चौबिसेमा ४९ घरको फुस्को छानो हटाईयो
नारायण कुमार राई/धनकुटा, २ चैत । धनकुटाको चौबिसे गाउँपालिकाले विपन्न ४९ घरपरिवारलाई जस्तापाता वितरण गरेको छ ।

फुसको छाना मुक्त चौबिसे गाउँपालिका बनाउने अभियान अन्तरगत चौबिसे गाउँपालिका वडा नं. ६ राजारानीका ४९ घरपरिवारलाई जस्तापाता वितरण गरेको हो । फुसको छाना मुक्त चौबिसे गाउँपालिका अभियानलाई मुर्तरुप दिनको लागि गाउँपालिकाले जस्तापाता वितरण कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाले यो वर्षभित्र चौबिसे गाउँपालिकालाई पूर्णरुपमा फुसको छाना मुक्त बनाउने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिका र संघीय कार्यक्रम अन्तरगत गाउँपालिकाको सबै वडाहरुमा जस्तापाता वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चौबिसे गाउँपालिका र संघीय कार्यक्रम अन्तरगत हालसम्म करिब ६ सय ५० घरपरिवारलाई जस्तापाता वितरण गरी सकिएको छ । जसमध्ये ३ सय २० घरपरिवारलाई गाउँपालिकाको एकल बजेट मार्फत जस्तापाता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताए ।
जस्तापाता वितरण अभियान करिब अन्तिम चरणमा पुगेको छ । यो वर्षको अन्त्यसम्ममा सबै विपन्न घरपरिवारलाई जस्तापाता वितरण गरी सक्ने लक्ष्य राखिएको पनि गाउँपालिकाले जनाएको छ । चौबिसे गाउँपालिकामा ८ वटा वडाहरु रहेका छन् ।


