संघिय चुनाव र धनकुटेली प्रतिनिधि छनौट
जीवनप्रसाद राई । संघिय नेपालको संबिधान २०७२ जारी भएपछि संसदको पुर्ण कार्यकाल समाप्त भई आगामी मंशिर ४ गते दोस्रो आम निर्वाचन हुदैछ । महाभुकम्प २०७२ तथा बिश्वब्यापी रुपमा फैलिएको महामारी कोभिड १९ ले सिर्जना गरेको २ बर्षको लकडाउन पश्चात सम्पन्न हुन गईरहेको यो निर्वाचनले आर्थिक संकटलाई कसरी सम्बोधन गर्नेछ त्यसैमा यो निर्वाचन सफल र असफल मानिनेछ । चुनाव आफैमा प्रजातन्त्र र लोकतन्त्रका लागि लाईफलाईन हो । धनकुटेली जनता यो निर्वाचनमा सहभागी हुन आतुर छन । धनकुटा जिल्लामा जम्मा १ लाख १६ हजार ९ सय ९१ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यसमा महिला मतदाता ५८ हजार, ४ सय ४५ र पुरुष मतदाता ५८ हजार ५ सय ४६ जना रहेको देखाउँछ । संघमा जम्मा एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा ४ जना प्रतिस्पर्धीहरु रहेका छन ।
४ जनाकै संभावना उतिकै बलियो रहेको देखिन्छ । नेकपा एमालेको तर्फबाट निवर्तमान सांसद राजेन्द्र कुमार राई, गठबन्धनका तर्फबाट पुर्व मन्त्री सुनिल बहादुर थापा, संबिधानसभा सदस्य समेत रहेका स्वतन्त्र उमेदवार हेमराज भण्डारी र राप्रपाबाट कुमार बहादुर थापा चुनावी मैदानमा रहेका छन । सुनिल बहादुर थापा पुर्व प्रधानमन्त्री स्व. सुर्य बहादुर थापाका छोरा तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत हुन भने हेमराज भण्डारी नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यबाट अचानक राजिनामा दिई स्वतन्त्र उमेदवार बनेका ब्यक्ति हुन । राप्रपा लिङदेन पक्षधार कुमार बहादुर थापा पनि उतिकै कडा प्रतिस्पर्धी हुन । धनकुटामा आगामी चुनाव ४ जनाकै लागि गर र मर को स्थितिमा रहेको देखिन्छ । सबैको उत्तिकै संभावना रहेको देखिन्छ । यहाँ चारै जना उमेदवारहरुको जित्नका लागि बलियो पक्षहरु के कस्ता छन भन्ने प्रस्तुत गरिएको छ ।
१) राजेन्द्र कुमार राई

बिगत लामो समय देखि निरन्तर कम्युनिष्ट आन्दोलनमा होमिनु भएका तथा संगठन निर्माणमा राम्रो दखल हासिल गरिसक्नु भएका उहाँको सबैभन्दा जित्नका लागि बलियो पक्ष भनेकै धनकुटा जिल्लाभरी रहेको एमालेको संगठन हो । राजनीतिक रुपमा बलियो संगठन नै एमालेको रहेको छ । यदि यो संगठनले सशक्त रुपमा काम गरेको अवस्था र कसैले धोका नदिएको अवस्थामा उहाँको जित्ने संभावना राम्रो रहेको देखिन्छ ।
बिगतमा नेकपाको लामो समयसम्म सरकार रहेता पनि सहायक मन्त्री समेत हुन नसक्नुले उहाँ प्रति धनकुटेली जनताले भरोसा गरेता पनि केन्द्रमा बलियो उपस्थिति नहुनुले केही खिन्नता देखिन्छ । तर समय सधै एकनाशको हुदैन । यसपाली श्री राजेन्द्र कुमार राईले चुनाव जितेको अवस्था र केन्द्रमा नेकपा एमालेको सरकार बनेको अवस्थामा उनी पनि मन्त्री बन्न सक्ने संभावना रहेकोले राजेन्द्र कुमार राईले बाजी मार्न सक्ने संभावना रहेको बिश्लेषण गर्न थालिएको छ ।
