धनकुटामा कोरोनाले सुनसान उद्यानको अवस्थामा अझै आएन सुधार

धनकुटा, ३१ भदौ । कोरोना महामारीसँगै थलिएर सुनसान बनेका जिल्लाको प्रमुख केन्द्र धनकुटा नगपालिकाका एक दर्जन बढी पार्क (उद्यान) को अवस्थामा अझै सुधार आउन सकेको छैन । लाखौँ खर्चेर बनेका ती पार्क अहिले आन्तरिक पर्यटकसमेत नआएर सुनसान बनेका छन् ।

धनकुटा नगरपालिकाको मुख्य पर्यटकीयस्थलका रूपमा रहेको वडा नं ७ को चुलिवन पार्कमा बनेको भ्यूटावर चढ्न फाट्टफुट्ट आन्तरिक पर्यटक आए पनि चहलपहल बढ्न सकेको छैन । विसं २०७५ बाट सो स्थानमा निजी रु ३५ लाख खर्चेर मिनीमेला तथा पार्क सञ्चालन गर्दै आउनुभएका रामकुमार राई र उहाँकी श्रीमती सीमा थापा (राई) अहिले व्यवसायमा घाटा लागेको बताउनुहुन्छ ।

स्थानीय सामुदायिक वनलाई वार्षिक नाफाको २० प्रतिशत रकम दिने शर्तमा रोटेपिङ, बालबालिकाका लागि खेल तथा क्यान्टिन सञ्चालनमा लगानी गर्नुभएका उहाँहरूले वार्षिक रु ५० हजार पनि आम्दानी नहुने बताउनुभयो ।

“घाटैघाटा छ, ऋणको ब्याज तिर्दा–तिर्दा भएको जायजेथासमेत सकिन लाग्यो”, थापाले भन्नुभयो, “पिङ बेचौँभन्दा पनि बिक्दैन, अब के गर्ने होला, तनावमा छौँ ।” आफूहरूले काम सुरु गर्नेबित्तिकै कोरोना सुरु भएकाले आफूहरू ठूलो मर्कामा परेको श्रीमान् राईले चिन्ता व्यक्त गर्नुभयो ।

विसं २०६३ बाट गत वर्षसम्म नगरले रु एक करोड ३६ लाख खर्च गरेको यस स्थानमा मात्र होइन अन्य स्थानका पार्कहरूको अवस्था पनि उस्तै छ । धनकुटा नगरपालिका–१ जौटारमा बनेको वनभोज पार्क कोरोनाको मारसँगै बाटोघाटोको असुविधाका कारण सुनसान रहेको पूर्ववडाध्यक्ष नीरन तामाङले जानकारी दिनुभयो ।

यो पार्क विसं २०७४ मा प्रदेश नं १, जिल्ला वन कार्यालय र पाख्रिबास नगरपालिकाको रु १०–१० लाख गरी जम्मा रु ३० लाखको लागतमा निर्माण गरिएको थियो । त्यस्तै सोही वडाको व्यापारिक केन्द्र हिलेबजार नजिक निर्मित पर्यटन मन्त्रालयको रु १० लाख र धनकुटा नगरपालिकाको रु ३८ लाख लागतमा निर्मित बक्रकुड मन्दिर तथा पार्क पनि धार्मिक तिथिबाहेक अन्य समयमा ठप्प छ ।

“पहिला त निकै मान्छे पो आउँथे त, कोरोनापछि ठप्पै पो बन्यो भन्या !”, बक्रकुड पञ्चेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वाले भन्नुभयो । धनकुटा नगपालिका वडा नं ३ कागतेमा प्रदेश सरकारको रु ३० लाख लगानीमा निर्मित बाल उद्यान पनि सुनसानजस्तै छ ।

पार्कहरू सुनसान हुनुमा कोरोनामात्र कारक नभएर नगरको सडक सञ्जाल तथा व्यापारिक गतिविधिमा सुधार नभएर पनि यस क्षेत्रका पर्यटकीय क्षेत्र प्रभावित भएको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । नगर र गाउँ आवतजावत गर्ने सडकको स्तरोन्नति नहुनु, नगरमा निजी लगानीकर्ता आकर्षित हुन नसकेर व्यापार व्यवसायमा मन्दी आएसँगै पर्यटन क्षेत्र पनि प्रभावित भएको घिमिरेको तर्क छ ।

विज्ञहरूको योजना र अनुसन्धानबाट भन्दा पनि जनताका स्वेच्छिक धारणाबाट पर्यटकीय क्षेत्र बनेकाले लगानीअनुसारको प्रतिफल नआएको हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टको भनाइ छ । “काम गर्दा कसैले परामर्श गर्दैनन् । करोडौँ खर्चेर बनेका पर्यटकीय क्षेत्रबाट कुनै आम्दानी छैन”, विष्टले भन्नुभयो ।

नागरिकका माग इन्कार गर्न नसकेर जताततै बनेका पार्क तथा पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र प्रवद्र्धन गर्न कठिनाइ हुँदा समस्या आएको धनकुटा नगपालिकाका प्रवक्ता जमशेर छाराले जानकारी दिनुभयो । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।