धनकुटाको स्थानिय तह निर्बाचन, समिक्षा र भावी सन्दर्भ

जीवनप्रसाद राई । संघिय संबिधान २०७२ जारी पछिको दोस्रो स्थानिय तह निर्बाचनमा धनकुटा जिल्लाले मिश्रित प्रतिनिधि पाएको छ । चार दलिय गठबन्धन र नेकपा एमालेको भिडन्तको रुपमा लिईएको यो निर्बाचनले एमालेको लालकिल्लालाई भत्काई दिएको छ । अपेक्षा नै नगरिएको ठाँउ छथर जोरपाटीमा गठबन्धन बिजयी भएको देखिन्छ ।

धनकुटाको मुटु रहेको धनकुटा नगरपालिका, चौबिसे गाँउपालिका र शहिदभुमि गाँउपालिकामा प्रमुख र उपप्रमुख दुवै पद एमालेले जित्नु एमालेको जनआधार सहितको जित हो भन्न सकिन्छ । महालक्ष्मी, पाख्रीबास, साँगुरीगढीमा एमालेले उपप्रमुखमा जित्नुलाई अर्थपुर्ण मानिन्छ । नेपाली कांग्रेसको जनआधार हुदाँहुदै पनि धनकुटामा जित नकाल्न नसकेको अवस्था थियो । यस चुनावमा भने उसले गरेको गठबन्धनले साँगुरीगढी, पाख्रीबास, महालक्ष्मीमा प्रमुख पद जित्न सफल रह्यो । छथर जोरपाटी गाँउपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जित्न सफल भएको छ । समग्रमा एमालेले ३ प्रमुख र ६ उपप्रमुख जित्दा गठबन्धनले १ उप प्रमुख सहित ४ प्रमुख पद जितेको छ । यसबाट एमाले र गठबन्धन दुवैलाई महत्वपुर्ण जिम्मेवारीमा पुर्याइएको भन्न सकिन्छ ।

जनताले सुझबुझ पुर्ण मतदान गरे

जसरी २०७४ सालको स्थानीय तहको चुनावको मतलाई हिसाव गरेर गठबन्धनले चुनाव जित्ने आधार बनाएका थिए । तर त्यो बिलकुलै फरक देखियो जहाँ प्रमुख पदहरुमा गठबन्धनले जित निकाले त्यहाँ एमालेले उपप्रमुख जितेको छ । यसले एमालेलाई पनि झस्कएको देखिन्छ । गठबन्धनबीच शंका उत्पन्न गरिदिएको छ । चुनावले गाँउ नबस्ने उमेदवारलाई भोट किन भन्ने सन्देश पनि प्रवाह गरिदिएको छ । एमालेले प्राप्त मतको बारेमा उत्तेजित प्रतिकृया दिएको छैन । आफु बिरुद्ध सबै दल एक हुदाँ पनि जित्न नसकेको भनेको छ । तर गठबन्धन भित्रका केही दलले भने कांग्रेसले धोका दिएको भन्ने प्रतिकृया दिन शुरु गरिसकेका छन । जनमत अर्थात जनता कसैको सेना होईन ताकि उसको कमाण्डरले भन्ने बित्तिकै मान्नु पर्दछ । जनता जहिल्यै पनि विवेकी हुन्छन त्यसैले नै प्रजातन्त्र, स्वतन्त्रता, आफ्नो मताधिकार र विवेक प्रयोग गर्नमा स्वतन्त्र हुन्छन । राजनीतिक बिचारकहरुले भनेका जब जनताले आफु अनुकुल र आफुले ईच्छाएको ब्यक्तिलाई भोट दिन पाउनु उसको नैसंर्गिक अधिकार हो । यसमा दलहरुले आफुलाई भोट हालेनन भनेर जनमतलाई भन्नु जनताको मतलाई अवहेलना गर्नु हो ।

