साना किसानले बुझ्नै पर्ने कृषि बजारका कुरा
जीवनप्रसाद राई । नेपालमा योजनाबद्ध बिकास २०१३ बाट शुरु भएपछि नेपाली कृषिको आधुनिक ईतिहास शुरु भएको देखिन्छ । टंकप्रसाद आचार्यको प्रधानमन्त्रित्वमा कृषिको योजनाबद्ध बिकासको शुरुवात भएको देखिन्छ । यस हिसाबले अहिले पन्ध्रै पंचबर्षिय योजनाको उत्तरार्धमा हामी आईसकेका छौ । यस अनुसार आधुनिक कृषिको नेपाली ईतिहास ६६ बर्ष पुरा भएको छ । तर यतिका बर्षमा हामीले कृषिका साना किसानहरुलाई कृषिको बजार, कृषिमा ग्राहक मनोबिज्ञानको बारेमा सिकाउन असफल छौ । यसै बिषयमा साना किसानले नेपाली कृषिको बजारका बारेमा के के कुरामा ध्यान दिनुपर्दछ भन्ने बिषयमा यहाँ छलफल गर्ने कोशिस गरिएको छ ।

सर्बप्रथम साना किसानले आफुले उत्पादन गरिरहेको कृषि उत्पादन बजारका लागि हो भन्ने बिषयमा राम्रो संगले ध्यान दिनुपर्दछ । अरुका लागि उत्पादन गरिएको बस्तु ज्यादै राम्रो हुनुपर्दछ भन्ने बिषयमा साना किसानले सोच्न सक्यो भने धेरै बिषयमा बहस गरिरहनु पर्दैन । यस हिसाबमा साना किसानको मस्तिष्कलाई सफाई गरिदिने जादुको छडीको बिकास गर्न त सकिन्दैन । तैपनि आजको सन्दर्भमा के चाहि आवश्यकता छ भने साना किसानले उत्पादन गरेको कृषि बस्तुहरु बजारमा बस्ने असल मानिसहरुका लागि हो र यो ज्यादै गुणस्तरीय हुनुपर्दछ भन्ने बिषयको बारेमा बुझाउन सक्नुपर्दछ ।
यो बिषयको बारेमा साना किसानले बुझ्नु जति जरुरी छ त्यो भन्दा बढी एनजिओ कर्मी र पत्रकारहरुले बुझ्नु आवश्यकता देखिन्छ । किनकी आज सम्म तिनै एनजिओकर्मी तथा पत्रकारले नै साना किसानको बारेमा ज्यादै ठुलो बहस गरिरहेको हामीले देखेका छौ । यसैले यहाँ कृषिको बजार सम्बन्धमा साना किसानले बुझ्नै पर्ने बिषयमा मुख्यतः तीन बिषयमा छलफल गरिनेछ । पहिलो ग्राहकले के चाहन्छ, साना किसानले के चाहन्छ र यी दुई बीचको खाडललाई कसरी पुर्ने ? भन्ने बिषय उपर आजको छलफल हो ।
(क) कृषिबस्तु किन्ने ग्राहक के चाहन्छ ?
आज धेरैजसो नेपालीहरु शहर बजारमा आएर बसिरहेका छन । शहरमा जमिनको उपलब्धता नभएको कारणले गाँउमा उत्पादन हुने कृषिबस्तुहरु जस्तै माछा, मासु, दाल, तेल, चामल, फलफुल, दुध, चिया, तरकारी लगायतका बस्तुहरु किनेर खानुपर्दछ । यो ग्रामीण स्तरमा बसोबास गर्ने जमिन हुने साना किसानहरुका लागि राम्रो अवसर हो । त्यो अवसरलाई उपयोग गर्नका लागि सर्बप्रथम त ग्रामीणस्तरमा बसोबास गर्ने साना किसानले ध्यान दिनै पर्ने बिषयहरु हुन शहरबजारमा बस्ने ग्राहकका लागि उत्पादन केन्द्रित गर्ने । तर यहाँ त के भएको छ भने शहर बजारमा बस्ने मानिसहरु सबै शोषक हुन र खराब हुन उनीहरुका लागि जस्तोसुकै उत्पादन गरे पनि फरक पर्दैन भन्ने मनोबिज्ञानले कताकता साना किसानलाई निर्देशित गरेको जस्तो देखिन्छ । यो नै आजको सन्दर्भमा निकै अफ्ठयारो बिषय बनेको छ ।

