सार्वजनिक स्थानमा प्रवेश गर्दा खोप कार्ड देखाउन अनिवार्य
धनकुटा । कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि सरकारले सार्वजनिक स्थान प्रवेश गर्दा खोप कार्ड देखाउन अनिवार्य गरेको छ । सोही अनुसार धनकुटामा पनि कार्यलय, होटल,रेष्टुरेण्ट,सिनेमा हल, रंगशाला, पार्क लगायतका स्थानमा प्रवेश गर्दा कोरोना भाईरस विरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउन जिल्ला प्रशासन कार्यलयले सुचना मार्फत आग्रह गरेको छ ।
यो नियम जिल्लामा भोलिदेखी लागु हुने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ । प्रसाशकीय अधिकृत हरिगोपाल कर्माचर्यद्धारा हस्ताक्षरि सूचनामा उल्लेखित स्थानमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य बोकेर जान वा खोप कार्डको फोटो देखाउन भनिएको छ ।

भोलिदेखि मौसममा सुधार हुने
काठमाडौँ, ६ माघ (रासस) ःपश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताउनुभयो । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रबारबाट मौसममा सुधार हुनेछ”, उहाँले भन्नुभयो ।
भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबै भन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।


