धनकुटामा माओवादीले धोका दियो : एमाले
धनकुटा,१७ जेठ । नेकपा एमाले धनकुटाले कार्यपालिक सदस्य निर्वाचनमा नेकपा माओवादी (केन्द्रले) आफूहरुलाई धोका दिएको जनाएको छ । धनकुटामा मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेले यस्तो बताएको हो ।
नेकपा एमाले र नेकपा माओवादी (केन्द्र) बिच चौैबिसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, शहिदभूमी गाउँपालिका र पाख्रिवास नगरपालिकामा १—१ जना कार्यपालिका सदस्य माओवादीले पाउने गरी र महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिका ३—३ जना तथा छथरजोरपाटीमा ४ जना कार्यपालिका सदस्य माओवादीले पाउने गरी भाग बन्डा गर्ने गरी लिखित सहमती भएको तर मततदानका दिन माओवादी केन्द्रले आफूहरु लाई अन्र्तघात गर्दै धोका दिएको नेकपा एमाले धनकुटाका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले बताउनु भयो ।
माओवादी केन्द्र धनकुटाका संयोजक डिल्लीराम राईले भने शहिदभूमि, साँगुरीगढी गाउँपालिका र पाख्रिवास नगरपालिकामा एमालेले धोका दिएपछि अन्य ठाउँमा सहमति उल्लघंन भएको जानकारी दिए ।
राईले सात वटै तहको लागि सहमति भएको भएपनि एमाले आफू अल्पमतमा परेको ठाउँमा साथ खोजेको र बहुमतमा भएको ठाउँमा एक्लै जान खोजेको राईले बताए ।
सोमबार सम्पन्न भएको निर्वाचनमा एमालेका अधिकांश प्रतिनिधीले माओवादीका बाट उम्मेदवार भएका प्रतिनिधी लाई मतदान गरेको तर माओवादी तर्फका प्रतिनिधीहरुले गठबन्धन तर्फका उम्मेदवारहरु लाई नै मतदान गरेको मत परिणमले देखाएको छ ।
कार्यपालिका निर्वाचनमा धनकुटा, पाख्रिवास र महालक्ष्मी नगरपालिकामा ८÷८ जना र चौविसे, साँगुरीगढी, सहिदभूमि र छथर जोरपाटी गाउँपालिकामा ६÷६ जना कार्यपालिका सदस्य निर्वाचित भएका हुन्।
जसमा धनकुटा नगरपालिकामा गठबन्धनका ८, छथर जोरपाटी गाउँपालिकामा गठबन्धनका ६ जना, महालक्ष्मी नगरपालिकामा गठबन्धनका ५ जना र एमालेका ३ जना पाख्रिबास नगरपालिकामा एमालेका ८ जना, साँगुरीगढी गाउँपालिकामा एमालेका ६ जना, सहिदभूमि गाउँपालिकामा एमालेका ६ जना र चौविसे गाउँपालिकामा एमालेका ५ जना र माओवादीका १ जना कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्।


