भव्य भवनमा अध्ययन गर्ने दरबार हाइस्कुलका विद्यार्थीको सिकाइ स्तर कमजोर

पूर्णप्रसाद मिश्र/ काठमाडौँ, १ असार (रासस): भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ ।

गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी हुनुहुन्छ ।

“गत वर्ष दुवै छोरालाई दरबार हाइस्कुलमा भर्ना गरेँ, कान्छो छोरो कक्षा ७ बाट ८ मा गयो, ९ मा भर्ना गरेको छोरो उत्तीर्ण भएन, विद्यालयको नाम दरबार, पढाइ राम्रो भएन”, उहाँले भन्नुभयो । दोलखाबाट राजधानी आएर दरबार हाइस्कुलमा दुवै छोरा पढाइरहनुभएकी सुजना न्यौपानेको अनुभव पनि गिरीको भन्दा फरक छैन । उहाँका छोराहरू कक्षा सात र एकमा अध्ययनरत छन् ।

विद्यालयका निमित्त प्रधानाध्यापक शारदाकुमारी पौडेल कोरोनाका कारण अनलाइन कक्षा हुँदा धेरै विद्यार्थी जुम प्रविधिमा जोडिन नसकेका कारण गत शैक्षिकसत्रमा राम्रो परिणाम आउन नसकेको स्वीकार गर्नुहुन्छ । “परिणाम राम्रो नहुनुमा विद्यालय मात्र जिम्मेवार छैन, कोरोनाको समयमा विद्यालय खोल्न नसक्नु, विद्यार्थी प्रविधिमा जोडिएर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन नसक्नुलगायत कारणले सोचेजस्तो परिणाम आउन सकेन”, उहाँले भन्नुभयो ।

सङ्घीय कानुनमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन अभिभावक नै हुनुपर्ने व्यवस्था छ । तर स्थानीय सरकारले बनाएको कानुनमा भने अभिभावकसँगै शिक्षाविद् र स्थानीय समाजसेवी पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सक्ने प्रावधान राखिएको छ । यही व्यवस्थाका कारण छोराछोरी संस्थागत विद्यालयमा पढाउने अभिभावक पनि विद्यालय व्यवस्थापन समितिको पदाधिकारी बन्ने गरेका छन् ।

अहिले भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहनुभएका गोपाल महर्जनका बालबालिका पनि यहाँ अध्ययन गर्दैनन् । महर्जन स्थानीय समाजसेवीका रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नुभएको हो । सङ्घीय कानुनमा अभिभावक नै व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था भएका बेला पनि यहाँ भने बाहिरबाटै अध्यक्ष बनाउने गरिएको विद्यालयका शिक्षक र अभिभावकको आरोप छ । यसअघि व्यवस्थापन समिति गठन हुँदा शिक्षकहरूले अभिभावकलाई नै अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए ।

काठमाडौँ महानगरपालिका शिक्षा शाखाका कर्मचारी र जिल्ला शिक्षा समन्वय एकाइबाट खटिइआएका कर्मचारीले भने स्थानीय सरकारले बनाएको कानुन देखाएर शिक्षाविद् वा समाजसेवीमध्येबाट पनि बनाउन सकिने सुझाव दिएपछि महर्जन अध्यक्ष हुनुभएको हो । विद्यालयका शिक्षक पदमबहादुर बटाला वरिष्ठ शिक्षक अखिलेशप्रसाद आजादले प्रधानाध्यापक पदबाट राजीनामा दिएपछि शैक्षिक, प्रशासनिक र आर्थिक काम गर्ने गरी तेस्रो नम्बर वरियताकी शिक्षिका पौडेललाई निमित्त दिएको बताउनुहुन्छ । निमित्त दिएको लामो सयमसम्म पनि उहाँलाई प्रधानाध्यापक बनाउने वा अर्कोलाई दिने भन्ने निर्णय नहुँदा केही समस्या आएको उहाँले स्वीकार गर्नुभयो ।

बटाला शिक्षक नियुक्त भएर आउँदा २०७० सालमा करिब ७० मात्र विद्यार्थी थिए । त्यसबेला औँलामा गन्न सकिने विद्यार्थीमात्र उत्तीर्ण हुने गरेको उहाँको स्मरणमा अझै ताजा छ । त्यसबेलाको भन्दा अहिले ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा पनि गुणस्तर सुध्रिएको मान्नुपर्ने उहाँको तर्क छ ।

करिब ५०० विद्यार्थी रहेको विद्यालयमा अहिले भर्ना गर्न आउने क्रम जारी छ । तर कक्षामा स्थान अभावका कारण विद्यालयले भर्ना लिन सकेको छैन । एउटा कक्षामा करिब ४० विद्यार्थीमात्र अटाउँछन् । अर्को सेक्सन बनाउनसमेत स्थान अभाव भएपछि भर्ना हुन आउने विद्यार्थीलाई फर्काउनुपरेको अध्यक्ष महर्जनले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गी आफू निर्वाचित भएलगत्तै विद्यालयको कमजोर गुणस्तरका बारेमा धेरै गुनासा आएको बताउनुहुन्छ । विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य भए पनि आफू निर्वाचित भएपछि बैठकका लागि कुनै जानकारी नआएको उहाँले सुनाउनुभयो ।

“विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि वडा कार्यालयले आफैँ केही गर्न सक्छ कि सक्दैन भन्ने विषयमा मैले कानुनी पक्षको अध्ययन गरिरहेको छु, वडाले केही गर्न नसक्ने अवस्था भएमा महानगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरेर सुधारका कामको थालनी गछौँ”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।