उत्तरपानी काण्डमा समाज गम्भिर दोषी
जीवनप्रसाद राई । नेपालमा पछिल्लो समय समाजमा जघन्य घट्नाहरु हुदै गरेको देखिन्छ तर यी घट्नाहरुमा हाम्रो समाज पुरै बेखवर जस्तो गरेर पन्छिएर बसिरहेको देखिन्छ । मानौ समाजमा जुन घट्ना जस्को घरमा घटेको छ त्यो उसको नितान्त ब्यक्तिगत नीजि जस्तो भईरहेको छ ।
धनकुटा जिल्लाको उत्तरपानीमा भएको २०७९ असोज २१ गते भएको बुवाले छोरालाई मा’रेको घट्ना समाजले चाहेको भए रोक्न तथा सुधार गर्न सकिने खालको थियो । ५४ बर्षिय उपेन्द्र ठाडामगर बुवाले ३० बर्षिय छोरा सन्तोष ठाडामगरको जुन रुपमा ह’त्या गरेका छन, यसबाट मुख्यतः ३ वटा प्रश्नहरु उठेका छन । ती हुन के समाज र मुलुकलाई रुपान्तरण गर्न चाहने राजनीतिक दलहरुको जिम्मेवारी छैन, हुदैन ? दोस्रो समाज के का लागि बनेको ? र तेस्रो अनि समाजमा रहेको यी नागरिकहरुको आपत बिपत नीजि मामिला मात्रै हो ? यसै परिवेशमा यो लेखलाई पस्कन खोजिएको छ ।
घट्नाको यथार्थता र गम्भिरता:
यहाँ पिडित र पिडक दुवै एकै परिवारका बावु छोरा छन । यो घट्ना घट्नेवाला नै थियो किनकी मृ’तक छोराले धेरै बर्ष पहिला देखि नै बुवालाई सताउदै आएको रहेछ । आफ्ना छोराका लागि अनेकौ उपायहरु समेत अपनाएको देखिन्छ । छोरालाई बिदेश पठाउने देखि आफुसंग भएको श्रीसम्पत्ति समेत सकाउने सम्मको कार्य गरेको देखिन्छ । छिमेकीहरुका भनाई अनुसार बुवाछोराको बिगत ५ बर्ष देखि बोलचाल नभएको देखिन्छ । अन्तिममा छोराले नै बुवालाई मा’र्ने खालको अवस्था घट्ना र परिघट्ना भएको देखिन्छ । कि छोरा कि बुवा मा’रिनुपर्ने अवस्था सिर्जना भयो तर यसको कुनै उपाय नै नभएको बिषय र मा’र्नै पर्ने खालको थिएन यसलाई रोक्न सकिने र त्यसको पहिला नै बिकल्प खोजिनुपर्ने थियो ।
यो बिषयमा स्थानीय, छरछिमेक सबैलाई थाहा भएको बिषय हो । अति भएपछि अब छोराले अन्तिममा आफैलाई मा’र्ने त्रासमा बुवाले छोरालाई मा’रेको घट्ना देखिन्छ । हाम्रो समाजले नेपाल प्रहरीलाई जिम्मा लगाए पछि सबै तमाम काम सकिएको देख्छ । यो घट्नालाई समाजशस्त्रिय र मानवशस्त्रिय दृष्टिकोणबाट हेर्नपर्ने र बुझ्नेपर्ने आवश्यकता हो । समाजमा भएका कैयौ आ’त्मह’त्याहरुलाई पनि सोही कोणबाट हेरिनुपर्नेमा नेपाल प्रहरीलाई जिम्मा लगाईएिर समाज पुरै पन्छिएको देखिन्छ ।
समाज पुरै गैरजिम्मेवार र एकांकी भएको पाईन्छ । समाजमा जान्ने बुझ्ने र बिश्लेषण गर्ने मानिसहरुको अभावमा समाज एक्लो भएको देखिन्छ । यसरी नै हामी अगाडि बढ्दै जाने हो भने आगामी धेरै बर्षसम्म पनि । हामी प्रत्येकलाई यस्ता घट्नाले छुनेछ तर एक्लै सामना गरिरहनु पर्नेछ । त्यो बेला बोलिदिने कोही हुने छैन । समाज एक प्रकारले मृ’त अवस्थामा हुनेछ । समाज ज्यादै कमजोर हुनेछ ।
राजनीतिक दलहरुको जिम्मेवारी के ?
पछिल्लो समयमा राजनीति गर्ने नेतृत्व जुनसुकै दलको होस उनीहरु केवल आफना निम्ति मात्रै खटिरहेका छन । उनीहरु समाजका लागि आफुले योगदान गर्नुपर्ने बिषय नै बिर्सिसकेका छन । समाजलाई न्याय गर्नुपर्नेमा कोही दलका नेता पनि तयार छैनन । उनीहरु केवल सेलिब्रेटी बन्न तथा ऐस आरामका लागि र आफनो लागि मात्रै राजनीति गरिरहेका छन । यो आरोप होईन वास्तविकता हो भन्ने बिषय सबैलाई छर्लाङगै छ । सामाजिक परिवर्तन र रुपान्तरण नै राजनीतिको मुलमर्म र धर्म हो तर उत्तरपानीमा जुन रुपमा कल्पना गर्न सकिने खालको घट्ना घट्यो यसलाई त्यहाँका राजनीतिक दलका स्थानीय नेताहरुलाई थाहा नभएको बिषय थिएन । तर यसलाई स्थानीय नेताहरुले पुर्ण रुपमा बेवस्ता गरेको देखिन्छ । जिम्मेवारी पुर्ण तरिकाको राजनीति गर्ने स्थानीय नेताहरु भईदिएको भए संभावत त्यो घट्न घट्ने थिएन ।
समाज के का लागि ?
