प्रधानाध्यापकहरुलाई समावेशी शिक्षाका लागि प्रशिक्षण
नारायण कुमार राई/धनकुटा, २८ चैत्र । समावेशी शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि छथर जोरपाटी गाउँपालिका धनकुटाले बिद्यालयका शिक्षक तथा सहयोगी कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।
महिला तथा बालबालिका शाखाको समन्वयमा २ दिन सम्म सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा पाउँपालिकाका २८ सामुदायिक र ३ संस्थागत बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।
अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा समुदायमा रहेका अपांगता भएका बालबालिकाहरुलाई कसरी बिधालय सम्म सहज रुपमा ल्याउन सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षणमा तालिमबाट सिकेका सिकाईलाई शिक्षकहरूले सवै बिद्यालयमा अध्ययनरत सवै खाले बालवालिकालाई शिक्षण गराउन सके फलदायी हुने प्रशासन शाखा प्रमुख नेत्र श्रेष्ठले सुझाव दिनुभएको थियो ।
सहभागिहरुलाई शिक्षा शाखाकी प्रमुख निर्मला सुबेदी र भारती मा.बि.वडा नं. १ हात्तिखर्कका प्रधानाध्यापक रुद्र बिश्वकर्माले प्रशिक्षण तथा सहजिकरण गर्नुभएको थियो ।
हाल ३४० अपांगता रहेको पालिकामा अनुमानित ५० देखि ६० जना बिद्यालय जाने उमेरका अपांगता भएका बालबालिकाहरु रहेको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।


