छथर जोरपाटीको हिउँदे गाउँसभा शुरु,४४ करोड बराबरको आगामी बजेट प्रक्षेपण
नारायण कुमार राई/धनकुटा,२८ पुस । छथर जोरपाटी धनकुटाको दशौं गाउँसभा(हिउँदे गाउँसभा) शुरु भएको छ । सभाले पालिकाको आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि ४४ करोड ४० लाख बराबरको अनुमानित आय÷ब्यय बजेट प्रक्षेपण गरेको छ ।
पालिकाका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त सभामा ४ वटा बिद्येयकहरु दफाबार छलफलका लागि पेश गरिएको छ ।
सभामा रुख कटान,बिभिन्न फर्म तथा संस्था दर्ता दस्तुर,बिभिन्न सिफारिस दस्तुर संशोधन गर्न आर्थिक ऐन सम्बन्धि संशोधन बिद्येयक २०७८ छलफलका लागि पेश गरिएको छ । सभामा आर्थिक बिकास समितिका संयोजक तथा वडा नं.६ का वडा अध्यक्ष दिलबहादुर थापाले बिद्येयक पेश गर्नुभएको थियो ।
त्यस्तै पालिका उपाध्यक्ष तथा राजश्व परामर्श समितिका संयोजक भिमकला क्षेष्ठले नवौ गाउँसभाबाट पारित योजनाहरु संशोधन गरेर नयाँ कार्यक्रममा रकम खर्च गर्न बिनियोजन ऐन संशोधन बिद्येयक २०७८ सभामा पेश गर्नुभएको थियो ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा भएका नीति तथा कार्यक्रम थप गर्नका लागि स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन २०७५ लाई संशोधन गर्न वडा नं.२ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोज कृष्णकुमार मगरले स्थानिय स्वास्थ्य संशोधन बिद्येयक २०७८ सभामा पेश गर्नुभएको थियो ।
त्यस्तै पालिका सबै वडाका बाटाहरुको वर्गिकरण गरी मापदण्ड निर्धारण गर्न वडा नं.३ का वडा अध्य्रक्ष तथा पूर्वाधार बिकास समितिका संयोजक ज्ञानबहादुर लिम्बूले पूर्वाधार बिकास सम्बन्धि संशोधन बिद्येयक २०७८ सभामा पेश गर्नुभएको थियो ।
दशौं सभाको अर्को बैठक भोली १२ बजे सम्मको लागि स्थगित गरिएको छ । र १२ बजे पछि बस्ने सभाको बैठकले प्रस्ताबित बिद्येयक माथि दफावार छलफलपछि पास गर्ने कार्यक्रम रहेको छ ।
३० गते सम्म चल्ने उक्त गाउँसभाले बेरुजु पच्यौट सम्बन्धि छलफल,गाउँ कार्यपालिकाले हाल सम्म गरेका निर्णय र वडा समितिहरुले गरेका निर्णयहरु अनुमोदन गर्ने कार्यक्रमहरु पारित गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगर,कर्मचारीहरु,गाउँपालिका सदस्यहरु,वडा अध्यक्षहरु लगाएतको उपस्थिति रहेको प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी नेत्रबहादुर क्षेष्ठले जानकारी दिनुभयो ।