धनकुटेली जनताले बिस्तारै पार्टी होईन ब्यक्तिलाई छान्न खोजेको प्रष्ट सन्देश दिएको छ । यदि ब्यक्ति राम्रो छ भने जुनसुकै पार्टीबाट भए पनि चुनाव जित्न सक्छन भन्ने सन्देश पनि चुनावले दिएको छ । अर्कोतिर पार्टी भित्रको असन्तुष्टी समेत ब्यक्त गरिएको छ । यसबाट पार्टीले समेत आगामी दिनमा स्वच्छ, ईमान्दार तथा भिजन भएका ब्यक्तिलाई उमेदवार बनाउनुपर्ने दवाव सिर्जना गरिदिएको छ । धनकुटा नगरपालिका, चौबिसे गाँउपालिका र सहिदभुमि गाँउपालिकामा प्रमुख र उपप्रमुख पदमा एमालेले बिजय प्राप्त गर्नुमा पार्टीका साथै ब्यक्तिको महत्वपुर्ण भुमिका रहेको देखिन्छ । सबैभन्दा महत्वको पालिकाको रुपमा हेरिएको धनकुटा नगरपालिकामा पुनः चिन्तन तामाङले नै जित्नु कुनै संयोग नभई उनको सुझबुझपुर्ण निर्णय, चुनावबारे लिएको रणनीतिक योजनाले काम गरेको देखिन्छ । गठबन्धन बलियो हुदाँहुदै पनि उनको ब्यक्तिगत भोटले जित निकालेको मानिन्छ । तैपनि जनताले गठबन्धनका उमेदवार दिनेश राईलाई नै जिताउन खोजेको सन्देश दिएका छन । यो सन्देश चिन्तन तामाङको वडामा अघिल्लो चुनावमा दिएको भोट भन्दा झण्डै चार गुणा बढी दिएर देखाए । जसमा गेम चेन्जरको रुपमा पुराना कांग्रेसी शम्सेर गोङबा सावित भए । उनलाई ब्यवस्थापन गर्न नसक्नु र थप केही नयाँ मानिसहरुलाई बुझाउन नसक्नु नै गठबन्धनको हारको रुपमा ब्याख्या गरिएको छ ।

पाख्रीबास प्रमुख, महालक्ष्मी प्रमुख र साँगुरीगढी प्रमुखमा एमालेले प्रभावशाली मानिस उठाउन नचाहेको र नसकेको भनेर पार्टी भित्रकै कार्यकर्ताले समेत मतदानद्धारा असन्तुष्टी पोख्न भ्याए । जसको उदाहरण हो एमालेको भोटले नै पाख्रीबास, साँगुरीगढी र महालक्ष्मी प्रमुखमा गठबन्धन बिजयी भए । चौबिसे र सहिदभुमि गाँउपालिका भने एमालेको आफ्नै मतले नै बिजय प्राप्त गरेका हुन । छथर जोरपाटीको सन्दर्भ भने बिलकुल फरक रह्यो जहाँ गठबन्धनले ईमान्दारीका साथ कार्य गरेको मात्रै नभएर त्यहाँका बिजयी प्रमुख र उपप्रमुखले धेरै मेहनेत गरि जनतालाई बिश्वासमा लिएको देखिन्छ ।

एमालेलाई साख जोगाउने चुनौती:

धनकुटा बहुदल शुरु भए देखि नै लालकिल्लाको रुपमा हेरिदै आएको हो । यही कुरा २०७४ सालको स्थानीय तहको पहिलो चुनावमा पनि देखियो । एमालेले ७ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा बिजयी हासिल गरि क्लीन स्वीप गरेको घट्ना अनौठो होईन । बिकासको मुल फुटाउनका लागि एमालेलाई अवसर थियो । तर यो अवसर एमालेले उपयोग गर्नै चाहेन । त्यही बिषय २०७९ साल बैशाख ३० गते भएको चुनावमा पोखियो । ७ मा ४ प्रमुख पद गुमाउनु पर्यो । अबको अर्को चुनावमा आफुले जितेको ३ पालिका सहित अर्को गुमेको ४ पालिकालाई समेत फिर्ता ल्याउनुपर्ने उसको चुनौती रहेको देखिन्छ । बिकास फगत भाषणमा मात्रै सिमित राख्ने बिषय होईन । यसलाई गरेरै देखाउनुपर्ने बिषय हो भन्ने सन्देश पनि प्रवाह भएको छ ।

