धनकुटामा जमेको ब्यवसायिक जोडी
जीवनप्रसाद राई,धनकुटा ।चरम रुपमा ब्यवसायिक बिकास नभई नेपालको संमृद्धि संभव छैन । यद्धपी हिजोआज संमृद्धि सबैको मुखमा झुण्डिएको सामुहिक प्यारो शब्द बनेको छ । संमृद्धि ल्याउनका लागि ब्यवसाय, उधोग चलाउन पर्दछ । यसका लागि सोच, बिचार, आर्थिक तथा मानसिक लगानी हुनुका साथै सही रुपमा मेहनेत पनि गर्नुपर्छ ।

यस्तै सही मेहनेत गर्दै सोच, बिचार र लगानी गरिरहेका ब्यक्ति हुन् दिनेश श्रेष्ठ । उनी धनकुटा नगरपालिका वडा नम्बर ७ मा २०३६ सालमा आमा सानुदेवी श्रेष्ठ र बुवा ईन्द्रमणि श्रेष्ठबाट जन्मिएका हुन । धनकुटालाई नजिकबाट बुझेका सफल उधमी समेत हुन । २०५७ सालमा धरान निवासी श्री उर्मिला श्रेष्ठ संग बैबाहिक बन्धनमा बाँधिएका उनीहरु लगातार बिना थकान बिभिन्न ब्यवसायमा संलग्न रहेका छन । उनीहरु धनकुटा जिल्लाका लागि उदाहरण मात्रै होईन ब्यवसायिक जीवनका उच्च गुरु र गुरुआमा पनि हुन । दुई सन्तानका अभिभावक उनीहरुका एक छोरा काठमाण्डौमा अर्को छोरा धरानमा पढ्दै छन ।
ब्यवसाय र सफलता:
दिनेश श्रेष्ठ र उर्मिला श्रेष्ठको दाम्पतिले संचालन गरिरहेको सबैभन्दा उत्कृष्ट ब्यवसाय हो चिफ एण्ड बेष्ट होटल । यो होटलमा धनकुटा जिल्लाका अन्य होटल तथा रेष्टुरेष्टहरुमा पस्कन नसकेको फुड एण्ड वेभरेजहरु समेत पाईनु यसको महत्वपुर्ण बिशेषता हो । यसका लागि दिनेश र उर्मिला श्रेष्ठ आफै मालिक आफै कामदारको रुपमा खटिन्छन । यही नौलो प्रस्तुती र खानेकुराहरुका कारणले गर्दा नै उनको होटल धेरै जसो बच्चा तथा युवाहरुको रोजाईमा पर्ने गरेको छ । नेपाली तथा बिदेशी खानेकुराहरुलाई सजिसजाउ तथा उत्कृष्ट तयारीका साथ पस्कने कारणले गर्दा होटल ब्यवसायमा राम्रो सफलता आर्जन गरेका हुन ।

कुनै ब्यवसायिक अध्ययन तथा सम्बन्धित सीपको पढाई नगरेका श्रेष्ठ दाम्पति आफ्नै खुवी र मेहनेतका कारणले आज सफल छन । आफनै ईच्छाशक्तिले नै उनीहरु होटल ब्यवस्थापन तथा फुड एण्ड वेभरेजको राम्रो प्रशिक्षक समेत बनीसकेका छन । मानिस संग ईच्छाशक्ति भएमा असम्भव केही छैन र रहदैन भन्ने यो गतिलो उदाहरण समेत हो । उनीहरु संग फर्निचरको समेत एकदमै राम्रो ज्ञान रहेको छ । केही समय फर्निचरमा समेत नयाँपन दिदै ब्यवसाय संचालन गरेपनि होटल तथा खेती बालीमै बढी समय दिनुपर्ने भएकोले फर्निचर ब्यवसायलाई भने केही समयको लागि स्थगन गरेका छन । हाल उनीहरुले ब्यवसायिक रुपमा एभोकाडो तथा कफीको खेती समेत शुरु गरिसकेका छन ।
एभोकाडो र कफी:
रुदाक्ष बहुउद्धेशीय कृषि फर्म दर्ता गरि धनकुटा नगरपालिका वडा नम्बर १० मा श्रेष्ठ दाम्पतिले एभोकाडो र कफीको ब्यवसाय बिस्तार गरिसकेका छन । हाल उनीहरुको १ सय रोपनी जमिनमा ११ सय बोट एभोकाडोको बिभिन्न जातका बिरुवाहरु हुर्किसकेका छन । गएको बर्ष २ हजार कफीका बिरुवाहरु समेत लगाएका छन । कफी अनिवार्य रुपमा छहारी चाहिने बाली भएकोले उनको एभोकाडो फर्ममा कफी लगाएका हुन । ब्यवसायिक कृषिमा उनीहरुको एउटा गज्जबको नारा पनि जोडिएको छ त्यो हो “गाँस पनि सास पनि” यो नाराले कृषि ब्यवसाय प्रतिको सुष्म र दीर्घकालीन भाव झल्केको पाईन्छ । कामले जसरी उत्कृष्टताको पहिचान दिन्छ त्यसैगरि नाराले त्यसमा चमकताको काम गर्दछ ।

