धनकुटाका किसानले पाए पौने ३ करोड प्रादेशिक अनुदान, हेर्नुहोस कुन तहले कति पाए ?
नारायण कुमार राई,धनकुटा । यो बर्ष धनकुटामा कृषि क्षेत्रका ३७ वटा संस्था तथा ब्यक्तिहरुले २ करोड ७८ लाख २५ हजार बराबरको प्रदेश सरकारको कृषि अनुदानका कार्यक्रमहरु पाएका छन् ।चालु आ.व.०७८÷०७९ मा सम्पन्न कार्यक्रमको संयुक्त अनुगमनका क्रममा भटरिनरी कार्यालय (पशु कार्यालय) धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले मंगलबार उक्त जानकारी दिएको छ ।
जस अनुसार पशुसेवा कार्यालय अन्तर्गत २ करोड ९ लाख बरावरको १७ वटा प्रदेशका कार्यक्रम सम्पन्न भएको कार्यालयका प्रमुख लोकनाथ ढुंगानाले जानकारी दिनुभयो ।त्यस्तै कृषि ज्ञान केन्द्रबाट ६९ लाख २५ हजार बराबरको २० वटा प्रदेशका कार्यक्रम सम्पन्न भएको कृषि ज्ञान केन्द्रकी प्रमुख पूर्णमायाँ गुरुङ्गले जानकारी दिनुभयो ।
पशुसेवा कार्यालय र कृषि ज्ञान केन्द्रले दिएको तथ्यांक अनुसार पशु कार्यालय मार्फत् धनकुटा नगरपालिकामा ९५ लाख २५ हजार र कृषि ज्ञान केन्द्र मार्फत् १३ लाख बरावरको ५÷५ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।त्यस्तै पाख्रिबास नगरपालिकामा पशु कार्यालय मार्फत् ४५ लाख ७५ हजार र कृषि ज्ञान केन्द्र मार्फत् १२ लाख ५० हजार बरावरको ५÷५ वटा कार्यक्रमहरु सम्पन्न भएका छन् ।
महालक्ष्मी नगरपालिकामा पशु कार्यालय मार्फत् २० लाख बराबरको एक कार्यक्रम भएको छ भने कृषि ज्ञान केन्द्र मार्फत् कुनै कार्यक्रम सम्पन्न भएको छैन ।साँगुरीगढी गाउँपालिकामा पशु कार्यालय मार्फत् २५ लाख बराबरको एक कार्यक्रम र कृषि ज्ञान केन्द्र मार्फत् १८ लाख २० हजार बरावरको २ वटा कार्यक्रमहरु भएका छन् ।
छथर जोरपाटी गाउँपालिकामा पशु कार्यालय मार्फत् २५ लाखको २ वटा कार्यक्रम र कृषि ज्ञान केन्द्र मार्फत् २० लाख ५५ हजार बराबरको ५ वटा कार्यक्रमहरु भएका छन् ।सहिदभूमी गाउँपालिकामा पशु कार्यालय मार्फत् ४० लाख बराबरको २ वटा र कृषि ज्ञान केन्द्र मार्फत् ३ लाख बराबरको एक कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै चौबिसे गाउँपालिकामा कृषि ज्ञान केन्द्र मार्फत् २ लाख बराबरको एक मात्र प्रदेश अनुदानको कार्यक्रम सम्पन्न भएको छ ।५० देखि ७५ प्रतिशत अनुदानमा सम्पन्न उक्त योजना तथा कार्यक्रमको मंगलबार प्रदेश सभासद्हरु,कार्यालयका पदाधिकारी,अनुगमन समितिका सदस्यहरु र पत्रकारको टोलीले अनुगमन गरेको छ ।
पशुपालन अन्तर्गत टालीले युवा लक्षित पशु बिकास कार्यक्रम अन्तर्गत सम्मपन्न पाख्रिबास नगरपालिका वडा नं. ९ को धर्मशाला पशुपालन फर्मको बाख्रा पालन तथा खोर सुधार कार्यक्रमको अनुगमन गरेको छ ।
त्यस्तै कृषि÷पशु सहकारी तथा अन्य संस्थाहरुको सहकार्यमा सञ्चालित ब्यबसायिक पशुपालन कार्यक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं. ३ को दुग्ध सहकारीको अनुगमन गरेको छ ।
त्यस्तै टोलीले बंगुरको ब्लक बिकास कार्यक्रम अन्तर्गत छथर जोरपाटी गाउँपालिका ५ खोक्तापको बंगुर बिकास कार्यक्रम अन्तर्गत खोक्ताप कृषि सहकारी लगाएत बिभिन्न बंगुर फर्महरुको अनुगमन गरेको छ ।
कृषि बालि तर्फ ब्यसायीक फलफुल बगैचा ब्यबस्थापन सहयोग कार्यक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं.९ को निलिमा फलफुल तथा कृषि फर्मको किवी खेतीको अनुगमन गरेको छ ।
त्यस्तै महिला,दलित,पिछडिएका समुदाय लक्षित कार्यत्रक्रम अन्तर्गत पाख्रिबास नगरपालिका वडा नं. ९ आरुसी कृषि तथा पशुपन्छि फर्मको तरकारी खेती अनुगमन गरेको छ । त्यस्तै टोलीले छथर जोरपाटी वडा नं.३ को ढुंगे कृषि सहकारी संस्था अन्तर्गत सञ्चालित मकै ब्लक बिकास कार्यक्रम लगाएतको अनुगम नगरेको छ ।
अनुगमनमा प्रदेश सभासद्हरु ईन्द्रमणी पराजुली,लिला सुब्बा,हिमाकुमारी बस्नेत,कुसुमकुमारी श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,कृषि बिकास बैक धनकुटा शाखाका प्रमुख लगाएतको सहभागिता रहेको थियो ।