यो मात्रै होईन राईको अर्को बलियो पाटो भनेको धनकुटा जिल्लाको कुना कुनामा पुगेर जनताहरु संग प्रत्यक्ष रुपमा सम्पर्क स्थापित गर्न सक्नु उहाँको बलियो पक्षको रुपमा ब्याख्या गर्न सकिन्छ । जनतासंग सिधा सम्पर्कमा रहेको उमेदवारको रुपमा उहाँलाई चित्रण गर्न सकिन्छ । अहिलेको सन्दर्भमा चुनाव जित्ने सबैभन्दा ठुलो हतियार नै प्रत्येक जनहरुको मन जित्नु हो । यसैले यो पाटोमा राईको पकड राम्रो रहेको छ । निवर्तमान सांसद हुनुको फाईदा पनि उहाँलाई छ ।
उहाँको कमजोरीको रुपमा ब्यक्तिगत आचरणलाई लिईएको छ । यो उहाँको निजि मामिला भएपनि सार्वजनिक पदधारण गरेका ब्यक्तिका लागि र नेपाल जस्तो पिछाडिएको मुलुकका लागि निकै अस्वाभाविक मानिन्छ । यसका साथै उहाँले कर्मचारी बर्गमा सम्बन्ध स्थापित गर्न नसक्नु र केन्द्रमा पहँुच स्थापना गर्न नसकेको जस्ता आरोपहरु लाग्दै आईरहेको छ ।
२) सुनिल बहादुर थापा

धनकुटा जिल्ला राप्रपाबाट प्रतिनिधित्व गरि दुईपटक मन्त्री समेत बनिसकेका सुनिल बहादुर थापाको सबैभन्दा बलियो पक्ष भनेको ५ पटक प्रधानमन्त्री बनेका स्व.श्री सुर्य बहादुर थापाको ब्रान्ड हो । उनी निर्वाचित भएको अवस्था र नेपाली कांग्रेसको केन्द्रमा सरकार बनेको अवस्थामा शक्तिशाली मन्त्री पाउने संभावना रहेकोले नै उहाँलाई धेरै धनकुटेली जनताले भोट गर्नेछन । बिगतमा धनकुटाले धेरै कुराहरु गुमाईरहेको अवस्थामा एकजना केन्द्रमा राम्रो पकड राख्न सक्ने ब्यक्तिको महसुस धनकुटामा भएको कारणले समेत थापाले यसलाई नगदमा परिवर्तन गर्न सक्ने संभावना रहेको बिश्लेषण गर्न थालिएको छ ।
सानो संख्यामा राप्रपामा हुदाँ समेत एकपटक चुनाव जितेका उहाँलाई अर्को बलियो पाटो भनेको सिंगो नेपाली कांग्रेस र गठबन्धनको साथ रहनु हो । यदि गठबन्धनले इमान्दार पुर्वक भोट गरेको अवस्था र नेपाली कांग्रेसमा समेत ईमान्दार पुर्वक गुटगत रुपमा बिभाजित नभए यसपटक थापाले जित्न सक्ने संभावना निकै राम्रो रहेको देखिन्छ । उहाँको चुनाव जित्ने सबैभन्दा ठुलो हतियार नै केन्द्रमा बलियो पकड रहनु र जितेमा शक्तिशाली मन्त्री बन्न सक्ने हैसियतका कारणले बाजी मार्न सक्ने संभावना रहेको देखाँउछ । केन्द्रमा पहुँच राख्नु र अन्तराष्ट्रिय क्षेत्रमा समेत पकड राख्न सक्ने हैसियतका कारणले गर्दा उहाँको आवश्यकताको बारेमा धनकुटामा छलफल हुने गरेको छ । गत स्थानीय तहमा झरेको मतको आधारमा समेत उहाँले जित्न सक्ने संभावना निकै बलियो रहेको देखिन्छ ।
उहाँको कमजोरी काठमाण्डौमा रहेर चुनावका बेला मात्रै धनकुटा आउने र टुरिष्ट उमेदवारको आरोप खेपिरहनु भएको छ । अर्को कमजोरी हो नेपाली कांग्रेसमा प्रवेश गर्नुभए पनि धनकुटा कांग्रेसलाई बुझ्न नसक्नु । परम्परागत रुपमै चुनावका बेला भोट माग्ने तर धनकुटाका लागि दीर्घकालीन रुपमा कार्य गरिरहेका सिर्जनशील पात्रहरु चिन्न नसक्नु । धनकुटाका जनता संग सापिप्यता गाँस्न नसक्नु र समग्रमा धनकुटाको समस्याको बारेमा बुझ्न नसक्नु उहाँको कमजोरीको रुपमा बिश्लेषण गरिएको छ ।
३) हेमराज भण्डारी

