धनकुटा पाख्रीबासका राई पांच दिनदेखि वेपत्ता
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाका एक ब्यक्ति बेपत्ता भएका छन् ।
जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ८ काभ्रेका ६९ बर्षीय अम्बर बहादुर राई गत असार १६ गते बिहानबाट वेपत्ता भएका हुन् ।
राई एक्लै घरमा बस्दै आएकोले कता गयो भन्ने एकिन नभएको तर उक्त दिन बिहान छिमेकी संग भेट हुंदा कोदालोको बिंड खोज्न जंगल हिंडेको बताएको स्थानिय जनप्रतिनिधि गंगादेव राईले धनकुटा खबरलाई जानकारी दिनु भयो ।
बेपत्ता राईको श्रीमतिको केही बर्ष अगाडि नै मृ’त्यु भइसकेको र एक मात्र अविवाहित छोरा बैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेको जनाइएको छ ।
बेपत्ता राईलाई कतै कसैले देख्नु वा भेट्नु भए राम बहादुर राईको सम्पर्क नम्बर ९८११०४३४७२ वा वडा सदस्य गंगा देव राईको सम्पर्क नम्बर ९८२७३४७१६६ मा खबर गरिदिन पनि अनुरोध गरिएको छ ।

भानुभक्तको जन्म जयन्तीमा राष्ट्रिय कविता प्रतियोगिता हुने
दमौली, २१ असार ९रासस० ःराष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको दुई सय नवौँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुभक्तको जन्मजयन्तीका अवसरमा आयोजना गर्न लागेको खुल्ला कविता प्रतियोगिताका लागि ३५ जिल्लाबाट कविता प्राप्त भएको हो । कविता पठाउने अन्तिम दिन सोमबारसम्म सो कविता प्राप्त भएको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका लागि ८७ जनाको कविता प्राप्त भएको छ । उक्त कविताहरु असार २८ गते वाचन गरिनेछ । कविता वाचनका लागि प्रतियोगी स्वयं उपस्थित हुनुपर्ने रानाभाटले बताउनुभयो । विकास समितिले भानुभक्तको जन्मजयन्ती तीन दिन विविध कार्यक्रमका साथ मनाउँदैछ ।
सोही क्रममा चुँदीरम्घामा कविता प्रतियोगिता आयोजना गरिएको छ । कविता प्रतियोगिताका लागि नुवाकोट, ओखलढुङ्गा, चितवन, काठमाडौँ, कास्की, रुपन्देही, तनहुँ, सुनसरी, बैतडी, मकवानपुर, बारा, रोल्पा, बर्दिया, झापा, कैलाली, नवलपरासी, खोटाङ, स्याङ्जा, पर्वत, कपिलवस्तु, भक्तपुर, लमजुङ, पाल्पा, सिन्धुपाल्चोक, गोरखा, इलाम, सिराहा, धनुषा, नवलपुर, रामेछाप, ताप्लेजुङ, अछाम, ललितपुर, दोलखा र गुल्मीबाट सहभागीले कविता पठाएका छन् ।
प्रतियोगितामा प्रथमलाई रु २० हजार, द्वितीयलाई रु १५ हजार, तृतीयलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार वितरण गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, युनिकोडमा टाइप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन नहुने जनाइएको छ ।
भानुजयन्तीका अवसरमा असार २७ गते स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुल्ला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगिता, असार २९ गते प्रभातफेरि, भानुभक्तको सालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिनेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदा दिएको छ ।
मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधूशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।


