मध्यपहाडी लोकमार्ग: सडक बन्यो तर, पुल नबन्दा समस्या

केदार मगर/खोटाङ, १ असोज (रासस) ः मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने विभिन्न खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको छ । पर्यटकीयस्थल चखेवाभञ्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर जोड्ने ४६ किलोमिटर सडक अन्तर्गत करिब ३५ किलोमिटर कालोपत्र भएको छ । उक्त सडकखण्डमा पर्ने खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण नहुँदा नियमित यातायात सञ्चालनमा समस्या भएको हो ।

नेपाल सरकारको करिब रु एक अर्ब लगानीमा छ वर्षअघि कालोपत्र सुरु गरिएको उक्त दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको खोटाङस्थित पङ्खुखोला, मेवाखोला, छेपेखोला र भालुखोलामा पक्की पुल निर्माण भएको छैन ।
कालोपत्रको काम सम्पन्न भइसकेको बाँझेच्यानाँडा–दिक्तेल सडकखण्डमा पर्ने पङ्खुखोला र छेपेखोलामा निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले अहिले अलपत्र अवस्थामा रहेका छन् । सगरमाथा कन्स्ट्रक्शन प्रालिले निर्माणको जिम्मा लिएको उक्त छेपेखोलाको मोटरेबल पक्की पुलका लागि एउटा पिलरमात्र ठड्याएर अलपत्र अवस्थामा छाडिएको देखिएको छ ।
बगुवा माटो (पहिरो झरिरहने) रहेको छेपेखोलामा मोटरेबल पक्की पुल निर्माणगर्न जग खनिएको खाल्डोका कारण माथिल्लो भागबाट निरन्तर पहिरो झर्दा पटक–पटक यायायात अवरुद्ध हुँदै आएको छ ।

पङ्खुखोलामा निर्माणाधीन पक्की पुल विसं २०७५ असार मसान्तभित्र सम्पन्न गर्नेगरी सिरुवा कन्स्ट्रक्शन प्रालिले विसं २०७२ असोजमा ठेक्का सम्झौता गरेको थियो । १५ मिटर लामो उक्त मोटरेबल पक्की पुलका लागि दुवैपट्टि पिलर ठड्याइए पनि लामो समयदेखि ठेकेदार सम्पर्क विहीन बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

यता, मेवाखोला र भालुखोलामा निर्माण गरिने मोटरेबल पक्की पुलको ठेक्का संझौता भएको लामो समय बितिसके पनि अहिलेसम्म निर्माणको काम सुरु भएको छैन । पक्की पुल नहुदा खोलामाथि बगर बिच्छ्याएर यातायात सञ्चालन गर्दै गरिदै आएको छ ।

ठेकेदारको लापरबाहीले पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्न तथा यातायात सञ्चालनमा समेत समस्या भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताउनुभयो । “पुल निर्माण नहुँदा वडा नं ६ नेर्पा, वडा नंं ८ दोर्पाचिउरीडाँडा र वडा नंं ९ निर्मलीडाँडा तथा छिमेकी जिल्ला भोजपुरका स्थानीय बासिन्दा मर्कामा परेका छन्”, उहाँले भन्नुभयो, “पक्की पुल अभावमा विद्यार्थीहरु जोखिम मोलेर खोला तर्न बाध्य छन् । यसप्रति सम्बन्धित निकायले बेलैमा चासो दिन जरुरी छ ।”

पक्की पुल नहुँदा पटकपटक अवरुद्ध हुँदै आएको दिक्तेल–चखेवाभञ्ज्याङ सडक नियमित सञ्चालनमा ल्याउन शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंको टोली अनुगमनमा पुगेको थियो । प्राविधिकसहित अनुगमनमा छेपेखोला पुगेको टोलीले पटकपटक अवरुद्ध हुँदै आएको सडकलाई तत्काल बाह्रै महिना सञ्चालनमा ल्याउन ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।

दिक्तेल–चखेवा सडकखण्डमा पर्ने खोलाहरुमा चाँडोभन्दा चाँडो पक्की पुल निर्माण सम्बन्धित ठेकेदार कम्पनीलाई आग्रह गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । “पुल निर्माणमा भएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो, “सम्बन्धित ठेकेदार कम्पनी र सडक विभागसँग निरन्तर सम्पर्क भइरहेको छ । ठेकेदार कम्पनीले हिउँद लागेपछि निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ । यदि तोकिएको समयमा पुल निर्माणको काम सम्पन्न नगरे कानुनी कारबाही गर्छौं ।”

छिमेकी जिल्ला भोजपुरसँग जोडिएको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोला लगायतमा भने यसअघि नै पक्की पुल तयार भइसकेको छ । बाँकी चारवटा खोलाहरुमा पक्की पुल नबनेसम्म वर्षातको समयमा नियमित यातायात सञ्चालन हुने अवस्था छैन ।

पाँच खण्डमा विभाजन गरेर विसं २०७२ चैतदेखि दिक्तेल–चखेवाभञ्ज्याङ सडकको विभिन्न खण्डमा कालोपत्र गर्न थालिएको थियो । सेखुवा–दिक्तेल ३६ किलोमिटरमा रमन–गोल्डेन गुड जेभी र चखेवाभञ्ज्याङ–सेखुवा १० किलोमिटर सडकखण्ड भरत–मैनाचुली–सिद्धिसाई जेभीले कालोपत्रको जिम्मा लिएको थियो ।

चखेवाभञ्ज्याङदेखि सेखुवासम्मको १० किलोमिटर तथा पुल निर्माण गर्न बाँकी ठाउँको सडक कालोपत्र भएको छैन । चखेवाभञ्ज्याङदेखि सेखुवासम्म कालोपत्रका लागि सडक फराकिलो पार्ने तथा नाली र पर्खाल लगाउने काम सम्पन्न भए पनि चिसो मौसमका कारण कालोपत्र गर्न नसकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।