संकटमा लालुपाते सहकारी, हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न आह्वान

खोटाङ, २३ भदौ । बचत अपचलनका कारण जोखिममा परेको खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले ऋणीलाई हप्ता दिनभित्र कर्जा भुक्तानी गर्न भनेको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै सञ्चालक समितिले सार्वजनिक सूचनामार्फत ऋणीलाई हप्ता दिनभित्र साँवा, व्याज र हर्जना रकम चुक्ता गर्न आह्वान गरेको हो ।

हप्ता दिनभित्र ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल सम्पत्तीबाट कर्जा असुल उपर गर्नेदेखि सहकारी ऐन २०७४ बमोजिम सम्बन्धित् सबैको नाम ठेगाना सार्वजनिक गर्ने चेतावनी दिइएको छ । मौखिकबाहेक १५ दिने र ७ दिने पत्र पठाएर ताकेता गर्दा तथा राष्ट्रिय दैनिकमा ३५ दिने सूचना निकाल्दा समेत कर्जा चुक्ता गर्न बेवास्ता गरेकाले कडाई गर्नुपरेको सहकारीले २१ भदौमा जारी गरेको सूचनामा उल्लेख छ ।

वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नाराका साथ १० मंसिर २०७२ देखि कारोबार सुरु गरेको सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजना लगानीकर्ताले ४५ लाखसम्म बचत गरेका छन् । तर, सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो ।

जोशीको कोभिड–१९ को संक्रमणका कारण १५ वैसाख २०७८ मा पोखरामा निधन भएको थियो । उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिर आएको हो । थोपाथोपा गरेर जम्मा गरेको बचत डुबेको भन्दै बचतकर्ता छटपटिमा छन् । बचत फिर्ताका लागि बचतकर्ता दैनिकजसो सहकारीको ढोका ढककाउन पुग्ने गरेका छन् ।

जोशीको निधनपछि १६ वैसाख २०७८ देखि सहकारीको आर्थिक कारोबार ठप्प छ । हाल आक्रोशित बचतकर्तालाई निमित्त व्यवस्थापक सुमिना राईले ‘बचत फिर्ता गरिदिने’ भन्दै सम्झाई बुझाई फर्काउने गरेका छन् । सहकारीको नाममा खरिद गरिएको जग्गा समेत परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । तत्कालीन व्यवस्थापक रुकु जोशीको नाममा हलेसी र बाम्राङमा रहेको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारीका सदस्य तुलसीराम आचार्यले बताए ।

बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रक्रियाअघि बढाएको थियो । ऋण असुल गर्नका लागि ऋणीलाई ३५ दिने, १५ दिने र ७ दिने पत्र पठाएर ताकेता गर्दा केही बाहेक अधिकांश ऋणीले ऋण भुक्तान गर्न नआएको सहकारीले जनाएको छ ।

सहकारीको ७४ जना ऋणी छन् । उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई साँवाव्याजसहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ । तर, अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन देखिएको छ । सहकारीबाट भएका ऋण लगानी उठाउन सके बचतकर्तालाई बचत फिर्ता दिएर केही रकम बच्ने अवस्था छ । चल अचल सम्पत्ती हेर्दा सहकारी डुबेको नभै संकटमा फसेको सञ्चालक समिति सदस्य आचार्यले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।