भोजपुरमा वर्षात्का कारण अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातायात सेवा बन्द

भोजपुर, १४ असोज । यहाँका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दसैँ मान्न आउने मानिससँगै स्थानीयवासीलाई सास्ती भएको छ । चाडवाड मान्नका लागि भित्रिने मानिसको चाप बढे पनि गाउँगाउँसम्म पुग्न भने समस्या भएको हो । सडकका कारण स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत समस्या छ ।

वर्षात्का कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातायात सेवा बन्द छ । खास गरेर दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिकामा सदरमुकामसम्मको यातायात सेवा सञ्चालनमा समस्या भएको छ ।

त्यस्तै उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकासँगको यातायात सञ्चालनमा पनि समस्या छ । सडक हिलाम्य भएपछि स्थानीय कृषकले उत्पादन गरेका कृषिउपजसँगै खाद्यान्न ढुवानीमा समस्या छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीय नागरिकको माग छ । स्थानीय तहले बिग्रिएको ठाउँमा मात्र मर्मत गरिदिए मात्रै पनि यातायात सञ्चालनमा सहजता हुने स्थानीय बताउँछन् ।

सडक हिलाम्य भएर यातायात सञ्चालनमा समस्या भएपछि दसैँ मान्न देशविदेशबाट आएकालाई गन्तव्यसम्म पुग्न नै समस्या छ । सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामी तथा प्राकृतिक प्रकोपका कारण कुनै पनि विपत् आएमा भने निकै ठूलो समस्या हुने स्थानीयको भनाइ छ ।

कतिपय ठाउँमा सडक ग्राभेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा त्यस्ता स्थानमा पनि समस्या भएको छ । गाउँपालिकामा विभिन्न कामका लागि मानिसको आवतजावत बढे पनि सडक सञ्चालनमा भने समस्या छ ।

भोजपुर सदरमुकामबाट कोट हुँदै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायतका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् । दसैँका लागि आवतजावत गर्न कठिनाइ भएको छ । स्थानीय कृषक गणेशप्रसाद राईले भन्नुभयो, “यो पटक हिले दसैँ हुने भयो, सबै सडक हिलाम्य छन्, बजारसम्म जान आउन समस्या छ, स्थानीय तहले केही सडक मर्मत गरे पनि निरन्तरको वर्षात्ले बाटो बिग्रिएको छ ।”

दैनिक उपभोग्य वस्तु ढुवानीका लागि कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका व्यापारी सन्तोष विष्टले जानकारी दिनुभयो । विभिन्न ठाउँमा पहिरो गएको छ भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा अहिले हाम्रो ठाउँमा सडकका कारण समस्या परेको छ, आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।”

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमितरुपमा यातायात सञ्चालनमा रहेको छ । यो सडक पनि करिब पाँच वर्ष अगाडि मात्र कालोपत्र सम्पन्न भएपछि स्थानीयलाई राहत मिलेको हो ।

पश्चिमी क्षेत्रबाट भोजपुर नगरपालिकाकाको बोखिम, शिद्धेश्वर र गुप्तेश्वर तथा टेम्केमैयुङ गाउँपालिकाको सेतीबगर, शिरदली, मेस्पाङ, खोङटाङ, अन्नपूर्णलगायत ठाउँलाई छोएर यो सडक विस्तार भएको छ । एक दिनसम्मको पैदल यात्रा गरेर भोजपुर बजार आउनुपर्ने अवस्था रहेको यस क्षेत्रका मानिस सडकको सुविधा भएपछि आफ्नो क्षेत्रमा उत्पादन भएका कृषिउपज बिक्री गरेर घर फर्कन पाएका छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।