भाइरल ज्वरोले स्वास्थ्यकर्मीसमेत बिरामी

खोटाङ, १ भदौ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । हप्ता दिनयता अधिक ज्वरो आउने, टाउको, जोर्नी, घाँटी दुख्ने, शरीर थाक्ने र गल्ने लगायतका लक्षण देखिने बिरामीको चाप बढेको हो ।

जिल्ला अस्पतालको ओपिडी (बहिरङ्ग) सेवामा दैनिक एक सय ५० को हाराहारीमा बिरामी उपचारमा आउने गरेको डा पुष्कल राईले बताउनुभयो । “जाँचमा आएकामध्ये ५० देखि ६० प्रतिशत बिरामीलाई कोरोना भाइरसको लक्षण देखिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई आवश्यक औषधि दिएर कम्तीमा १० दिनसम्म होम आइसोलेशनमा बस्नुस् भनेर उनीहरुको आ–आफ्नै घर पठाउने गरेका छौँ ।”

कोभिड–१९ को लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिने समस्याबाट स्वास्थ्यकर्मीसमेत बिरामी पर्न थालेपछि उपचारमा आएका अन्य बिरामी मारमा परेका छन् । जिल्ला अस्पतालका ५८ स्वास्थ्यकर्मीमध्ये १४ स्वास्थ्यकर्मी बिरामी परेको जिल्ला अस्पतालका प्रशासन प्रमुख रविन फुयाँलले जानकारी दिनुभयो ।

सेवा प्रवाहलाई निरन्तरता दिन कतिपय स्वास्थ्यकर्मी औषधि सेवन गर्दै बिरामीको उपचारमा खटिइरहेका छन् । जिल्लामा कोभिड–१९ को लक्षण देखिने भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्न थालेपछि त्रास बढेको छ ।

दस स्थानीय तह रहेको जिल्लामा यसअघि सञ्चालन गरिएका कोभिड अस्पताल अहिले निष्क्रिय छन् । कोरोना सङ्क्रमण बढ्दै गएपछि निष्क्रिय अस्पताल पुनः सञ्चालनमा ल्याउन आवश्यक सामग्री जुटाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन एवम् रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थलमा अनिवार्य मास्क र स्यानिटाइजर प्रयोग गर्न प्रशासनले आग्रह गरेको हो ।

विमानस्थलमा मास्कको प्रयोगलाई अनिवार्य गर्न, सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सेवा लिन आउँदा मास्कको प्रयोगलाई अनिवार्य गर्न आग्रह गरिएको छ । सेवा प्रदायक कार्यालयको प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था मिलाउन र हवाई लगायतका सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य गर्ने तथा स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था मिलाउन तथा विद्यालय, विश्वविद्यालय, धार्मिकस्थल, भीडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशाला आदि सार्वजनिक स्थानमा मास्क लगाउन प्रेरित गर्न सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार जिल्लामा यसअघिसम्म तीन हजार पाँच सय दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लामा हालसम्म १५ जनाको ज्यान गइसकेको छ । त्यस्तै, हालसम्म एक लाख सात हजार ४२ ले पूर्ण र एक लाख २१ हजार चार सय ३० ले पहिलो मात्रा खोप लगाएका छन् । जिल्लामा एक थान भेन्टिलेटर, सातवटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिक्देलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण दर वृद्धि हुँदै गएपछि जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्टसमेत सञ्चालनमा ल्याइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले बताउनुभएको छ । प्रदेश सरकार, १ नं प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा स्थापना गरिएको अक्सिजन प्लान्ट गत सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