अब कांग्रेस संग बिकासमा प्रतिस्पर्धा गरेर आफुले जितेको क्षेत्रमा महत्वपुर्ण काम गरेर देखाएर मात्रै त्यो जोगिएको साखलाई फिर्ता ल्याउन सकिनेछ । यसका लागि प्रदेश सरकार, केन्द्र सरकारको सहयोगले समेत काम गर्ने देखिन्छ । जनतालाई बिकासमा कति सहभागी गर्न सकिन्छ भन्ने बिषय समेत महत्वपुर्ण रहन्छ । अर्थात जनपरिचालन र सामाजिक परिचालन समेत एमालेले कसरी गर्न सक्छ त्यो नागरिकले राम्ररी नजिकबाट हेर्नेछन ।

एमालेले जितेको क्षेत्रहरु धनकुटा नगरपालिका, चौबिसे र सहिदभुमि गाँउपालिकामा परिवर्तनकारी योजना, प्रत्येक जनतामा पुग्न सक्ने खालको कार्यव्रmम र उत्पादन अनि राजश्व निर्माणमा योगदान हुने खालका योजनाहरु कति संचालन गर्न सक्छन भन्ने बिषयले जनआकर्षण गर्ने हुन्छ । यसमा फगत सरकारी रकमले मात्रै नभएर जनताको सहभागिता पनि कति रहने गरि कार्यहरु गरिन्छन र त्यसबाट परिवर्तन कति ल्याउन सकिन्छ भन्ने बिषयले मात्रै एमालेले जनआकर्षण गर्न सक्दछ । जुन अबको दिनमा फलामे चिउरा चपाउनु जतिकै सारो हुनेछ । तर जन परिचालन र सामाजिक परिचालन गर्न सक्दा त्यो असम्भव भने देखिन्दैन । यसरी मात्रै गुमेको क्षेत्रहरु पुन फिर्ता ल्याउन सक्दछ । अबको दिनमा धनकुटाको सबै पालिका जित्ने योजना र लक्ष्य नै एमालेको ध्येय हुन सक्छ । यो नै उसको लागि ठुलो चुनौती हो ।

कांग्रेस र गठबन्धनलाई बिकास मोडल देखाउने चुनौती:

गठबन्धनलाई जति जित्ने लक्ष्य र उद्धेश्य ईच्छाको बिषय थियो । अब बिकास गर्ने र बिकास मोडल तयार पार्ने बिना साधान आकाश छुनु जतिकै चुनौती थपिएको छ । यसमा सबैभन्दा बढी चुनौती नेपाली कांग्रेसलाई छ । अब कांग्रेस जस्तो चुपचाप रहने प्रतिपक्ष छैन धनकुटामा । प्रत्येक पाईला पाईलामा कानुन केलाउने र सडक तताउने एमाले उसको प्रमुख प्रतिपक्ष हुनेछ । त्यसमा गठबन्धन भित्र खटपट हुने बित्तिकै माओवादी र नेकपा एस पनि उत्तिकै सशक्त रुपमा प्रतिपक्ष बन्न सक्ने देखिन्छ । अझ भोलिका दिनमा केन्द्रमा कांग्रेस बिरुद्ध गठबन्धन बन्ने बित्तिकै सबै वामपन्थी धारका पार्टीहरु कांग्रेसका प्रतिपक्ष बन्नेछन । यसैले ति सबैको ब्यवस्थापन गर्दै बिकासमा नमुना कार्यहरु संचालन गर्नु उसको थप चुनौती हुनेछ ।

