धनकुटामा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर जारी
धनकुटा । धनकुटामा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर रुपमा सञ्चालन भईरहेको छ । जिल्ला प्रशासन कार्यलय धनकुटा, निर्वाचन कार्यलय धनकुटा र चौविसे गाउँपालिकाको राजारानीबाट मतदाता नामावली संकलन कार्य अहिले पनि सञ्चालन भईरहेको हो ।
यो क्रम निर्वाचन घोषणा नभएसम्म चलिरहने निर्वाचन कार्यलय धनकुटाले जनाएको छ । यसअघि मंशिर १७ गते देखी पौष ८ गते सम्म जिल्लाको विभिन्न पालिकाहरुमा दुई चरणमा सञ्चालित फोटो सहितको मतदाता नामावली संकलन विशेष अभियान अन्तर्गत ४ हजार ७ सय ४३ मतदाता थपिएका छन् ।
त्यसयता पनि मतदाता नामावली संकलन कार्य जारी रहेकोले अहिले जिल्लामा यति मतदाता छन भनेर भन्न नसकिने कार्यलयले उल्लेख गरेको छ । जिल्ला निर्वाचन कार्यलय धनकुटाको यसअघिको तथ्यांक हेर्ने हो भने जिल्लामा १ लाख १४ हजार ३ सय ८७ मतदाता रहेका थिए ।
निर्वाचन आयोगले खारेज गर्यो मिलन पाण्डेको उजुरी
काठमाडौं, १९ पुस/विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णय पुनरावलोकन गर्न मागसहित तत्कालीन संयोजक मिलन पाण्डेले दिएको उजुरी आयोगले खारेज गरिदिएको छ।
विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले पुनरावलोकनको लागि उजुरी दिएकोमा आयोगको १२ पुसमा बसेको बैठकले पाण्डेको विपक्षमा निर्णय गरेको हो।
पाण्डेले विधान संशोधन गर्ने पार्टीको निर्णय अवैधानिक रहेको र पार्टी नेतृत्वले बैठकको उपस्थितिमा कीर्ते गरेको जस्ता तथ्यहीन र अनर्गल आरोपसहित आयोगमा पुनरावलोकनको निवेदन दिएका थिए ।
आयोगले आफ्नो सो निर्णय नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र विवेकशील साझा पार्टीको साविकको विधान २०७४ को पहिलो संशोधन बमोजिम नै रहेको ठहर गरी पाण्डेको निवेदनमा थप कारबाही आवश्यक नरहेको भन्दै खारेज गरिदिएको हो।