आदिमकालमा मानिसहरु एउटा महिलाको नेतृत्वमा सम्हालिएर आएका थिए । त्यस बेलाको समाजमा सिंगो मानव समाज एउटी महिलाको नियन्त्रण थियो । जब मानिसहरु आधुनिक युगमा प्रवेश गरे त्यसपछि बिस्तारै बिवाह गरेर बस्ने तथा ब्यवस्थित भएर परिवारमा बस्ने चलनको शुरुवात भयो । जब परिवारको कल्पना भयो यसपछि समाज निर्माणको अभ्यास पनि भयो । समाजको परिकल्पना र आवश्यकता त्यो बेला भयो कि परिवारलाई समस्या परेको बेला सहयता चाहिने भयो । जब कुनै एउटा ब्यक्ति वा परिवारलाई आपत आईलाग्छ सिंगो समाजका अग्रजहरु मिलेर त्यसलाई समाधान गर्ने भन्ने हुन्छ । यसप्रकारका गम्भिर समस्याहरुमा समाजले हस्तक्षेप गनुपर्ने देखिन्छ । कुलतमा फसेका वा फसिसकेकाहरुको धेरैको उपचार पनि भएको देखिन्छ । त्यसैले उत्तरपानी काण्डमा समाज दोषी रहेको देखिन्छ । त्यसमा समाजले पहल गरिनुपर्ने थियो ।
समाजले बेलैमा यस प्रकारका घट्नाहरुको निराकरण गर्न नसक्ने हो भने यसबाट अन्य परिवारमा समेत पिडा थपिने निश्चित रहेको देखिन्छ । समाजमा आ आफ्नै ब्यस्तता र समस्याहरुको बावजुद पनि उत्तरपानीमा भएको घट्ना हुन नदिनका लागि समाजले केही पहल अवस्य गर्नुपर्ने थियो । मुख्यतः समाजमा रहेको बुद्धिजीविहरुले यसलाई आफ्नै समस्याको रुपमा बुझेर समेत कार्य गर्नुपर्ने देखिन्छ र यस प्रकारको झमेलाले समाजलाई अग्रगामी रुपमा अघि बढ्न दिदैन । यसैले समाजले पारिवारिक समस्याहरुमा समेत न्यायोचित समाधान खोज्न जरुरी देखिन्छ ।
के पारिवारिक समस्या नितान्त एक्लो हो त ?
परिवार परिवार मिलेर नै समाज बनेको हुन्छ । ब्यक्तिको समस्या परिवारको समस्या हो भने परिवारको समस्या समाजको समस्या हो । कुनै परिवारमा भएको समस्यालाई मेरो होईन भन्न पाईन्दैन । समाजशास्त्रिहरुले भन्ने गरेका छन । मानिसहरुमा भएको हर समस्यालाई परिवारको सदस्यहरु माझ शेयर गरिनुपर्दछ । यसबाट परिवारमा घट््न सक्ने दुर्घटनालाई धेरै कम गराउन सकिन्छ तर कतिपय समस्याहरु परिवारका सदस्यहरुबाट मात्रै समाधान हुन सक्ने देखिन्दैन । त्यसप्रकारका समस्याहरु आफ्ना नजिकका छिमेकीहरुलाई शेयर गरिनु पर्दछ । तर समाजमा कतिपयले यो आफ्नो समस्या अरुलाई शेयर गरिरहदाँ आफ्नो ईज्जत जाने र आफनो बेईजत हुने डरका कारणले गर्दा शेयर नगरिकन राखेको देखिन्छ । यसबाट कतिपय गम्भिर घट्नाहरु भएको देखिन्छ ।
एउटै समाजमा रहिरहदाँ हामीले कहिले काँही अर्काको बारेमा अनावश्यक चासो लिएको जस्तो देखिन्छ । तर समाजमा कैयौ बर्ष देखिको सामान्य देखिने समस्यालाई निराकरण गरिनु आवश्यक रहेको देखिन्छ । जस्तै उत्तरपानी घट्ना सामान्य रुपमा कैयौ बर्ष देखि चलेको बावुछोरा बीचको द्धन्द्धाले निम्तिएको घट्ना थियो । तर यो घट्ना सुन्नेलाई मात्रै जति भयानक छ । त्यति नै भोग्नेलाई आनन्दजनक पनि रहेको छ भन्न सकिन्छ किनकी कैयौ बर्ष देखिको किचकिचले दिक्का भईसकेको बुवालाई सायद आनन्द महसुस भएको होला तर यो घट्नाले मृ’तकका आमा, श्रीमति, छोरा, र २ चेलीबेटीको खुसी भने खोसिएको छ । यसलाई बेलैमा समाजले सामान्यीकरण गर्न सक्ने थियो । यस घट्नाका लागि समाज दोषी रहेको छ । समाजलाई यस प्रकारका अन्य घट्ना हुन नदिनका लागि सहज हुन जरुरी रहेको छ । नभए समाज के का लागि हो ?
(लेखक राई धनकुटा खबरमा नियमित रुपमा स्तम्भ लेख्ने स्तम्भकार हुन ।- सम्पादक)


