बहु साँस्कृतिक संग्रहालय निर्माणका लागि बजेट अभावमा काम रोकियो
धनकुटा,२२ माघ । पूर्वकै पर्यटकीय क्षेत्रका रुपमा रहेको धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माण थालिएको तीन बर्ष हुदाँ समेत बजेट अभाव भए पछि निर्माणाधिन बहुसाँस्कृतिक संग्रहालय निर्माणको काम रोकिएको छ ।
संग्रहालय निर्माणका लागि प्रदेश–१ सरकारले ७० तथा गाउँपालिकाले ३० प्रतिशत रकम ब्यहोर्ने संझौता भएको थियो । तर प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई बर्ष यता संग्रहालयका लागि बजेट उपलब्ध गराएको छैन् ।
२९ स्थानीय जातजातिको संस्कार संस्कृति, बाजागाजा र पोशक संरक्षण–प्रवद्र्धनका गर्न यो संग्रहालय बनाउन सुरु गरिएको थियो । तर अहिले केहि संरचना बने पनि अधिकांश संरचनाका लथालिङ्ग अवस्थामा रहेका छन् । यदी यो संग्रहालय निर्माणका सम्पन्न भए भेडेटार आउने पर्यटकका लागि अर्का गन्तव्य थपिने स्थानिय बताउँछन् । त्यसैले सम्बन्धित निकायले यो बहुसाँस्कृतिक संग्रहालय निर्माणको चाँडो भन्दा सम्पन्न गर्नु पर्ने स्थानियको माग रहेको छ ।
हिमपातले मनाङको खोप अभियान प्रभावित
मनाङ, २२ माघ (रासस) ःपश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातले प्रभाव पारेको हो । घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि खोप अभियान स्थगित गरिएको उहाँले बताउनुभयो । “मौसम अनुकूल भएपछि खोप अभियान सुचारु गर्नेछौँ,” आचार्यले भन्नुभयो ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । हिमपातका कारण घरबाट बाहिर निस्कने अवस्था नहुँदा यस जिल्लाको जनजीवन पनि कष्टकर भएको छ । यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको आचार्यले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भारी मात्रामा हिमपात भएकाले जिल्लावासी तथा पर्यटकलाई घरबाट बाहिर ननिसक्न आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन सङ्क्रमणको जोखिमका कारण जिल्लामा पर्यटक न्यून भए पनि सचेत रहन आग्रह गरिएको छ ।
हिमपातका कारण अन्नपूर्ण पदमार्गमार्फत मनाङ भित्रिने पर्यटकलाई सचेत हुन आग्रह गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । पर्यटकहरुलाई जहाँ पुग्नुभएको छ त्यहीँ सुरक्षित तवरबाट बस्न अनुरोध गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पर्यटकहरु हिउँमा बाहिर निस्ँिकदा चिसोका कारण बिरामी पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो ।
उता हिमपातका कारण यहाँका किसान भने खुसी भएका छन् । यहाँको स्थानीय उत्पादन बढ्ने भएकाले किसान खुसी भएका हुन् । मनाङको प्रवेशद्वारा ताल गाउँसम्म भारी हिमपात भएको र यहाँ धेरै चिसो बढेको बताइएको छ ।


