प्रसूति सेवा हुनु त यस्तो पो !

नारायण अधिकारी/चितवन, १४ कात्तिक । आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन् । सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन् ।

बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ । प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ । प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ ।

अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन् । तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन् । सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरुपमा दुई तीन जना हुने गर्दछन् । उहाँको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ । उहाँले भन्नुभयो, “२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो ।” विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन् ।

निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उहाँले बताउनुभयो । निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ । उहाँले भन्नुभयो, “यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन ।” निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा रु एक हजार समेत दिईन्छ ।

अस्पतालको यो विभागमा एक सय ४७ शय्या छन् । यसका अतिरिक्त क्याबिन रहेका छन् । प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ (पर्खाइ), नौ शय्याको एक्टिभ (सक्रिय) र तीन शय्याको लेवर रुम रहेका छन् । यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन् । अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ । अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ । शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो । २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उहाँ बताउनुहुन्छ । भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उहाँले जानकारी दिनुभयो ।

डा सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ ।” कोभिड हुन वा अन्य रोगका गर्भवतीको प्रसूति यहाँ गर्ने गरिन्छ ।

अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो । अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ । बाल सघन उपचार कक्ष लेबल तीनमा (एनआइसियु) मा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष (एस एन सि यु) (लेवल टु) समेत सुरु गरिँदै छ । सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ ।

यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पु¥याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति (कङ्गारु मदर केयर) पाँच शय्याको सञ्चालनमा छ ।

बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दाे व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताउनुभयो । सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।