ओझेलमा प¥यो भोजपुरको पर्यटन

युवराज विष्ट/भोजपुर, २ असोज । दर्जनौँ ऐतिहासिक धरोहर रहेको जिल्लाको पर्यटन क्षेत्र ओझेलमा परेको छ । यहाँ ऐतिहासिक महत्व बोकेका धेरै सम्पदा भए पनि पनि ती क्षेत्र गुमनाम छन् । सतीप्रथाको अन्त्यका लागि आन्दोलनदेखि जनस्तरबाट स्थापित पाठशाला यही जिल्लामा छ । तत्कालीन समयमा डोली पैसा छापिएको टक्सार बजार यही जिल्लामा छ भने शिक्षाको ज्योति छर्ने बालागुरु षडानन्द र क्रान्तियोदा योगमायाले योगदान गरेको भूमि पनि यही पर्छ तर ती ऐतिहासिक, पर्यटकीय, धार्मिक गन्तव्य धेरै भए पनि ओझेलमा परेका छन् ।

यहाँ ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकामा रहेको हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी दुवै स्थान अहिले ओझेलमा परेका छन् । कतिपय ऐतिहासिक धरोहर स्थानीयस्तरबाट संरक्षण गरिए पनि देशविदेशमा चिनाउन नसक्दा यहाँ बाह्य पर्यटकको आवागमन कमै छ ।

योगमायाको तपोभूमि मझुवाबेंसी, भोजपुरको शिरमा रहेको प्रसिद्ध सिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल पनि छन् । धेरैजसो स्थानीयवासीलाई यी धार्मिकस्थलकाबारेमा समेत कम जानकारी छ ।

त्यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्के डाँडा, मैयुङ डाँडालगायत स्थान जिल्लामा चर्चित छन् । बसाइँसराइ दर बढी भएका कारण यहाँको जनघनत्व कम भएसँगै यस्ता स्थलको विकासमा प्रत्यक्ष असर पुग्ने स्थानीय जानकारको भनाइ छ ।

भोजपुुरको टेम्केमैयुङ– ५ का लाक्पा शेर्पा भन्नुहुन्छ, “हाम्रो ठाउँमा अन्य ठाउँको तुलनामा धेरै पर्यटकीय तथा धार्मिक क्षेत्र छन् । त्यस्ता ठाउँको स्थानीय तह तथा केन्द्र र प्रदेश सरकारले केही न केही लगानी गरे पनि सहरी क्षेत्रको तुलनामा कमै मात्र लगानी भएकाले यी ठाउँको विकासमा असर पुगेको देख्छु । लाखौँ लगानी गरेर पार्क बनाइए पनि मानिसको आवतजावत नहुँदा संरक्षणविहीन देखिन्छ ।”

पर्यटकको प्रचुर सम्भावना भए पनि सहरीकरणको विकास नभएसम्म आन्तरिक तथा बाह्य पर्यटक सोचेजस्तोरुपमा नआउने उहाँको भनाइ छ । विशेष अवसरबाहेक कमै मात्रमा आन्तरिक तथा बाहिर जिल्लाबाट मानिस गुमफिरका लागि आउने शेर्पा बताउनुहुन्छ ।

पर्यटकीय क्षेत्र आसपास भएका मानिस पर्यटक लक्षित व्यवसाय सञ्चालन गरेर बस्नाको साटो सुविधाको खोजीमा सहर पस्ने चलनले पनि यो क्षेत्रमा असर पुग्ने गरेको उहाँको भनाइ छ ।

शेर्पा भन्नुहुन्छ, “सरकारले जिल्लामा नै बस्नसक्ने वातावरण सिर्जना गर्न आवश्यक छ । अहिले हाम्रो जिल्लामा स्वास्थ्य, शिक्षा, खानेपानीको अभावका साथै बाँदर आतङ्कका कारण जिल्ला बाहिर बसाइँसराइ गरेर जानुपर्ने बाध्यता छ । बसाइँसराइ रोक्नका लागि जनतामा आधारभूत आवश्यता पूर्ति गर्न सरकारले ध्यान नदिए मानिसको चाप घटदै गएर गाउँ नै खाली हुने अवस्था छ ।”

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कूल जनसङ्ख्याको ३३ दशमलव ९२ प्रतिशत मानिस मात्र ग्रामीण क्षेत्रमा बसोबास गर्दछन् भने ६६ दशमलव ०८ प्रतिशत मानिस सहरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । उक्त तथ्याङ्कले ग्रामीण भेगमा मानिसको सङ्ख्या बर्सेनि घटिरहेको छ । प्रायजसो बस्ती सहरी क्षेत्र र तराईका जिल्लामा बढी विस्तार भएको देखिन्छ । यसैकारण पहाडी जिल्लामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रमा मानिसको बसोबास कम रहेकाले बजार विस्तारमा समस्या छ ।

विसं २०६८ को जनगणनाअनुसार भोजपुरको कूल जनसङ्ख्या एक लाख ८२ हजार चार सय ५९ थियो तर विसं २०७८ को जनजणनामा यहाँको जनसङ्ख्या घटेर एक लाख ५८ हजार नौ सय ९१ छ । दश वर्षमा यहाँको जनसङ्ख्या बढ्नाको साटो २३ हजार चार सय ६८ ले घटेको छ । जिल्लाको जनसङ्ख्या वृद्धिदर वार्षिक एक दशलव ३२ ले ऋणात्मक देखिएको छ ।

प्रचार प्रसारको अभाव तथा आवश्यक पूर्वाधार विकास नहुँदा यहाँका पर्यटकीय क्षेत्रमा पर्यटक नआउने गरेको समाजसेवी अजय राईको भनाइ छ । “यहाँ दर्जनौँ पर्यटकीय तथा धार्मिक क्षेत्र छन्”, उहाँ भन्नुहुन्छ, “पर्यटकीय क्षेत्रको तुलनामा घुम्न आउने मानिसको सङ्ख्या ज्यादै न्यून छ । काम विशेषले केही बाहिरबाट आए पनि यहाँको पर्यटकीय क्षेत्र नै हेर्न आउनेको सङ्ख्या कम छ । हामीले प्रचारप्रसारमा ध्यान दिनु आवश्यक छ ।”

यहाँको मुन्दुम पदमार्ग पछिल्लो समय व्यवस्थित गरिए पनि आशा गरेअनुसारको अनुपातमा पर्यटक आउन नसकेको समाजसेवी राईको भनाइ छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटका मनोरमदृश्य अवलोकन गर्दै यात्रा गर्न सकिने पदमार्ग पनि कारोनाका कारण बाह्य पर्यटक आउन समस्या भएको उहाँ जोड दिनुहुन्छ ।

उकालो–ओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी हिमशृङ्खला देख्न सकिन्छ ।

त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरुको संस्कार, पौराणिक संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसे मैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ ।

यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने प्राङ्गारिक खानेकुरा, विभिन्न किसिमका वनस्पति, जडीबुटीलगायतको स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थानका रुपमा यसले चिनारी बनाए पनि पर्यटकलाई यस्ता ठाउँको विषयमा कमै मात्रामा जानकारी हुँदा पनि आवगमन कम हुँदै आएको स्थानीय जानकारको भनाइ छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।