आजको मौसमः बर्षाले देशैभरीका यातायात प्रभावित हुन सक्ने
काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदर भन्दा उत्तरतर्फ तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपासमा रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल र बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको छ।
दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भाग एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति भने देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थान, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी ,बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेश तथा कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेकाे छ ।