ग्राहक जो कृषि बस्तुको खपत गर्दछ उसले के चाहन्छ भने राम्रो तथा गुणस्तर बस्तुको माग गर्दछ । अत: ग्राहकले माग गर्ने कृषि बस्तु कस्तो हुनुपर्दछ ?
१) कृषि उत्पादन एकदमै सफा हुनुपर्दछ ।
२) कृषि बस्तु एकदमै ताजा अनि खाउखाउ लाग्ने हुनुपर्दछ ।
३) सकेसम्म आफ्नो घरमै वा घर छेउमै किन्न पाईयोस ।
४) राम्रो कृषिबस्तु सकेसम्म सस्तोमा किन्न पाईयोस ।
५) सकेसम्म उल्टाई पल्टाई दशथरी बचन लगाउदै छानेर किन्न पाईयोस ।
६) स्वास्थको दृष्टिकोणले कृषि उत्पादन राम्रो तथा गुणस्तरीय होस ।
७) ग्राहकले बाह्रै महिना एकै बस्तु आफुलाई चाहेको बेला किन्न पाईयोस ।
यी बिषय जम्मा ७ वटामा हामीले साना किसानलाई पढाउन सकियो भने नेपाली कृषिको अवस्थामा धेरै सुधार गर्न सकिने छ ।
(ख) कृषि बस्तु उत्पादन गर्ने साना किसान के चाहन्छ ?
नेपालमा साना किसानका लागि धेरै परियोजनाहरु संचालन भए । नेपाल सरकारले समेत बिगत ६६ बर्ष देखि ति साना किसानका लागि भनेरै ७७ वटै जिल्लामा कृषिका बिभिन्न खालका कार्यालयहरु खोलेर बसेको छ । तर हामीले साना किसानका समस्यालाई सम्बोधन गर्न सकिरहेका छैनौ । कहिल्यै नटुंगिने खालको बहसमा प्रवेश गरेका छौ । निश्चय नै साना किसानहरुको समस्याहरु जटिल खालका छन तर त्यो बिभिन्न खालका समस्याहरु बीच हेर्ने हो भने त्यति ठुलो समस्या पनि होईनन । उनीहरुले उत्पादन गरिरहेको कृषि बस्तुहरुको बजारै नभएको होईन ।
जस्तै नेपालमा खसी बोकाको बजार अथाह छ तर किन उत्पादन हुन सकेको छैन ? यस्तै फलफुलको ठुलो बजार छ तर उत्पादन खोई ? यस्तै खालका समस्यामा हामी फसेका छौ । यसैले कृषि बस्तु उत्पादन गर्ने साना किसानले के चाहन्छ भन्ने बिषयमा हामीले छलफल गर्न आवश्यक हुन्छ । कहाँनेर हामीले समस्यालाई सम्बोधन गर्न सकेका छैनौ ? यहाँ साना किसानले के चाहन्छ भन्ने बिषयमा छलफल गरौ ।
१) कृषि बस्तु माटो, फोहोर जस्तो सुकै होस तर बिकोस ।
२) कृषि बस्तु सडेगलेको, ओईलिएको भए पनि किनिदिने होस ।
३) सकेसम्म आफ्नो घरबाटै सबै किनेर लगिदिने होस बोकेर लान नपरोस ।
४) आफुले उत्पादन गरेको कृषि बस्तु जस्तो सुकै होस मंहगोमा बिक्री होस ।
५) आफ्नो कृषि बस्तुलाई कसैले खोट नलगाई भटाभट किनिदिने होस ।
६) अरुले खाने न हो जस्तो सुकै होस स्वास्थको दृष्टिलाई ध्यान किन दिने ।
७) सिजनमा एकैपटक सबैले उत्पादन गर्ने त्यो सबै बिकोस ।
यी माथिका ग्राहकले चाहने र साना किसानले चाहने बीच धेरै अन्तर रहेको छ । यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषय निकै महत्वपुर्ण रहेको छ ।

(ग) यी दुई बीचको खाडल कसरी पुर्न सकिन्छ ?
ग्राहकका लागि उत्पादकहरु एकदमै आवश्यक पर्ने हुन्छ भने उत्पादकका लागि समेत ग्राहकहरु एकदमै आवश्यक पर्ने हुन्छ । यसैले ग्राहक उत्पादक भनेको नङ र मासु जतिको अन्तरसम्बन्ध जोडिएको हुन्छ । यिनै बिषयमा हामी संग ज्ञान नहुदा नै भारतीय तरकारीहरु हामीले उपभोग गरिरहनु परिरहेको छ । ग्राहकले सस्तो त खाना पाए तर त्यो तरकारीमा कति मात्रामा बिषादी छ भन्ने बिषयमा भने हामीलाई जानकारी हुदैन । यसैले साना किसानका लागि कार्य गर्ने जो सुकै होस उनीहरुले अबको कार्यक्रम भित्र समावेश गरिनुपर्ने बिषयहरु भनेको साना किसानले ग्राहकका लागि ध्यान दिएर उत्पादनलाई केन्द्रित गर्ने नै हो । यसका लागि यी माथिका बिषयहरुमा गम्भिरता पुर्वक अध्ययन मनन गरिनुपर्दछ ।
ग्राहकको चाहना र उत्पादकको चाहना बीच आकाश र जमिन जतिकै फरक देखिन्छ । यसलाई परिवर्तन गर्नका लागि ग्राहकलाई सम्झाउन सकिन्दैन तर ग्राहकको ईच्छा र चाहना बमोजिम उत्पादनलाई जोड गर्न सकिन्छ । यसैले ग्राहक केन्द्रित उत्पादनमा जोड गर्नका लागि आजको आवश्यकता हो । यो बिषय साना किसानलाई बुझाउन जरुरी रहेको छ । उनीहरुको अन्तरहृदय देखि नै यो बिषय आउनुपर्दछ ।


