धनकुटामा समेत घरमा नाग टाँसेर नाग पञ्चमी पर्व मनाईदै

धनकुटा, १७ साउन । आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी पर्व घरघरमा नाग बस्ने तलाउ नाग आकृती भएका ढुंगामा नाग टासेर तथा नाग देवताको पुजा गरेर धनकुटामा समेत मनाइएको छ ।

विशेष गरी सनातन धर्मावलम्बीहरुले नागमञ्चमी पर्व परम्पराअनुसार घरका मुल ढोकामा नागको चित्र टाँसेर पूजाअर्चना गरी मनाउने गर्दछन् ।आजको दिन नागको पुजा गर्नाले नाग देवता खुशी हुने विस्वास रहेकाले पुरोहितद्धारा घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, अक्षता, धुपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ ।

यो दिनलाई वर्षायाम समाप्त भइ हिउँद सुरु भएको विश्वस पनि गरिन्छ ।

मिथिलामा सुरु भयो ‘राखी’ पर्वको रौनक
– गोपालप्राद बराल/महोत्तरी, १७ साउन (रासस)ः मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएपछि थुप्रै चाडबाडको लहरो लाग्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै साउन शुक्लपक्षसँगै हुन्छ । वर्षको प्रारम्भसँगै अर्थात् साउन शुक्लपक्षसँगै चाडपर्व बाक्ँिलदै जान्छन् । मिथिलामा साउन शुक्लपक्षभित्रै मधुश्रावणी पर्व समापन, झुलनोत्सव, नागपञ्चमी पर्व पर्दछन् । यी पर्वसँगै साउन शुक्लपक्षमा खास रौनक भने ‘राखी’ पर्वको देखिन्छ । अहिले साउन शुक्लपक्षको करिब मध्यतिर आइपुग्दा महोत्तरी सहितका मिथिला क्षेत्रमा ‘राखी’ (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । साउन पूर्णिका दिन मनाइने यो पर्वको तयारीका लागि मिथिला क्षेत्रमा अहिले रमझम बढेको छ । यही साउन २७ गते शुक्रबार ‘राखी’ पर्व मनाइँदैछ ।

अहिलेदेखि फुटपाथे पसल होऊन् वा पान पसल..! ठूलठूला व्यापारिक प्रतिष्ठान होऊन् कि चलचित्र घर.. ! सबै ठाउँमा दिदीबहिनी र दाजुभाइबीच गाढा प्रेम दर्शाउने गीतका धून लगातार बजिरहेका सुनिन्छन् । चारैतिर पर्वको रमझम र तयारीले सम्पूर्ण मिथिला क्षेत्र अहिले राखीमय देखिनाका साथै जताततै दाजुभाइको सौर्य बखान गरिएका माङ्गलिक गीतको मीठो धून गुञ्जिरहेका छन् । गाउँ–नगर बस्तीमा रङ्गीबिरङ्गी ‘राखी’ (साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइलाई हातमा बाँधिदिने कलात्मक ढङ्गले बनाइएका धागोका डोरा) बेच्न राखिएका छन् । बस्तीमा खासगरी किशोरी र नवयौवना सखी सहेली एकापसमा भेट हुनासाथ गरिने कुराकानी नै ‘राखी’को तयारीसँग सम्बन्धित हुन थालेको छ ।

“दाजुभाइ को कता छन् ? उनीहरुको खोजी गर्नु र आफ्ना दाजुभाइका नाडीमा सुहाउने राखी खोज्नु अहिलेको तयारी हो”, जलेश्वर नगरपालिका–२ की साधना वर्मा बताउनुहुन्छ । मैथिल दिदीबहिनीले पर्वका लागि टाढाटाढा रहेका दाजुभाइलाई फोन गरेर सम्झँदै राखीको निम्ता धमाधम गर्दैछन् । अविवाहित दिदीबहिनीलाई त एउटै घरमा भएपछि दाजुभाइलाई निम्ता दिन हतार हुँदैन तर विवाह भएर आफ्नो घरजममा लागेका दिदीबहिनी भने साउन शुक्लपक्ष लाग्नासाथ निम्ताको तारतम्यमा लाग्छन् । “मैले त दाजुभाइलाई फोन गरेर निम्ता गरिसकेँ”, महोत्तरीकै भङ्गाहा–४ रामनगर घर भएकी आजादी कुशवाहा भन्नुहुन्छ, “सबै दाजुभाइ मेरै घर आउने टुङ्गो भयो ।” बर्दिबास नगरपालिका–१२ बिजलपुरा माइती भएकी कुशवाहा दाजुभाइको स्वागतको तयारीमा अहिले नै लाग्न थाल्नुभएको छ ।

त्यसैगरी अविवाहित चेली पनि काम विशेषले घरबाहिर रहेका दाजुभाइलाई सम्झँदै पूर्णिमाका दिन राखी बाँध्न आउने निम्ता दिन तल्लीन छन् । साउन शुक्लपक्ष सुरु भएयता दाजुभाइप्रति देखाइने चासो र पर्वको पूर्वतयारीले १५ दिन बितेको थाहै नपाइने मैथिल दिदीबहिनी बताउँछन् । पर्वको मुख्य दिन आउन अझै नौ÷१० दिन बाँकी छँदै अहिले सिङ्गो मिथिला क्षेत्र नै पर्वको तयारीमा छ । दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व मिथिलाकोे महान् सांस्कृतिक पर्व भएको स्थानीय लोकसंस्कृतिका ज्ञाता बताउँछन् । साउन शुक्लपक्ष सुरु भएयता बजारहाटमा आ–आफ्ना दाजुभाइलाई बाँधिने राखी छान्न मिथिलानी (मिथिलाका नारी) चेलीहरुको चहलपहल अहिलेदेखि नै बढेको छ । साउन शुक्लपक्ष सुरु भएयता महोत्तरी सहितका मिथिला क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु, चोक चौराहाका सानाठूला पसल र हातहातका मोबाइलमा पनि दाजुभाइ–दिदीबहिनीबीच प्रगाढ माया र सद्भाव दर्शाउने गीत बज्न थालेका छन् ।

