पाख्रिबास नगरपालिकामा नवनिर्वाचित प्रमुख-उपप्रमुखले गरे पदबहाली
धनकुटा, ६ जेठ । स्थानिय तहमा आजदेखि नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सुरु भएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल गएराति देखि सकिए संगै नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु भएको हो ।

यो सँगै आज धनकुटाको पाख्रीवास नगरपालिकाका नयाँ जनप्रतिनिधिले पनि सपथ तथा पदभार ग्रहण गरेका छन् । नगरमा आयोजित एक कार्यक्रम वीच नगर प्रमुख ज्ञान बहादुर गुरुङ, उपप्रमुख नम्रता देउजा सहित १० वटै वडाबाट निर्वाचित वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य,दलित महिला सदस्यहरुले पदभार ग्रहण गरेका हुन् ।
वडाहरुमा १ नं अध्यक्षमा भोगेन्द्र पाण्डे,२ मा चुडामणि पुलामी,३ मा सरोज राई,४ मा सन्तोष मानन्धर र ५ मा महेश राई रहेका छन् ।त्यसैगरि वडा ६ अध्यक्षमा देबेन्द्र गुरागाई,७ मा देबेन्द्र तामांग,८ मा गजेन्द्र बहादुर राई,९ मा सम्झना आले र वडा नं १० मा हरि खत्री निर्वाचित भएका थिए ।

कार्यक्रममा नवनिर्वाचित जनप्रतिनीधिहरुलाई नगरले स्वागत तथा वधाई ज्ञापन गरेको थियो भने ग्लोबल आइएमई बैंक,एनआइसी एसिया बैंक र नेपाल बैंक लिमिटेड पाख्रिबास शाखाले पनि जनप्रतिनिहरुलाई वधाई ज्ञापन गरेको थियो ।
कार्यक्रमको अवसरमा नगरपालिकालाई जग्गा प्रदान गरि सहयोग गर्नुहुने भिम बहादुर गुरुंग,मनमाया गुरुङ,हर्क बहादुर गुरुङ,श्याम गुरुङलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रमममा निर्वाचन अधिकृत,प्रमुख प्रशासकिय अधिकृत लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि,कर्मचारी,सूरक्षाकर्मीको उपस्थिती थियो ।
भक्तपुरका जनप्रतिनिधिहरूद्वारा शपथ
भक्तपुर, ६ जेठ/भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण गरेका छन् ।
भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचित भक्तपुर नपाको नगर प्रमुखमा सुनिल प्रजापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । त्यसपछि नगर प्रमुख प्रजापतिले नवनिर्वाचित उपप्रमुख रजनी जोशी तथा भक्तपुर नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराए ।
शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा भक्तपुर नपा वडा नम्बर १ का श्यामकृष्ण खत्री, वडा नम्बर २ का हरिप्रसाद बासुकला, ३ वडाका राजकृष्ण गोरा, वडा नम्बर ४ का उपेन्द्र सुवाल, वडा नम्बर ५ का योगेन्द्रमान बिजुक्छेँ, वडा नम्बर ६ का हरिराम सुवाल, वडा नम्बर ७ का उकेश कवां, ८ वडाका कृष्णप्रसाद कोजु, ९ वडाका रवीन्द्र ज्याख्व र १० नम्बर वडाका लक्ष्मीप्रसाद ह्यौंमिखा रहेका छन् ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले जनप्रतिनिधिहरूले जनताको सेवामा एम्बुलेन्स र दमकलसरह खट्नुपर्नेमा जोड दिए । भक्तपुर नरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले पहिलो कार्यकालमा कानुनी र प्राविधिक कारणले पूरा हुन नसकेको कामहरू यस कार्यकालमा पूरा गर्ने बचनबद्धता व्यक्त गरे ।
सपथग्रहणपश्चात आ–आफ्नो पदभार सम्हाले । शपथ ग्रहणपश्चात् नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पहिलो कार्यपालिका बैठक बस्यो । बैठकले देशमा प्रजातन्त्र पुनःस्थापनाको लागि भएका विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा साहादत्त प्राप्त गरेका ज्ञात अज्ञात सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै जनअधिकार प्राप्तिका लागि विभिन्न समयमा भएका आन्दोलनहरूमा घाइते भएका वीर योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेको छ ।


