बाटो बिग्रिँदा यात्रुलाई सास्ती

धनकुटा, २३ भदौ । पूर्वकै पर्यटकीय नगरी सागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् ।

विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आउनुभएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्यापार गर्न कठिन भएको बताउनुभयो । तीन वर्षयता बर्खाको समयमा बाटो बिग्रिएर सहजरुपमा यातायात चल्न नसक्दा बाटैमा तरकारी कुहिएर जाने गरेको उहाँले बताउनुभयो ।

“पछिल्लो समयमा बाटो सहज थियो । तीन वर्षयता बिग्रिएर खत्तम भएको छ ।” थापाले भन्नुभयो । माघदेखि ठेकेदारले काम छाडेपछि सडक झन बिग्रिएको छ । यात्रुलाई समस्या भएको छ । छोराछोरी पढाउन बुधबारे बजार बस्नुभएकी सोही गाउँपालिका–१ शौरेकी ४१ वर्षीया दिलमाया मगरले गाडी नचल्दा आफू दुई दिनदेखि जान नपाएको गुनासो गर्नुभयो । “यात्रा गर्न मुश्किल भएको छ”, उहाँले भन्नुभयो ।

पाँचथर र धनकुटाको सिमानामा रहेको ६ नं बुधबारे बजारमा लामो समयदेखि होटल व्यवसाय गरेर आउनुभएका सुमन श्रेष्ठले सडकका कारण तीन वर्षयता व्यापारमा मन्दी आएको बताउनुभयो । तेलको ट्याङ्कर आउन नसक्दा पाँचथर, धनकुटा हुँदै सुनसरी, मोरङ र झापाका लागि गुड्ने सवारीसाधन थन्किएका छन् । उक्त बजारको एक मात्र पेट्रोल पम्प बन्द छ ।

तीन वर्षयता बर्खाको समयमा पेट्रोलपम्प बन्द हुँदै आएको सञ्चालक सुभन आचार्यले जानकारी दिनुभयो । अहिले पाँच महिनादेखि पम्प बन्द हुँदा मासिक रु ६० हजारभन्दा बढी घाटा लागेको धरानका अर्का सञ्चालक चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बर्खाको समयमा सडक बिग्रिएर यातायात राम्ररी सञ्चालन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषिउपज बजार लैजान समस्या भएको मिक्लाजुङ गाउँपालिका–७ कम्फुटारका अशोक लामाले बताउनुभयो । सडक निर्माण सुरु भएपछि उत्पन्न समस्या समधान गर्न पाँचथर र धनकुटाका स्थानीय जनप्रतिनिधिको एउटा समिति बनेको थियो । उक्त समिति हाल निष्क्रिय भएको चौबिसे गाउँपालिकाका पूर्वअध्यक्ष खजिन्द्र राईले बताउनुभयो ।

धनकुटा, सुनसरी र मोरङको चुरे क्षेत्र हुँदै गएको उक्त राजमार्गले भेडेटारबाट बुधबारे बजारसम्मको ४४ किमी सडक सबैभन्दा बढी बिग्रिएको छ । यस क्षेत्रमा रहेका नाम्जे, ओख्रे, ध्वजे डाँडा, राजारानी ताल, धप्पडताल, पाथीभरा मन्दिर, मोरङको जेफाले, पाँचथरको मिक्लाजुङ डाँडा पर्यटकीय क्षेत्र र सडकले छोएका साना सहर र गाउँ प्रभावित छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।