भेडेटारमा भोलिबाट खाना महोत्सव हुंदै
विकास घिमिरे/धनकुटा, १५ पुष । अंग्रेजी नयाँ बर्षको अबसर पारेर धनकुटाको पर्यटकिय स्थल भेडेटारमा ९ औं परिकार महोत्सव शुक्रबारबाट सुरु हुने भएको छ ।
महोत्सव अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको र महोत्सव १६ गते बाट १८ गते सम्म तीन दिन आयोजना हुने आयोजक होटल एसोसियन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।
कोरोना महामारीका कारण थला परेको पर्यटन व्यावसायलाई लयमा फर्काउन र प्रदेश न १ कै पर्यटकीय स्थान भेडेटारलाई अझ प्रचार प्रसार गर्नका लागि महोत्सव आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।
महोत्सवमा स्थानिय खानाका परिकार, अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु उत्पादनका सामाग्री प्रदर्शनी संगै हेलि फनफाल्इट, जिप लाइन, प्याराग्याईडिङ्ग लगायतका खेलहरु समेत महोत्सवम रहने छन् ।
त्यस्तै भेडेटार आसपासका पर्यटकीय क्षेत्रहरुमा समेत घुम्न पाईने व्यावस्था गरिएको आयोजक समितीका सल्लाकार नरद चेम्जोङ्गले बताए । महोत्सवमा ३० हजार आगन्तुकको सहभागिता रहने तथा १ करोड रुपैयाँसम्मको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको आयोजक होटल एसोसिएसन भेडेटारले जनाएको छ ।
२०६९ सालबाट नियमित महोत्सव हुदै आएकोमा गत बर्ष कोरोना महामारीका कारण महोत्सव स्थगित गरिएको थियो भने यो बर्ष पनि स्वाथ्य सुरक्षाका मापदण्ड पालनालाई कडाई गर्दै महोत्सव गरिन लागेको आयोजक समितीका अध्यक्ष राईको भनाई छ ।