नेकपा माओवादी केन्द्रमा लामो समय योगदान गरेका हेमराज भण्डारी अचानक चुनावी मुखमा आएर माओवादी केन्द्रबाट राजीनामा दिई धेरै संख्यामा आफ्ना सहयात्रीहरु लिएर स्वतन्त्र चुनावी मैदान रहेका छन । उहाँको चुनाव जित्ने बलियो आधार भनेकै हाल पछिल्लो समयमा राजनीतिक दलहरुको गतिबिधि प्रति जनताहरु अत्यन्तै निराश बन्नु हो । लामो समय पार्टीमा ईमान्दार पुर्वक योगदान गरेकाहरु सबै लाखापाखा पारिसके अनि जो अनियमित तरिकाले चलखेल गर्न सक्छ त्यसतै खालका पात्रहरु मात्रै राजनीतिक दलहरुमा स्थापित हुदै गएकोले नै अहिले स्वतन्त्र उमेदवारहरुको जित्ने संभावना बढी रहेको देखिन्छ । नेकपा एमालेका असन्तुष्ट र कांग्रेसका असन्तुष्ट र अन्य पार्टीहरुबाट समेत असन्तुष्ट भएका ब्यक्तिहरुले भण्डारीलाई भोट हाल्ने संभावना बलियो देखिन्छ ।
यसैगरि धनकुटाको सन्दर्भमा भण्डारीले साना भन्दा साना समस्याहरुलाई सम्बोधन गर्न सक्ने नेताको रुपमा चित्रण गरिन्छ । खासमा धनकुटा जिल्लाले काँचुली फेर्नका लागि चाहिने नेता नै उहाँ जस्तै हो भनेर धनकुटाका युवाहरुले भन्न थालेका छन यो उहाँको जित्ने बलियो आधार हो । यसका साथै धनकुटेली जनताको योजनालाई केन्द्रमा समेत लगेर पारित गर्न सक्ने खुबी समेत उहाँमा देखिन्छ । यता जनसरोकारको बिषय र उता केन्द्रमा राम्रो पहुँच राख्न सक्ने हैसियतका कारणले गर्दा आम धनकुटेली जनताले उहाँलाई जिताउन सक्ने आंकलन गरिएको छ । तार्किक क्षमताका धनी, मध्यम बर्गको प्रतिनिधित्व गर्ने उहाँलाई हालसम्म भष्ट्राचार गर्न सक्ने ठाँउमा नपुगेको कारणले स्वच्छ छबिको नेताको रुपमा नै चिनिएकोले उहाँले यो चुनावमा बाजी मार्न सक्ने संभावना बलियो रहेको देखाउँछ ।
उहाँको पनि सुनिल बहादुर थापा जस्तै आफुलाई अनुकुल भएको अवस्थामा धनकुटा आउने र पारिवारिक बसाई काठमाण्डौ नै रहेकोले धनकुटालाई उपयोग गर्ने रणनीति मात्रै बनाएको आरोप लाग्ने गरेको छ । आफ्नै सहयोगीहरुलाई समेत न्याय गर्न नसकेको जस्ता आरोप भण्डारीका लागि निकै असहज बनाउने खालको रहेको छ ।
४) कुमार बहादुर थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङदेन पक्षबाट उमेदवार बनेका कुमार बहादुर थापा पनि उत्तिकै बलियो प्रतिस्पर्धी हुन । राजेन्द्र लिङदेनको व्रmेज नै कुमार बहादुर थापाका लागि जित्ने बलियो संभावना हो । जनताहरु स्वतन्त्र रहने हुनाले को कतिबेला कता भोटको बाढी ल्याईदिन्छन भन्न सकिन्दैन । धेरैको मत के छ भने लिङदेन राप्रपाले समानुपातिक भोट निकै ल्याउन सक्ने आंकलन गरिरहेको बेलामा प्रत्यक्षमा चिप्लाउन बेर लगाउदैनन भन्ने पनि हो । खासमा परिवर्तनकारी योजनाहरु उल्लेख्य नभए पनि राप्रपाले पुरानो संस्थालाई बोकेर हिडिरहेको कारणले समेत कुमार बहादुर थापाले बाजी मार्न सक्ने संभावना देखिन्छ ।
