पत्रकार महासंघ धनकुटा शाखाद्वारा स्थानिय तह निर्वाचन आचार संहिता बिषयक छलफल सम्पन्न
धनकुटा,२० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघ धनकुटा शाखाले स्थानिय तह निर्वाचन आचार संहिता बिषयक छलफल सम्पन्न गरेको छ ।
यही बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा पत्रकार र मिडिया हाउसहरुले पालना गर्नु पर्ने आचार संहिताको बारेमा छलफल भएको थियो । छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले निर्वाचनमा पत्रकार र मिडिया हाउसहरुले पालना गर्नु पर्ने आचार संहिताको बारेमा प्रकाश पार्नु भएको थियो ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटा शाखाका संस्थापक अध्यक्ष संजय सन्तोषी राई, पूर्व अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे, सल्लाहकार रमेशचन्द्र अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश १ उपाध्यक्ष हिमा कुमारी चेम्जोग, नेपाल पत्रकार महासंघ धनकुटा शाखा उपाध्यक्ष देवकला कार्की, नेपाल प्रेस यूनियन धनकुटा शाखाका सचिव विकास घिमिरे, प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कट्टेल, पत्रकारहरु सन्तवीर लामा , विनोद घिमिरे, कविराज घिमिरे, सोविस चेम्जोग, नारायण कुमार राई, इश्वर थापा, सन्तोष सुवेदी, कुमार बस्नेत,ब्रह्मलाल हजारी लगायतको उपस्थिीती रहेको थियो ।
स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ । सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो ।
घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
कार्यक्रमको प्रमुख अतिथी नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता बराईली रहनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष विदुर खवासले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव हरिबहादुर लम्जेलले गर्नु भएको थियो ।