बिगत ४ बर्ष देखि नै एभोकाडो फर्मको बिस्तारमा लागेका उनीहरु धनकुटा नगरपालिकाको एभोकाडो बिस्तार परियोजनाले यतातर्फ मोडिन निकै ठुलो मद्धत गरेको बताउँछन । ५० लाख भन्दा बढीको लगानी गरिसकेका यो फर्मबाट आम्दानी समेत भित्रिने तरखरमा रहेको छ । यसबाट कृषि पर्यटनमा निकै ठुलो योगदान गर्न सकिने र यही फर्मकै माध्यमबाट धनकुटामा पर्यटकहरु समेत भित्राउने लक्ष्यका साथ उनीहरु एकदमै सकारात्मक र उत्साहजनक रुपमा लागिपरेका छन । श्रेष्ठ दाम्पतिको बिचार र ब्यवसायले अन्य थुप्रै मानिसहरुलाई समेत प्रेरणा मिल्न सक्ने देखिन्छ ।
रोजगारी र सिर्जना:
श्रेष्ठ दाम्पतिले हाल उनीहरुको फर्म तथा होटलमा गरि जम्मा १८ जनालाई रोजगारी दिईरहेका छन । यो ज्यादै महत्वपुर्ण बिषय हो । प्रत्येक दाम्पतिले यो अनुसरण गर्न सकियो भने धनकुटाको भविष्यको लागि कसैलाई गुहार गरिरहन आवश्यक छैन । उनीहरुले कामदारलाई न्युनतम रु. ६ हजार देखि अधिकतम ३० हजार सम्म तलब दिईरहेका छन । कर्मचारीहरुलाई समयअनुकुल ब्यवस्थापन गर्नु उनीहरुको खुवी हो । यति गर्दै नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्वहरु समेत बुझाउदै आईरहेका छन । हामीले बुझ्नैपर्ने बिषय के हो भने यस प्रकारका ब्यवसायहरु नेपालमा अधिक भन्दा अधिक रुपमा हुर्काउने, फुलाउने र फलाउने कार्य गरिनुपर्दछ । यस प्रकारका ब्यवसायहरु फस्टाउन सक्दा ब्यवसायिक ब्यक्तिहरु मात्रै होईन, स्थानीय तह, सरकार र स्थानीय जनता समेत लाभान्वित हुने गर्दछ । भन्ने बिषयमा हामीहरु ज्यादै गम्भिर हुनुपर्दछ ।
सबैभन्दा गज्जबको कुरा के छ भने श्रेष्ठ दाम्पतिले १८ बर्षको ब्यवसायिक दौरानमा ३६० जना भन्दा बढीलाई काम दिदै तालिम दिदै गरेका रहेछन । सौभाग्य आज ति ब्यक्तिहरु उनीहरु संग छैनन । तर उनीहरुको जीवनमा भने एकदमै महत्वपुर्ण परिवर्तन भएको छ । यो सुन्दा ज्यादै गर्व अनि खुशी लाग्ने बताँउछन श्रेष्ठ दाम्पति । ति मध्ये धेरैजना रोजगारीको सिलसिलामा बिदेशमा रहेका छन । केहीले स्वादेशमै आफैले ब्यवसाय संचालन गरेर बसेका छन । यसैगरि कतिले दक्ष कामदार भएर अरु होटल तथा फर्महरुमा काम गरिरहेका छन । यसैले श्रेष्ठ दाम्पति रोजगारदाता मात्रै नभएर सीपदाता समेत हुन । उनीहरु ३६० जनालाई १८ बर्ष लगाई तालिम दिईरहदा धेरै बिषयमा आफु पोख्त हुदै पनि गए । उनीहरु अहिले कामदारलाई कसरी सजिलो पाराले सिकाउने भन्ने बिषयमा ज्यादै नै पोख्त बनेका छन । कामदारलाई केही दिनमै दक्ष बनाउने आईडिय उनहरुले बिकास गरेका छन । यो नै उनीहरुको १८ बर्षको सबैभन्दा ठुलो र बिशिष्टिकृत सफलता हो ।