कुमार बहादुर थापाले स्व. सुर्य बहादुर थापाको उत्तराधिकारीको रुपमा समेत आफुलाई प्रस्तुत गरिरहेको र आफुले चुनाव जित्ने आधार त्यसलाई समेत बनाएको देखिन्छ । खासमा स्व. सुर्य बहादुर थापाको छोरा सुनिल बहादुर थापाले राप्रपा नेपाल परित्याग गरि नेपाली कांग्रेस प्रवेश गर्नुले राप्रपाका धेरैजसो कार्यकर्ताहरुलाई छाता ओडाउने कार्य कुमार बहादुर थापाले गरिरहेको हुनाले धनकुटामा दह्रो प्रतिस्पर्धा गर्दै जित्ने अभियानमा लागेको देखिन्छ ।
उहाँको कमजोरीको रुपमा मरिसकेको संस्थालाई बिउझाउने नारा बोक्नु हो । अब नेपाली जनता राजा चाहदैनन अब पछाडि फर्कने होईन अगाडि बढ्ने भन्ने रहेको छ । खासमा कुमार बहादुर थापाको धनकुटाको लागि र धनकुटेली जनताको चाहना बमोजिमका दृढता पुर्वक योजनाहरु पेश गर्न नसक्नु र धनकुटामा धेरै मतदाताले उहाँलाई चिन्न नसक्नु चाहि उहाँको कमजोरीको रुपमा लिन सकिन्छ ।
निष्कर्श
धनकुटामा चुनावमा जस्ले जिते पनि केन्द्रमा निकै ठुलो पापड बेल्नपर्ने देखिन्छ । धनकुटाका जनताको आकांक्षाहरु धेरै छन । एकातिर धनकुटामा बिगत लामो समय देखि केन्द्रमा पहँुच नभएको कारणले जे जति ठुला परियोजना देखि जनजिविकाका सवालहरुका बारेमा जोडले कुराहरु संसदमा उठ्न नसक्नुले धनकुटाबाट बसाई जानेहरुको संख्या अधिक रुपमा रहेको देखिन्छ । यसलाई रोक्नका लागि पनि गुणस्तरीय शिक्षा, सीपमुलक शिक्षा, गुणस्तरीय स्वास्थ सेवा, आवश्यक रोजगारीका बिषयहरु गहन रुपमा उठाउनुपर्ने देखिन्छ ।
सिप्रेड नेपालले २०४८–५० सालमा बेमौसमी तरकारी खेतीको परियोजना सफलतापुर्वक संचालन गरेपछि यसबाट धेरै मानिसहरुलाई घर घरमै रोजगारी सिर्जना भएको देखिन्छ । बेमौसमी तरकारी खेती परियोजनाले तेह्रथुम र धनकुटा जिल्लाका केही स्थानहरु जस्तै छथरजोरपाटी गाँउपालिका धनकुटा, महालक्ष्मी नगरपालिका धनकुटा, धनकुटा नगरपालिका धनकुटा र लालीगुराँस नगरपालिका तेह्रथुमका २० हजार परिवारमा प्रत्यक्ष रोजगारी सिर्जना गरिदिएको थियो । यसका साथै धनकुटा नगरपालिकाले २०७५ सालबाट संचालन गरेको एभोकाडो परियोजनाले १० हजार घर परिवारलाई प्रत्यक्ष रोजगारी दिएको देखिन्छ । यस्तै खालका धेरै परिवारलाई सम्बोधन गर्ने तथा दीर्घकालीन खालका परियोजनाहरु धनकुटामा आवश्यकता देखिन्छ ।
यसका साथै बहुबर्षिय तथा बहुआयामिक रुपमा राष्ट्रिय गौरबका आयोजनाहरु समेत धनकुटामा आवश्यक देखिन्छ । यिनै बिषयमा सदनमा, सडकमा, दातृ निकायमा र मंचहरुमा बिषय उठान गर्न सक्ने र त्यसका खातिर ब्यवहारमा खरो उत्रन सक्ने नेतालाई छान्न सक्नुपर्दछ । जोस, जाँगर, हिम्मत, उत्साह र परिवर्तनको चाहना राख्ने ब्यक्तिलाई छानौ । केही सिमित स्वार्थी समुहलाई भन्दा सबैको हितका खातिर कार्य गर्ने नेतृत्वलाई छान्ने कार्य चाहि आम धनकुटेली जनताको अधिकार हो । त्यो अधिकार प्रयोग गर्न मंशिर ४ गते बिहान ७ बज्न जम्मा ७२० घण्टा मात्रै बाँकी रहेको छ ।
(लेखक राजनीतिशास्त्री हुन, कृषि पर्यटन अभियानकर्ताका रुपमा काम गरिरहेका उनी राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिका बारेमा बिभिन्न लेख तथा पुस्तकहरु लेख्नुका साथै बिश्लेषण समेत गर्दछन ।- सम्पादक )


