पाँचथरमा घटे मतदाता

पाँचथर, २५ असोज । पाँचथरमा मतदाता घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार दुई सय २४ मतदाता थिए । तर आगामी निर्वाचनका लागि जिल्लामा कुल एक लाख ३८ हजार नौ सय ३२ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी कुमारप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनभन्दा एक हजार दुई सय ९२ मतदाता घटेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता अद्यावधिक गर्ने क्रममा मतदाताको सङ्ख्या घटेको पाइएको हो । मृत्यु भएका मतदाताको नाम हटाउने, दोहोरो परेका नाम हटाउने, बसाइँ सरी जाँदा मतदाता नामावली सार्नेजस्ता कारणले मतदाताको सङ्ख्या घटेको कार्यालय प्रमुख भट्टराईको भनाइ छ । यहाँबाट तराईतर्फ बसाइँसराइको क्रम अत्यधिक रहेकाले मतदाता र जनसङ्ख्या घट्ने गरेको छ ।

यस्तै मतदाता सङ्ख्या जनसङ्ख्याको लैङ्गिक अनुपातसँग मिल्दोजुल्दो हुनुपर्ने भए पनि जिल्लामा भने फरक रहेको पाइएको छ । कार्यालय प्रमुख भट्टराईका अनुसार पाँचथरमा अहिले कायम भएका मतदातामध्ये पुरुष ७३ हजार तीन सय ६६ र महिला ६५ हजार पाँच सय ६६ रहेका छन् । जबकि पाँचथरको विसं २०७८ को जनसङ्ख्याअनुसार पुरुषभन्दा महिलाको सङ्ख्या तीन सयभन्दा बढी छ । सो जनगणनाको तथ्याङ्कानुसार जिल्लाको कुल जनसङ्ख्या एक लाख ७४ हजार चार सय १९ छ । जसमध्ये पुरुष ८७ हजार ३३ र महिला ८७ हजार तीन सय ८६ छन् ।

जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदातामा महिलाको सङ्ख्या कम देखिएको हो । अहिले कामय भएको मतदाता सङ्ख्यामा पुरुषभन्दा महिलाको सङ्ख्या सात हजार आठ सय कम छ । “महिला मतदाताको सङ्ख्या कम हुनुमा राज्यको पहुँच नपुग्नु, यहाँको मानिस भए पनि अन्यत्रै बसोबास गर्नु, मतदान वा निर्वाचन प्रक्रियाबारे अनविज्ञ वा अनिच्छुक हुनुजस्ता कारण हुन सक्छन्”, भट्टराईले भन्नुभयो । घरदैलो अभियानमार्फत मतदाता पहिचान आवश्यक देखिएको उहाँले बताउनुभयो ।

यस्तै आगामी निर्वाचनका लागि पाँचथरमा एक मतदान केन्द्र र मतदानस्थल थप भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रहेको सार्वजनिक माध्यमिक विद्यालय मतदान केन्द्रलाई फुटाइ सोही वडाको सरस्वती आधारभूत विद्यालय कम्फ्युटारमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभयो । अब पाँचथरमा एक सय दुई मतदान केन्द्र र एक सय ७७ मतदानस्थल कायम भएका छन् । आठवटा स्थानीय तह रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्यको एकमात्रै निर्वाचन क्षेत्र रहेको छ । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।