छथरजोरपाटी गाउँपालिकाका अध्यक्षको पहिलो निर्णय : गर्भवती महिलालाई पोषण भत्ता
धनकुटा,७ जेठ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छत्र बहादुर सुब्बाले शुक्रबार औपचारिक पदभार ग्रहण गर्दै पालिका गर्भवती महिला र बच्चाको स्वाथ्य सुधारका लागि गर्भवती महिला लाई प्रत्येक महिना १ हजारका दरले १० महिना सम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णयमा हस्ताक्षर गर्नु भएको छ ।
छथरजोरपाटी गाउँपालिकामा स्थायी बसोबास गर्ने र स्वास्थ्य संस्थामा नियमित गर्भवती जाँच गराउने महिलालाई आमा र बच्चाको स्वाथ्मा सुधार होस भन्ने लक्ष्यका साथ प्रोत्साहन स्वरुप पोषणयुक्त खानाका लागि उक्त कार्यक्रम ल्याईएको अध्यक्ष सुब्बाले बताउनु भयो ।
भत्ता उपलब्ध गराउन आगामी कार्यपालिका बैठकबाट अनुमोदन हुने गरी जेठ महिना बाटै सुरु भएको उहाँको भनाई थियो । यसले गर्भवती महिला लाई नियमित स्वाथ्य जाँचका लागि प्रोत्साहन गर्ने र गर्भवती महिला र बच्चाको स्वाथ्यमा समेत सकारात्मक प्रभाव पर्ने अध्यक्ष सुब्बाको भनाई थियो ।
सुब्बाले यो बिषय लाई आफ्नो घोषण पत्रका समेत समेट्नु भएको थियो ।
राप्ती लोकमार्गको कपुरकोट–तुलसीपुर सडकखण्ड बन्द
सल्यान, ७ जेठ (रासस) :सल्यानको कपुरकोट–तुलसीपुर सडकखण्ड दलहरूले अवरुद्ध पारिएको छ । बिहीबार टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि सडक अवरुद्ध पारिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका–४ हरनेटीमा बिहीबार बेलुका रा१ख ११२३ नंको टिपरले रा१प ३१७९ नंको मोटरसाइकललाई ठक्कर दिँदा कपुरकोट गाउँपालिका–३ का १८ वर्षीय आकाश सेनको उपचारका क्रममा प्रदेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएपछि क्षतिपूर्ति दिइनुपर्ने भन्दै प्रमुख दलका नेताकै नेतृत्वमा सडक अवरुद्ध पारिएको हो ।
घटना भएको तीन दिन बितिसक्दा पनि घोराही सिमेन्द्र प्रालि र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडकमा मुढा राखेर अवरुद्ध पारिएको हो । मृतकका आफन्तले घटनामा संलग्न व्यक्तिहरू सम्पर्कमा नआउँदासम्म शव परीक्षण गर्न नदिने अडान लिएपछि शव प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ ।
सडक अवरुद्ध भएपछि सवारीसाधन बीच बाटोमै रोकिएका छन् । तुलसीपुरबाट सल्यान आउने तथा रुकुम–सल्यानबाट दागतर्फ जाने सवारीसाधन कपुरकोटमै राखिएको स्थानीय जितप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रहरीले भने ठक्कर दिने टिपर र चालकलाई नियन्त्रण लिएको जनाएको छ ।


