धनकुटामा एमाले उमेद्वारलाई पर्यटन,शिक्षा,सडक तथा सुरक्षाको माग
नारायण कुमार राई/धनकुटा,४ कार्तिक । चौबिसे गाउँपालिका वडा नं. २ का नागरिकहरुले धार्मिक पर्यटन,प्राबिधिक बिद्यालय,सडक कालोपत्रे र खानेपानी योजनाको माग गरेका छन् ।चुनावी अभियानका क्रममा पालिकाको वडा नं. २ टोक्रोम्बा शुक्रबारे बजारमा भएको कार्यक्रममा नेकपा एमालेका उमेद्वारहरुलाई स्थानियबासीहरुले यस्तो मागहरु राखेका हुन् ।
प्रतिनीधि सभाका उमेद्वार राजेन्द्रकुमार राई र प्रदेश ‘क’ का उमेद्वार निरन राई सहितको टोलीलाई वडाबासीहरुले वडा नं.१ र २ मा भएको ल्वाहाकिल डाँडालाई धार्मिक पर्यटन स्थलको रुपमा बिकास गर्न माग राखेका छन् ।यो थुम्की(डाँडा) प्राचिन चौबिसे राज्य र मिक्लुक राज्यको सिमाना हो । यस डाँडामा लडाईंको किल्ला बनाएर लिम्बूहरुका पुर्खाहरुले नागाहरुलाई हराएको किंवदन्ति रहिआएको छ । १५ सय फुट उचाइमा रहेको यो डाँडाबाट मौसम खुलेको बेला दाजिलिङ्गको टाईगरहिल क्षेत्र लगाएत प्रदेश नं.१ का बिभिन्न जिल्लाका स्थानहरु देख्न सकिन्छ ।
यस ऐतिहासिक स्थानलाई डिपिआर गरी बिभिन्न जाति र धर्मालम्बिहरुको पहिचानमा आधारित धार्मिक पर्यटन स्थलको रुपमा बिकास गर्न वडाबासीहरुले माग गरेका छन् ।त्यस्तै शुक्रबारे बजारमा रहेको संयुक्त मा.बि.मा शिक्षक दरबन्दि आपूर्ति गर्न र यस बिद्यालयलाई कृषि तथा प्राबिधिक बिद्यालयका बनाउन पहल गरिदिन पनि माग गरिएको छ ।
त्यस्तै पालिकाको प्रमुख ३ सडक मध्ये शुक्रबारे बजार भएर तमोर करिडोर सम्म जाने लाप्से–कुरुले–फलामेटार सडक कालोपत्रेको माग गरेका छन् ।
कुरुले क्षेत्रको बसाई सराईमा कम गर्न बिशेष भूमिका खेलेको यो सडक धनकुटा बजार आउने प्रमुख सडक पनि हो ।त्यस्तै मुढेबास,लाप्से लगाएतका स्थानमा भएको कार्यक्रममा वडाबासीहरुले खानेपानी,ढल निकास,प्रहरी चौकी र लाप्से–केराबारी हुँदै वडा नं. ८ जाने सडक पुरा गर्न माग गरेका छन् ।
वडा नं. २ सहित आज वडा नं. १ को बुधबारे बजार ,फेदापजुङ्ग,शौरे लगाएतका नागरिकहरु संग अभियान टोलीले भेटघाट गरेको सञ्चारकर्मी बिश्वजीत देउजाले जानकारी दिनुभयो ।
घरदैलो अभियानमा माननियद्वय सहित नेकपा एमले केन्द्रिय सदस्य बिनादेवी राई,प्रदेश उपाध्यक्ष तथा संबिधान सभा सदस्य टिकाराम चेम्जोङ्ग,प्रदेश सदस्य यज्ञकुमारी रुचाल, खजिन्द्र राई निर्वाचन परिचालन कमिटी चौबिसेका संयोजक खजिन्द्र राईको सहभागिता रहेको थियो । त्यस्तै जिल्ला उपसचिव तथा प्रदेश ‘ख’का समानुपातिक उमेद्वार शिव आङ्ला(लिम्बू),आङ्ला ,जिल्ला पाटी कार्यालय सचिव नैन बिश्वकर्मा लगाएत चौबिसे क्षेत्रका नेता तथा कार्यकर्ताहरुको अभियानमा सहभागिता रहेको थियो ।
भोली चौबिसे क्षेत्रको अभियान सकिए पछि सहिदभूमी गाउँपालिकामा अभियान सञ्चालन गरिने नेकपा एमाले धनकुटा प्रचार बिभागले जानकारी दिएको छ ।
टोलीले असोज २८ गते देखि साँगुरीगढी गाउँपालिकाबाट धनकुटाको क्षेत्र नं.‘क’ का नागरिकहरु संग भेटघाट गर्ने अभियन शुरु गरेको थियो ।






