नमुना बिद्यालय बन्दै पाख्रिबासको बालपञ्च माबि
धनकुटा खबर संवाददाता/ धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर २ सान्ने स्थित बालपञ्च माध्यमिक बिद्यालय बिद्यालय क्षेत्र सबैतिरका लागि नमुना माबि बन्दै गईरहेको छ ।
पुराना संरचनाहरुमा परिवर्तन गर्दै नयाँ भवन निर्माण गरि बिद्यालयको नियमित पठनपाठनको कार्य संचालन भईरहेको छ । बिद्यालयलाई कसरी ब्यवस्थित गर्ने भन्ने बिषयमा अध्ययनका लागि समेत यस माबिलाई नमुनाका रुपमा लिन सकिने भएको छ ।
यस बिद्यालयमा बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुको जन्मदिनको उपलक्ष्यमा कुनै पनि बिरुवा वा फुलको बिरुवा बिद्यालयलाई उपहार स्वरुप उपलब्ध गराउनु पर्ने नियम सबैभन्दा उल्लेख्य रहेको छ ।
यस माबिले बिद्यार्थीहरुको चाहना र आवश्यकतालाई ध्यानमा राखी एक सानो तर ज्यादै ब्यवस्थित आफ्नै पुस्तकालय निर्माण गरि संचालनमा ल्याएको छ ।
यसैगरि साईन्स ल्यावको स्थापना गरि बिद्यार्थीहरुले बिज्ञानमा प्रयोगात्मक कार्यको लागि निकै फाईदा पुगेको छ । यसैगरि बिद्यालयमा हरेक बिद्यार्थीहरुलाई अनिवार्य कम्युटर शिक्षाका लागि कम्युटर ल्याबको समेत स्थापना गरि त्यसमा सिसी क्यामरा जडान गरि पढ्ने बढाउने ब्यवस्था गरिएको छ ।
नीजि बिद्यालयहरुको उपस्थिति नरहेको यो क्षेत्रमा साना बालबालिकाहरुलाई समेत बिद्यालयले शिशु कक्षको सेवा उपलब्ध गराएको कुरा बिद्यालयका प्राचार्य श्री भरतप्रसाद अधिकारीले बताउनु भयो ।
बिद्यालयलाई नीति नियम तथा अनुशासनमा रही शिक्षक तथा शिक्षिकाहरुले पढाउने र बिधार्थीहरुलाई बुझाउने,बिद्यालयलाई नियमित रुपमा र सही समयमा उपलब्ध बजेटबाटै ब्यवस्थित रुपमा संचालन गर्न प्राचार्यको क्षमताका कारणले नै यो बिधालय नमुना बन्दै गरेको कुरा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चुडामणी पुलामी मगरले बताउनु भयो ।







