यहि बसेर गरिखान र बालिनाली लाउने अबस्था समेत नभएको उनले बताए । ‘समस्या समधान गर्नका लायि यो सूचना कन्द्रिय सरकार सम्म पु¥याईदिनु प¥यो’–उनले आग्रह गरे । पहिरोका कारण तँुखा गाउँका ७० घर भन्दा बढी घरको ५ सय भन्दा बढी खेती योग्य जमिन पहिरोको चपेटामा अध्यक्ष बस्नेतले जानकारी दिए । राज्ले तत्काल भु–गर्भबिद्हरु पठाएर यस ठाउँको परिक्षण गरेर आफूहरुको उद्धार गरिनुपर्ने गाउँलेहरुको माग छ ।


