खोटाङको कुहुडाँडा माविको १० कोठे पक्की भवन उद्घाटन
खोटाङ, १९ जेठ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा मावि शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ । जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशील भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन् ।
विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक (भवन) निर्माण गरिएको हो ।
कर्णाली प्रतिष्ठान र राजमार्ग प्राथमिकतामा परेनन्
कर्णाली, १९ जेठ (रासस) :आगामी आर्थिक वर्ष २०७९÷८० मा कर्णालीका लागि धेरै कार्यक्रम थपिए । यद्यपि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग भने प्राथमिकतामा परेको पाइएन ।
बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएको छैन । बजेटले अपेक्षित सम्बोधन नगरेको भन्दै कर्णालीवासीले दुःखेसो पोखेका छन् । बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ भन्नेबाहेक अरु सम्बोधन गरेको पाइँदैन ।
कर्णाली राजमार्ग एक लेनमै सीमित छ । भिरमा खोपेर बनाएको एकलेनको सडक, जहाँ गाडी ओहोरदोहोर गर्न निकै गाह्रो अवस्था छ । सरकारलाई राम्रोसँग थाहा हुँदापनि यसको स्तरवृद्धिका विषयमा बजेटमा सम्बोधन नगरिएको नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको भनाइ छ ।
सुर्खेतदेखि जुम्लासम्म कर्णाली राजमार्ग २३२ किलोमिटर लामो छ । यो राजमार्गमा डेढ दशकमा सयौँ मानिसले जीवन गुमाइसकेका छन् । शाही भन्नुहुन्छ, “जीर्ण र साँघुरो सडकलाई दुई लेनमा विस्तार गर्न आवश्यक छ ।”
सबैभन्दा ठूलो आयोजना धौलीगाड बृहत् खानेपानी बारेमा पनि बजेटमा केही उल्लेख नभएको उहाँको भनाइ छ । पातारासी गाउँपालिका जुम्लाको लौठचौरमा निर्माणाधिन अवस्थामा रहेको कर्णाली हाइअल्टिच्युड टे«निङ सेन्टर निर्माण योजनालाई पनि वेवास्ता गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो ।
“विश्वको उच्च भागमा धान फल्ने स्थानमा बन्न लागेको कर्णाली हाइअल्टिच्युड टे«निङ सेन्टर निर्माण सम्पन्न गर्न बजेटको व्यवस्था गर्न आवश्यक थियो”, उहाँले भन्नुभयो ।


