फुर्तुङ्ग डाँडा बदमटार सडक कालोपत्रे
नारायण कुमार राई,धनकुटा । छथर जोरपाटीको चुलाचुली र काजीमाने बजारलाई लक्षित गरेर डेढ किलोमिटर सडक कालोपत्रे गर्ने काम शुरु गरिएको छ ।
यो संगै वडा नं.२ स्थित जोरपाटी बजारबाट उक्त क्षेत्रमा जाने कालोपत्रे बाटोको लम्बाई २ किमि ७ सय मिटर पुगेको छ ।
गएको आर्थिक बर्ष ०७६÷०७७ मा जोरपाटी बजारबाट फुर्तुङ्ग डाँडा सम्म गाउँपालिका र राष्ट्रिय योजना आयोगको साझेदारीमा १ कि.मि. २ सय मिटर बाटो कालोपत्रे भएको थियो ।
हाल निर्माणाधिन डेढ कि.मि.सडक टेन्डर मार्फत् पबित्रा पुजा आनन्द जेभी धनकुटाले यसै असार मसान्त सम्म सम्पन्न गर्नेगरी काम शुरु गरेको छ ।
फुर्तुङ्ग डाँडाबाट बदमटार सम्म हुन लागेको उक्त सडक गाउँपालिका र राष्ट्रिय योजना आयोगको २ करोड ७८ लाखको साझेदारीमा निर्माण हुन लागेको पालिका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिनुभयो ।
उक्त बजेटमा ई–टेन्डर मार्फत् मूल्य अभिबृद्धि कर (भ्याट) सहित १ करोड ८० लाखेको स्वीकृत योजना अनुसार काम सम्पन्न हुन लागेको निर्माण कम्पनीले जानकारी दिएको छ ।
यस सडक निर्माणले पालिकाको वडा नं.३,४ र ५ नं.वडाका नागरीकहरुलाई जोरपाटी बजार र यहाँ स्थित गाउँपालिकाको प्रशासनीक केन्द्र सम्म आवतजावत गर्न सहयोग पुग्नेछ ।


