“एमाले इमान र माओवादी बेइमान हो भने कुन-कुन पालिकामा इमान्दारिता भयो ?” – नेकपा माओवादी केन्द्र धनकुटा
धनकुटा । राजनैतिक बेइमानी गर्नेहरुसँग आफुहरुले इमान्दारिता प्रर्दशन गरि राख्नु पर्ने कुनै बाध्यता नभएको नेकपा माओवादी केन्द्र धनकुटाले बताएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले त्यस्तो बताएको हो ।
संसदीय राजनितीमा सम्भावनाको खेल भै रहने भन्दै उसले त्यसैको उपजको रुपमा कार्यपालिका निर्वाचनमा नयाँ खेल भएको स्पष्ट पारेको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति धनकुटाका संयोजक डिल्लीराम राई (कमल)द्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ “राजनैतिक बेइमानी गर्नेहरुसँग हामीले इमान्दारिता प्रर्दशन गरि राख्नु पर्ने लोकतन्त्रमा कुनै बाध्यता छैन । त्यसैले संसदीय राजनितीमा संभावनाको खेल भै रहन्छ ।, त्यसैको उपजको रुपमा कार्यपालिका निर्वाचनमा नयाँ खेल भयो ।
कार्यपालिका निर्वाचनमा एमाले र माओवादी बीचको सहमति भएको स्विकार्दै उसले खेलमा सहमति अनुरुप नभै माओवादीले अन्तर्घात र राजनैतिक बेइमानी गरेको भनेर एमालेले धारणा सार्वजनिक गरेकोमा यदी एमाले इमानी र माओवादी बेइमानी हो भने कुन-कुन पालिकामा इमान्दारिता भयो ? भनेर प्रश्न गरेको छ । सहिदभूमि, पाख्रीवास, साँगुरीगढीमा भएको सहमति के थियो र के भयो ? धनकुटा नगरपालिका, महालक्ष्मीमा मात्र हो र ? अरु पालिकामा थिएन ? भन्दै मओवादी केन्द्रले आफ्नो आङ्गमा भैसी नदेख्ने अर्काको आङ्गमा जुम्रा देख्ने भने झै भएन र ? भनि प्रश्न गरेको छ ।
उसले सहमती त मनोनयन दर्ता र फिर्ता मितिबाटै उल्लंघन भएको पनि उल्लेख गरेको छ । त्यसको असरको रुपमा निर्वाचन प्रकृयाबाट परिणाम आएको मात्र हो निर्वाचन परिणाम नै यसको सबुत प्रमाण हो भनेको छ । नियम कानुन, सहमती एउटालाई मात्र नलाग्ने, परिणाम कसले निकाल्यो त्यो मुख्य हुने उसले बताएको छ । त्यसैले एमाले सँगको सहमति पत्रमा कार्यपालिकाको निर्वाचन प्रयोजनको लागि मात्र भएको र राजनैतिक पहल कदमीको खेल बाहेक अरु कुनै गलत उदेश्यद्धारा प्रेरित नभएको विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।
त्यस्तै स्थानीय तह निर्वाचनमा छथर जोरपाटी गाउँपालिका बाहेक सबै पालिकामा कांग्रेसको राजनैतिक बैइमानीको कारण गठबन्धनले सोचे अनुरुपको विजयी प्राप्त गर्न नसकेको माओवादीको निष्कर्ष छ । माओवादी केन्द्रलाई तेस्रो निर्णायक शक्तिको रुपमा जनताले स्थापित गरेको प्रति उसले आम मतदातालाई धन्यवाद दिदै विजयी उम्मेदवारहरुलाई बधाई ज्ञापन गरेको छ । हारबाट शिक्षा लिदै जितबाट जनताको सुख,संमृद्धी र विकासका लागि जनताको सेवा गर्ने अवसरको रुपमा लिन जनप्रतिनीधिहरुलाई उसले आब्ह्वान समेत गरेको छ ।



