धनकुटाका कति जना विद्यार्थीले एसईईमा कुन जीपीए ल्याए ? हेर्नुहोस् विवरण
धनकुटा, १२ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले हिजो सार्वजनिक गरेको एसईईको नतिजामा अनुसार धनकुटाका २१ जना विद्यार्थीले साधारण तर्फ ३.६ देखि ४ जीपीए ल्याएका छन् भने प्राविधीक धार तर्फ ३ जनाले सोहि जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाले जनाएको छ ।
त्यस्तै ३.२ देखि ३.६ जीपीए ११० जना साधारण तर्फ र ७ जनाले प्राविधीक धार तर्फ प्राप्त गरेका छन् । २.८ देखि ३.२ जीपीए साधारण तर्फ ३२० र प्राविधीक धार तर्फ २० जनाले प्राप्त गरेका छन् । २.४ देखि २.८ जीपीए साधारण तर्फ ६३१ र प्राविधीक धार तर्फ १४ जनाले प्राप्त गरेका छन् । २.० देखि २.४ जीपीए साधारण तर्फ १ हजार ३६ र प्राविधीक धार तर्फ २ जनाले प्राप्त गरेका छन् ।
१.६ देखि २.० जीपीए साधारण तर्फ ४८० ले प्राप्त गरेका छन् । त्यस्तै १.२ देखि १.६ जीपीए साधारण तर्फ ७३ जनाले प्राप्त गरेका छन् भने ०.८ देखि १.२ जीपीए साधारण तर्फ ३ जनाले प्राप्त गरेको विवरण शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाले सार्वजनिक गरेको छ । एसईई परिक्षामा साधारण तर्फ धनकुटा बाट २ हजार ७ सय ४७ जना सहभागि भएका थिए भने प्राविधीक तर्फ ४६ जना विद्यार्थी सहभागि भएका थिए ।

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा डेढवर्षमा नेतृत्व
लुम्बिनी, १२ साउन (रासस) :लुम्बिनी प्रदेशसभामा विगत डेढवर्षदेखि नेतृत्वविहीन अवस्थामा रहेका विषयगत संसदीय समितिले आज बल्ल नेतृत्व पाएका छन् । प्रदेशसभामा रहेका सात विषयगत संसदीय समितिमध्ये विभिन्न कारणले रिक्त रहेका चार समितिमा आज सभापति निर्वाचित भएका छन् ।
रिक्त संसदीय समितिका सभापतिमा प्रदेशसभामा महत्वर्पूण समिति मानिने सार्वजनिक लेखासमितिको नेतृत्व प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पाएको छ । उक्त समितिको सभापतिमा एमालेका प्रदेशसभा सदस्य रहनुभएका विष्णु पन्थी हुनुभएको छ ।
यसअघि तत्कालीन नेकपा नेतृत्वमा प्रदेश सरकार रहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट डिल्लीबहादुर चौधरी यस समितिको सभापति हुनुहुन्थ्यो । नेकपा नेतृत्वको सरकारपछि बनेको गठबन्धन सरकारमा उहाँ सहरी विकास तथा पर्यटनमन्त्री बनेपछि यो समिति नेतृत्व विहीन बन्न पुगेको हो ।
यससँगै अन्य दुई समितिको नेतृत्व पनि एमालेले पाएको छ । एमालेले कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल र सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको प्रदेशसभामा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । उहाँले विषयगत समितिमा नेतृत्व आफूहरुले विगतदेखि नै सहमतिका आधारमा चयन गर्न राखेको प्रस्ताव सत्तापक्षले बल्ल स्वीकार गरेको बताउनुभयो ।
यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेले प्रदेशसभा सदस्यबाट राजीनामा गरेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएपछि सो पदसमेत रिक्त रहदै आएको थियो । प्रदेशसभाबाट राजीनामा गरेका पाण्डे केही समयमै राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । साथै कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादव तत्कालीन नेकपा विभाजन पश्चात बनेको शङ्कर पोखरेल नेतृत्वको सरकारमा जनता समाजवादीका तर्फबाट मन्त्री बनेपछि उक्त समितिको सभापति पनि रिक्त रहेको थियो ।
यस्तै सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् । सो दलले प्रदेशसभामा प्रतिनिधित्व गर्ने तारा जिसी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा निर्वाचित हुनुभएको छ । प्रदेशसभामा राजमोका एक जना मात्र सदस्य हुनुहुन्छ ।
यसअघि अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपाने नेकपा विभाजनमा एमालेमा लागेकाले माओवादी केन्द्रले उहाँलाई प्रदेशसभा सदस्यबाट कारबाही गर्न सिफारिस गरेकाले सो पद रिक्त रहँदै आएको थियो । सार्वजनिक लेखामितिको सदस्यमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज, गीता थापा रहनुभएको छ ।
प्रदेशसभामा ती समितिको निर्वाचन कार्यतालिकाअनुसार बुधबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रमअनुसार सबै समितिमा एकल उम्मेदारी परेका प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । उहाँका अनुसार आज निर्वाचन कार्यसूचीमा सबै समितिमा सभापतिमा निर्विरोध चयन भएको घोषणा गरिएकोसमेत प्रदेशसभा सचिव पुनले बताउनुभयो ।