श्रेष्ठ दाम्पति र नयाँपन:
अक्सर बर्गर, पिज्जा, मःम, चाउमिन, ससेज जस्ता खानेकुराहरु कमन भईसकेका छन हिजोआज । तैपनि धनकुटामा कन्टिनेन्टल खानेकुराहरु पाईन्दैनन । यसको कुकहरु र ग्राहकको उपलब्धता नभएका कारण यसो भएको हो । तर श्रेष्ठ दाम्पतिले संचालन गरिरहेको चीफ एण्ड बेष्ट होटलमा बिदेशी खानेकुराहरु देखि लिएर नेपालमै पाईने ईन्ग्रिडेन्स वा कच्चा पदार्थबाट बिभिन्न खानेकुराहरु पस्कने गरेका छन । खानेकुरा आफैमा फुड साईन्स हो । यसमा सेफ तथा कुकहरु निरन्तर रुपमा नयाँपन दिनका लागि खटिरहन पर्दछ । धनकुटामा एकमात्रै होटलमा स्वयं श्रेष्ठ दाम्पति खटेर खानेकुरामा नयाँपन दिने कामहरु गरिरहेका छन । जस्तै उनीहरुले ब्रेकफास्ट पस्काउँदा फलफुल, अण्डा, चना, ब्रेड लगायतका भेराईटी प्रदान गरेर समेत ग्राहकहरुको रोजाईमा नयाँपन दिने गरेका छन ।
भरखरै धनकुटा नगरपालिकाको आयोजना र चिफ एण्ड बेष्ट होटलको सीपलाई प्रयोग गरिएको एभोकाडोबाट बन्न सक्ने बिभिन्न परिकार बनाउने सिलसिलामा उनीहरुले ब्रेड संग एभोकाडो, अण्डा संग एभोकाडो, सलादको रुपमा एभोकाडो, ड्रिंकसंग एभोकाडो, खाजाको रुपमा एभोकाडो, परिकारको रुपमा एभोकाडो पस्काएर एउटा राम्रो उदाहरण प्रस्तुत गरेका छन । यसैगरि एभोकाडोको बिभिन्न परिकार पाउने सेन्टरको रुपमा बिस्तारै चिफ एण्ड बेष्टलाई परिचित गराउने र यसको बारेमा सीप प्रदान गर्ने थलोको रुपमा बिस्तार गर्ने योजनामा समेत श्रेष्ठ दाम्पति लागेका छन । यसले धनकुटा जिल्लालाई अर्को ज्यादै महत्वपुर्ण फाईदा गर्नेछ । धनकुटाले अब एभाकोडो र एभोकाडोबाट बन्ने परिकार समेत सेलिङ गर्नुपर्दछ ।
श्रेष्ठ दाम्पतिको भावी योजना:
१८ बर्षको अनवरत ब्यवसायिक जीवनमा रमाएका श्रेष्ठ दाम्पतिले आगामी दिनमा होटल तथा कृषिको माध्यमबाट धनकुटा जिल्लामा धेरै भन्दा धेरै पर्यटकहरु भित्राउने लक्ष्य राखेका छन । यो धनकुटाका लागि ज्यादै महत्वको बिषय हो । एउटा होटलले धेरै पर्यटकहरु भित्राउन सक्छ । होटलको बारेमा सामाजिक नकारात्मक धारणामा परिवर्तन आउनुपर्ने देखिन्छ । भाँडा मोल्ने ब्यवसाय जस्ता नकारात्मक ब्याख्या बिश्लेषण भएको होटल ब्यवसायप्रति हामी सकारात्मक बनौ । आज संसारले प्रगति र उन्नती गर्नुमा र कुनै पनि मुलुकको आर्थिक संमृद्धिमा होटल ब्यवसायकै महत्वपुर्ण योगदान रहेको छ । नेपालमा पनि होटल ब्यवसाय महत्वपुर्ण परिवर्तनका लागि अति आवश्यक ब्यवसाय हो भन्नेमा धारणा बन्दैछ । यसलाई एउटा आर्थिक रुपान्तरणको रुपमा स्थानीय सरकारले नै सर्बप्रथम बुझन आवश्यक रहेको देखिन्छ । यसका साथै प्रदेश सरकार तथा केन्द्र सरकारले होस्टेमा हैसे गरिदिनुपर्ने देखिन्छ ।
धनकुटा जिल्लामा पर्यटकहरुलाई धेरै भन्दा धेरै ल्याउनका लागि सर्बप्रथम होटल ब्यवसायीहरुको ठुलो हात रहन्छ । यो बिषयमा हामीले सोच परिवर्तन गर्न पर्दछ । होटलवालाले पैसा कमाउने न हुन भन्ने नकारात्मक बिषयमा बहस नगरौ । यसैले श्रेष्ठ दाम्पतिहरु जस्तै होटल ब्यवसाय तथा नयाँपन ल्याउन सक्ने रेष्टुरेण्ट ब्यावसायमा लागेका ब्यक्तिहरुलाई सकभर स्थानीय सरकारले तिव्रगतिमा प्रबर्धन गर्नका लागि हार्दिक पहल गरौ । धनकुटाको बिकास, पर्यटकको आगमन, होटल ब्यवसायको प्रबर्धन नै हो । श्रेष्ठ दाम्पतिको सपनालाई पुरा गर्न हामी सबैले होस्टेमा हैसे गरौ, जय धनकुटा ।


(नोट: कृषि पर्यटन अभियन्ता तथा लेखक जीवनप्रसाद राई धनकुटा खबरका नियमित स्तम्भकार हुन ।- सम्पादक)