केन्द्रबाट प्राप्त बजेटलाई बाँडफाँट गरेर चलाउने र बितरण गर्ने, बाटो बनाउने, धारा बनाउने, बत्ति बनाउने, स्कुल बनाउने, भवन निर्माण गर्ने जस्ता बिकासहरु देखाएर मात्रै जनतालाई बिकास गरियो भन्न सकिने अवस्था छैन । यी कामहरु संगसंगै पर्यटकहरु आकर्षण गर्ने ठाँउहरु, प्रत्येक नागरिकले गरिखाने उधम ब्यवसाय, रोजगारी तथा दीर्घकालीन प्रभाव पर्ने खालको योजनाहरु संचालन, अनि मुलुकलाई खासमा आत्मनिर्भर गर्नका लागि उत्पादनका लागि कदम चाल्नु सबैभन्दा महत्वपुर्ण कार्यहरु गर्नुपर्ने चुनौती कांग्रेसलाई हुनेछ ।

खासमा एमालेले गर्ने गरेको बितरणमुखी बजेट कार्यव्रmम पनि कांग्रेसका लागि चुनौती हुनेछ । बितरणमुखी बजेटलाई बिकासमुखी बनाउनु सजिलो छैन । जसबाट आम रुपमा जनपरिचालन र सामाजिक परिचालन गरि रोजगारीको सिर्जना हुनेछ । यसका लागि बिज्ञ समुहको मार्गदर्शन महत्वपुर्ण हुनेछ । त्यो बिषय नेकपा एमालेले गरेको अभ्यास भन्दा बिल्कुल फरक ढंगले संचालन गरे मात्रै यी लक्ष्य तथा उद्धेश्यहरुमा सफल बन्न सक्नेछ । यदि सही समयमा यी ब्यवस्थापन गर्न नसके कांग्रेस पनि एमाले जस्तै अलमलमा फस्नेछ र आगामी दिनमा प्राप्त उपलब्धीहरु समेत गुमाउन पुग्नेछ ।

कांग्रेसलाई महान अवसर:

राप्रपा छोडेर नेपाली कांग्रेस प्रवेश गरेका पुर्व प्रधानमन्त्री स्व. सुर्य बहादुर थापाका छोरा पुर्व मन्त्री श्री सुनिल बहादुर थापा नै धनकुटाको लागि सबैभन्दा भरोसा योग्य ब्यक्ति हुन । उनीमाथि कांग्रेसका मानिसहरुले मात्रै नभई अन्य दलका मानिसहरु लगायत आम नागरिकहरुले समेत विश्वास गर्न थालेका छन । त्यही कारणले गर्दा खेरी नै अहिलेको यो ४ पालिकाको महत्वपुर्ण जिम्मेवारी पनि कांग्रेसलाई उपहार स्वरुप जनताले दिएका हुन । यसबाट नेपाली कांग्रेसलाई आफुले चाहेको जस्तो बिकासका नमुना प्रस्तुत गर्न प्रसस्त्रै मात्रामा मार्ग खोलिदिएको छ । अब कांग्रेसले बजेट हालिदिने आफु अनुकुलको पालिका छैन भनेर रुनुपर्ने अवस्था रहेन । पुर्वमन्त्री सुनिल थापाले जितेमा धनकुटाका लागि धेरै योगदान गर्ने र उनीहरुले जितेको पालिकाहरुमा केन्द्रबाट बजेट ल्याउन सक्ने योजनाहरु तयार गरि कार्य संचालन गर्न सक्छन भन्ने जनताको बिश्वास नै नेपाली कांग्रेसको लागि अवसर हो ।

अर्कातिर कांग्रेसले युवा नेता धनकुटाको सभापति प्राप्त गरेको छ । उनीसंग जोस जाँगर तथा लगनशीलता छ । कांग्रेसबाट पालिका प्रमुख जित्ने ब्यक्तिहरु कुनै न कुनै ब्यवसायिक रुपमा संलग्नता रहेको कारणले समेत उनीहरुले ब्यवसायिक योजना र जनतालाई रोजगारीको कति महत्व हुन्छ । यो बिषय एउटा पढाई रहेको शिक्षकलाई उमेदवार बनाएर जिताउनु भन्दा ब्यवसायी ब्यक्ति प्रमुख हुदाँ हुने फाईदाहरु बढी हुन्छन । यसैले कांग्रेसका लागि यी बिषयहरु समेत नगदमा परिवर्तन गर्न सफल भए ज्यादै अवसरको रुपमा रहनेछ ।