यस्ता गीतले आम बटुवालाई समेत द्रवित बनाउने गरेको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका नेपाली साहित्यका सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । चेलीहरु अहिलेदेखि नै राखी बाँधी दिएपछि दाजुभाइलाई ख्वाइने मिष्टान्न परिकारबारे योजना बनाउन थालेका छन् । यसैगरी दाजुभाइ पनि पर्वमा दिदीबहिनीसँग राखी बाँध्ने प्रयोजनका लागि केही दिन पहिलेदेखि नै आ–आफ्नो कामबाट फुर्सत मिलाउन लागेका छन् । घरबाट काम विशेषले टाढाटाढा रहेका दाजुभाइ छुट्टी मिलाएर घर फर्कने तयारीमा रहेका टेलिफोन संवादले चेलीहरु खुसीले दङ्ग देखिन्छन् ।

“भैया दिल्ली स राखी पावैन के लेल ऐवाक् निश्चित भेल” (दाजु राखी पर्वका लागि दिल्लीबाट आउने कुरा निश्चित भयो) बर्दिवास–७ प्रेमनगरकी किशोरी समिता राम भन्नुहुन्छ, “आब राखी के जोगार मे लगैछि’’ (अब राखी किन्ने छु) । पर्व विशेषमा दाजुभाइ, दिदीबहिनी र राखीको कारोबार गर्ने व्यापारीहरु उत्तिकै व्यस्त देखिन्छन् । ग्राहकको रोजाइमा परेका राखीका डिजाइनको माग र त्यसको आपूर्ति अहिले आफ्नो मुख्य ध्येय रहेको व्यापारीहरुको भनाइ छ । पर्वका लागि अब नौ÷१० दिनमात्र बाँकी रहँदा रक्षाबन्धनका विभिन्न डिजाइनको माग र आपूर्तिका कामले एक छिन फुर्सद नभएको सीतापुरबजारमा राखी बिक्री गर्दै आउनुभएका रामप्रताप साह बताउनुहुन्छ ।

अघि सत्य युगमा तीनै लोक (स्वर्ग, मत्र्य र पाताल)को अधिपति रहेका दानवराज वलिलाई उनका बहिनीहरु गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन (रक्षाकवच) बाँधी दिएका र सो युद्धमा वलिको जीत भएको सम्झनामा प्रत्येक वर्षको साउन पूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै ‘राखी’ बाँधी दिने परम्परा बसेको जनविश्वास छ । पर्व विशेषमा यसअघि केही मनोमालिन्य रहे÷भए पनि दिदीबहिनीले निम्ता गरेपछि दाजुभाइ राखी बाँध्न पुग्नाले चेलीहरु र माइती पक्षबीच सम्बन्ध सुधारमा समेत पर्वको विशेष भूमिका हुने जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका कृष्णचन्द्र झा बताउनुहुन्छ ।

पर्व विशेषमा दिदीबहिनी नहुने पुरुष र दाजुभाइ नहुने मिथिलानीहरुले नजिकका नाता खोजेर राखी बाँध्ने, बँधाउने परम्पराले यो सांस्कृतिक पर्वको महत्व झनै उजेलिएको आम मिथिलावासी बताउँछन् । पर्वमा दाजुभाइलाई भेट हुन नसक्ने भए खाममा ‘राखी’ राखेर हुलाकमार्फत पठाउने पुरानो चलन अझै देखिँदैछ । यस पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट मन्त्रित डोरा यजमानलाई बाँधी दिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको देखिन्छ ।

विगतमा मिथिला क्षेत्रका रैथाने बासिन्दामा मात्र प्रचलनमा रहेको यो पर्व आपसी सांस्कृतिक घुलमिलले अब हिन्दू धर्मावलम्बी पर्वते समुदाय मात्र नभई इस्लाम धर्मावलम्बीभित्र पनि बाक्लै प्रचलनमा आएको छ । पर्वते समुदायका चेली र इस्लाम धर्मावलम्बी दिदीबहिनी पनि आपूmले दाजुभाइ मानेकाहरुलाई राखी बाँधी दिन पर्वको तयारीमा छन् ।यो पर्व हिन्दू धर्मावलम्बीले मन्दै आए पनि पछिल्ला दिनहरुमा समाजमा हुने देखासिकी र पर्वको रमाइलो तथा आत्मीय पक्षको आकर्षणले जिल्लाका इस्लाम धर्मावलम्बीले हिन्दू दिदी–भाइको नाता लगाएर राखी बाँध्ने प्रचलन बढ्दै जानाले यो पर्व अब मिथिलाक्षेत्रको साझा पर्व बनेको रामगोपालपुर नगरपालिकाको बिसबिट्टी बस्तीका इस्लाम धर्मावलम्बी कादिर हुसैन बताउनुहुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।