धनकुटामा असोज महिनाको उत्कृष्ट प्रहरी राई घोषित
धनकुटा । कारागार सुरक्षा गार्ड धनकुटामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार उपेन्द्र राई असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
सर्बोत्कृष्ट घोषित भएका राईले विभागीय नीति अनुरूप आदेश निर्देशनको पालना गरी व्यावसायिक लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबलका साथ कारागारका कैदी बन्दीहरूलाई उचित सुरक्षा प्रदान गरी दैनिक प्रहरी काम कारबाहीमा उत्कृष्टता ल्याउन भूमिका निर्वाह गरेका छन् ।
साथै आफूले सम्पादन गर्नु पर्ने काम कारबाही अनुशासित तवरले त्रुटि रहित ढङ्गबाट, छिटो छरितो एवं मातहत प्रहरी कर्मचारीहरू प्रतिको व्यवहार, काम प्रतिको लगनशीलता र नेतृत्व क्षमता प्रशंसनीय रही आम नागरिकहरूमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ उत्कृष्ट कार्य गरेकोले इलाका प्रहरी कार्यालय राजारानी, धनकुटा दरबन्दीका प्रहरी वरिष्ठ हवल्दार उपेन्द्र राईलाई निजले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङकन गर्दै २०७९ साल असोज “महिनाको उत्कृष्ट प्रहरी” (POLICE OF THE MONTH) घोषणा गरिएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीद्वारा हस्ताक्षरित प्रमाण पत्रमा उल्लेख गरिएको छ ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय धनकुटाले जिल्ला भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

यो पनि…
प्रवासीको आर्थिक सहयोगमा विद्यालय भवन
गलेश्वर, १५ कात्तिक (रासस) ःम्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीबाट वैदेशिक रोजगारका लागि विभिन्न मुलुक पुगेका प्रवासी नेपालीको सहयोगमा अत्याधुनिक प्रविधियुक्त विद्यालय भवन निर्माण गरिएको छ । प्रवासी नेपालीको रु तीन करोड भन्दा बढी आर्थिक सहयोगमा भकिम्लीमा विद्यालय भवन निर्माण गरिएको हो ।
स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा जयन्ती माविको २० कोठे पक्की भवन निर्माण भएको छ । रु तीन करोड ४५ लाखको लागतमा निर्माण भएको विद्यालय भवनका लागि वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीले रु तीन करोडभन्दा बढी आर्थिक सहयोग गरेको विद्यालयका पूर्व प्रधानाध्यापक रामबहादुर पुनले बताउनुभयो ।
पहिलेदेखि नै अत्यन्त जीर्ण अवस्थामा रहेको साविकको भकिम्ली गाविस जयन्ती माविको भवन विसं २०७२ को भूकम्पका कारण कामै नलाग्ने अवस्थामा पुगेपछि विदेशमा रहेका भकिम्लीवासी विद्यालय भवन निर्माणका लागि सहयोग अभियानमा जुटेका थिए । साविकको जिल्ला शिक्षा कार्यालयले भवन निर्माणका लागि रु ५० लाख सहयोग उपलब्ध गराउनु बाहेक अन्य कतैबाट सहयोग प्राप्त हुने नदेखेपछि विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले वैदेशिक रोजगारीमा गएका भकिम्लीवासीलाई सहयोगका लागि आब्हान गरेको थियो ।
“विद्यालय भवन निर्माणका लागि प्रवासमा रहेका भकिम्लेलीबाट मनग्गे सहयोग भएको छ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेनपा–३ का वडाध्यक्ष पदम पुनले भन्नुभयो,“दिनरात पसिना बगाएर विदेशमा श्रम गर्ने व्यक्तिबाट प्राप्त सहयोगले गाउँका बालबालिकाले सुविधासम्पन्न भवनमा अध्ययन गर्न पाउने भएका छन्, प्रवासी भकिम्लेलीप्रति हामी आभारी छौँ ।”
विद्यालयले अत्याधुनिक प्रविधिको मेसिन खरीद गरी गाउँमै भवन निर्माणका लागि इँट्टा बनाएर भवन निर्माण गरेको हो ।
अहिले रंगरोगन गरेपछि आधुनिक शैलीको सो विद्यालय भवन चिटिक्क देखिएको छ । गाउँमै अत्याधुनिक प्रविधि सहितका सुविधा सम्पन्न विद्यालय भवन बनेपछि यहाँ विद्यार्थीहरुको चाप पनि बढेको र उनीहरुको पढाइप्रति पनि रुचि बढेको अध्यक्ष पुनले बताउनुभयो ।


