प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा

भूमिराज पिठातोली/बझाङ, १७ असोज । गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिज्नुभयो । पानी पर्दै थियो उहाँहरू राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुग्नुभयो ।

चौकीमा पुग्दा डिउटी सकेर आएकाहरू आ–आफ्नो कोठामा जानुभयो । कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो । कोठाका भित्ताहरु पूरै भिजेर हिलाम्य भएका थिए । ओछ्यान र भुइँ पनि उस्तै । “बिहान गस्ती जाने बेलामा आकाश उज्यालै थियो”, प्रहरी सहायक निरीक्षक पालले भन्नुभयो, “दिउँसो यस्तो पानी पर्ला भन्ने सोचाइ नै भएन । कोठाभित्र त्रिपाल टाँग्न पनि बिर्सिएछु । साँझ त यस्तो हालत ।”

प्रहरी सहायक निरीक्षक पालको कोठामा मात्रै होइन, विमानस्थल सुरक्षाको जिम्मेवारीमा खटिएका सबै प्रहरी कर्मचारीको अवस्था त्यही छ । झरी पर्दा त्रिपाल नलगाउने हो भने कोठाभित्र बस्नै सकिन्न । “प्रचण्ड गर्मीमा पनि तातो जस्ता छानाले शरीरै जलाउने जसरी पोल्छ”, उहाँ भन्नुहुन्छ, “बाध्यताले बस्नै पर्छ ।”

देवल विमानस्थलमा प्रहरी चौकी बसेको दुई दशकभन्दा बढी भइसक्यो । विमानस्थल बन्नुभन्दा अगाडिदेखि नै निर्माणाधीन विमानस्थलको सुरक्षाका लागि जस्ताको भवनमा प्रहरी चौकी बसेको थियो । त्यो भवन न अहिलेसम्म फेरियो न त त्यसको छानो नै । धुजाधुजा भइसकेको भवनमा अहिले पनि प्रहरी सहायक निरीक्षकको टोली त्यही ठाउँमा बसेर शान्ति सुरक्षा दिइरहेको छ ।

विमानस्थलको चौकी मात्रै होइन, अन्य ठाउँमा पनि प्रहरीका भवनहरू नहुँदा प्रहरी एकाइहरू बिचल्लीमा छन् । अहिले कतै भाडामा त कतै सामुदायिक भवनहरूमा राखिएका छन् ।

चौबिसै घण्टा डिउटी गरिरहनुपर्ने जिल्ला अस्पताल अगाडिको प्रहरी पोष्ट लामखुट्टेको घर जस्तै देखिन्छ । वल्लोपल्लो घर तथा अस्पतालको फोहोर जलाउने ठाउँ त्यतै भएको हुँदा लामखुट्टेले एकै ठाउँमा उभिन दिँदैन । डिउटीमा बसेका एक प्रहरी जवानले भन्नुभयो, “पोष्टभित्र बस्दा सिधै झुलभित्र छिनुपर्छ । बाहिर एकै ठाउँमा उभिए माहुरीको गोलोमा आएजस्तै लामखुट्टे आउँछन् ।”

उहाँले सडक छेउमा सवारी जाँजका लागि रोक्नुपर्ने हुँदा पनि बढी लामखुट्टे आउने गरेको बताउनुभयो । “गाडी जाँच गर्दा पनि धुवाँ थुप्रिन्छ । दिनमा दर्जनौँ सवारी जाँज गर्दा अन्य ठाउँको भन्दा बढी लामखुट्टे बढ्न थालेका हुन्”, उहाँले भन्नुभयो ।

अस्पताल अगाडिको पोष्टमा चुहिने अवस्था पनि उस्तै छ । पुरानो भइसकेको जस्तापाताबाट रङ गइसकेको छ । “पानी पर्दा २० प्रतिशत जति भित्रै आउँछ,” उहाँले भन्नुभयो, “डिउटी त गर्नैप¥यो ।”

छविसपाथिभेरा गाउँपालिकामा प्रहरी चौकी लामो समय विद्यालयको भवनमा थियो । शान्ति मावि चौघानपाटाले भवन दिएपछि चौकी बसेको हो । अहिले भने स्थानीयवासीले शान्ति सुरक्षाका लागि जमिन उपलब्ध गराएपछि बगडगाउँमा प्रहरी चौकीको भवन बनेको छ ।

बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार अहिले जिल्लामा २९ वटा प्रहरी युनिट छन् भने नौ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । तर, अहिलेसम्म चार ठाउँमा मात्रै प्रहरीका आफ्नै भवनहरू छन् । “जिल्ला प्रहरी कार्यालय, बुङ्गल नगरपालिका, तलकोटको मेलबिसौना र छविसपाथिभेराको बगडगाउँबाहेक अन्य ठाउँमा आफ्नै भवनहरू छैनन्”, उहाँले भन्नुभयो, “प्रहरी युनिट तथा अस्थायी प्रहरी पोष्टका लागि जमिन पनि खोजिरहेका छौँ ।”

उहाँका अनुसार प्रहरी चौकी बस्न कम्तिमा पाँच रोपनी जमिन चाहिन्छ । “प्रहरीको आफ्नै भवनका लागि पाँच रोपनी जमिन चाहिन्छ । त्यो पनि नम्बरी, खुला ठाउँमा”, उहाँले भन्नुभयो, “हामीले सबै ठाउँमा जग्गाको खोजी गरिरहेका छौँ । जता भेटिन्छ, त्यो जमिन किन्छौँ र प्रहरीको भवन निर्माण गर्छौं ।” उहाँले जिल्लामा अहिलेसम्म खोजेजस्तो जग्गा नपाएकाले प्रहरी चौकी निर्माणमा ढिलाइ भएको बताउनुभयो ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।