धनकुटा प्रवेशद्धारको रुपमा परिचित साँगुरीगढी, तरकारी उत्पादन पकेटक्षेत्र छथरजोरपाटी अनि लालीगुराँसको राजधानी पुग्ने सिमानाको रुपमा रहेको महालक्ष्मी नगरपालिका समेत काग्रेसले नै जितेको छ । उत्पादनको मोडल तयारी देखि प्रदेश एककै महत्वपुर्ण पर्यटन क्षेत्रको रुपमा कार्य गर्न सकिने ठाँउहरु प्राप्त गरेको छ । यसमा कांग्रेसले जित निकालेकोे तेह्रथुमको अर्को पालिका लालीगुराँस नगरपालिका बसन्तपुर समेत जोडिनुले कांग्रेसका लागि स्वर्णिम युगको रुपमा उपयोग गर्न सक्ने देखिन्छ । तर उस्को ईच्छाशक्ति कति रहन्छ त्यो भविष्यको गर्भमा नै छ ।

बिकासमा सहकार्य र सहसम्बन्ध:

बिकास, निकास, समस्या र समाधानबारे बुझेका पार्टीहरु नेपाली कांग्रेस र एमालेले नै धनकुटाका पालिका प्रमुखहरु जितेका हुनाले बिकासमा सहकार्य र सहसम्बन्धको बारेमा एकमत हुन सक्छन । बिकास कुनै एक दलले मात्रै गर्न सक्ने रेडिमेड प्याकेज पनि होईन । त्यसैले कांग्रेसले आफुले जितेका पालिकाहरुलाई बजेट प्रसस्त्रै ल्याई बिकासका नमुना कार्यव्रmम संचालन गरिरहँदा कांग्रेसले जित्न नसकेको पालिकामा समेत कांग्रेसलाई जिताउन हर प्रयास गरेका जनताहरु छन भन्ने बिषय बिर्सन हुदैन । यसैगरि कांग्रेसले वा एमालेले जस्ले शुरु गरेको बिकास अभियान होस त्यसलाई राजनीतिकरण गरेर बीचमै अलपत्र पार्ने जस्तो कार्यहरु र हर्कतहरु संचालन गरिनु हुदैन । बिकास जुनसुकै दलले गरेपनि त्यही धनकुटेली जनताका लागि नै हो ।

कांग्रेसले रोपेपनि वामपन्थीले रोपे पनि कफीको बोटमा कफी नै फल्छ त्यहाँ आलु फल्दैन । त्यसैले बिकास जस्ले शुरुवात गरेपनि त्यसलाई निरन्तरता दिनै पर्दछ । धनकुटा जिल्लाको बिकासमा कुनै पनि एउटै दलले बिकास गर्न सक्छु अर्थात बिकासको ठेकेदार म मात्रै हो भन्ने हिसाबमा जानु एमाले वा कांग्रेस वा अन्य कुनै दलको लागि त्यो दुर्घटना हो । यसैले धनकुटा जिल्ला भित्र दीर्घकालीन बिकास मोडलका लागि पार्टी पार्टी बीच र पालिका पालिका बीच सहकार्यको आवश्यकता रहन्छ भने धनकुटा जिल्लाको समग्रमा बिकासका लागि अन्य जिल्लाहरु जस्तै भोजपुर, उदयपुर, सुनसरी, मोरङ, संखुवासभा, तेह्रथुम जस्ता सिमाना जोडिएका जिल्लाहरुको सहकार्य र अन्य सिमाना नजोडिएको जिल्ला वा पालिकाहरु संग पनि सम्बन्ध बिस्तार गरि बिकासका कामहरुमा छलाङ मार्नुपर्ने हुन्छ । यसका लागि अन्तर पार्टी संयन्त्र बनाई धेरै पालिका जितेको दलले नेतृत्व गरेर कार्य गर्न सक्नेछन । समग्र धनकुटाको बिकासको लागि सबैमा चेतना होस ।

(लेखक तथा बिश्लेषक राजनीतिशास्त्र बिषयमा एमए गरेका ब्यक्ति हुन: सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।